व्यास पैदलबाटाे निर्माणमा दुई कम्पनीको प्रस्ताव

0
117

दार्चुला, चैत्र १७ गते ।
संघीय सरकारकाे सशर्त अनुदानमा व्यास गाउँपालिकाबाट निर्माण गरिने व्यास पैदलबाटाे निर्माणमा दुइटा कम्पनी प्रतिस्पर्धामा उत्रिएका छन् । संघीय सरकारबाट प्राप्त साढे ५ कराेड रूपैयाँ खर्चेर पैदलबाटाे निर्माण गर्न गाउँपालिकाले टेण्डर निकालेको थियाे ।
चैत्र १३ गतेसम्मको एक महिना लामाे सुचनाकाे समयावधिमा दुइटा समूहले प्रस्ताव पेश गरेकाे गाउँपालिकाले जनाएको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयबाट टेण्डर प्रक्रिया दुई दिन थपिएकोमा आइतबारदेखि प्रस्तावहरूकाे मुल्यांकन कार्य थालिएको सव-इन्जिनियर जगत सिंह डडालले बताउनुभयो ।
पैदलबाटाे निर्माणमा दार्चुलाका स्थानीय निर्माण कम्पनीहरूले प्रस्ताव हालेका छन् । नमस्कार निर्माण सेवा र रिठगडे निर्माण सेवाकाे तर्फबाट संयुक्त (जेभी) प्रस्ताव दर्ता गरिएको छ । त्यसैगरी दार्चुलाको अर्काे निर्माण कम्पनी देवहरि निर्माण सेवाले मिशन कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालि काठमाडौंसंगकाे साझेदारीमा संयुक्त (जेभी) प्रस्ताव पेश गरेको छ ।
दुबै प्रस्तावहरूकाे प्राविधिक मुल्यांकन सुरू भएको र अबकाे दुई-तीन दिनभित्र मुल्यांकन कार्य सकिने सव-इन्जिनियर डडालले बताउनुभयो । दुबै प्रस्तावका कागजपत्रहरूकाे चेकजाँच (पुष्टि) गरिने र त्यसपछि आर्थिक प्रस्ताव खाेलिने उहाँले जानकारी दिनुभयाे ।
टेण्डरकाे प्रतिस्पर्धामा २ कराेड ८० लाख रूपैयाँ बराबरकाे उस्तै प्रकृतिकाे कार्यअनुभव भएको शर्त राखिएको छ । याे शर्त पूरा नहुने अवस्थाका कारण धेरै निर्माण कम्पनीहरूले प्रतिस्पर्धा गर्न नपाएको चर्चा छ । देशभरि मै यस्ताे अनुभव भएका दुई दर्जन मात्रै कम्पनी भएकोमा तीमध्ये पनि अधिकांशले याे टेण्डर प्रति चाँसाे राखेका छैनन् ।
कार्यअनुभव बढी रकमकाे मागिएकोले संयुक्त (जेभी) मा प्रस्तावहरू दर्ता गरिएका छन् । प्राविधिक र आर्थिक प्रस्ताव खाेलिएपछि एक हप्ताको आशयपत्रकाे सुचना निकालिनेछ । त्यसपछि १५ दिनकाे समयावधि दिएर छनाैट गरिएको कम्पनीलाई सम्झाैताका लागि बाेलाइनेछ ।
गाउँपालिकासंग निर्माण कम्पनीको ठेक्का सम्झौता भएपछि मात्रै पैदलबाटाे निर्माण कार्य सुरू हुनेछ । पैदलबाटाे निर्माण कार्य सुरू हुन कम्तीमा तीन हप्ता लाग्ने अवस्था छ । नयाँ वर्षमा मात्रै ठेक्का सम्झौता भइ निर्माण कार्य सुरू हुनसक्ने अवस्था रहेको प्राविधिकहरूकाे भनाइ छ ।
संघीय सरकारकाे सशर्त अनुदान भएकोले चालू आर्थिक वर्षभित्रै निर्माण कार्य सम्पन्न गरि बजेट खर्च गर्नुपर्ने बाध्यता छ । तर, समय अभाव, कठिन भूगाेल र चट्टानी क्षेत्र भएकोले निर्धाारित समयमै बाटाे निर्माण कार्य सम्पन्न हुने र व्यासकाे पैदलमार्ग सञ्चालन आउनेमा धेरैले आशंका गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here