व्यास जाेड्ने पैदलबाटाे धमाधम निर्माण भइरहेको छ : प्रधानमन्त्री

0
130

दार्चुला, चैत्र ७ गते ।
प्रधानमन्त्री केपी शर्मा ओलीले दार्चुलाको विकट गाउँ छाङ्गरु जाेड्ने पैदलबाटाे निर्माणको काम भइरहेको बताएका छन् । आफ्नै देशकाे भूभागबाट व्यास जाने पैदलबाटाे धमाधम निर्माण भइरहेको प्रधानमन्त्री ओलीको भनाइ छ ।
बिहीवार प्रतिनिधिसभाको बैठकमा सांसदहरूकाे प्रश्नोत्तर कार्यक्रममा बोल्दै उहाँले स्थानीयहरूको माग बमोजिम बाटाे निर्माणका लागि पाँच करोड बजेट निकासा भएको समेत बताउनुभयो ।
रास्वपाका सांसद विनिता कठायतले व्यास क्षेत्रका नेपालीले पैदलबाटाेकाे अभावमा स्वदेशकाे बाटाे भएर आफ्नो गाउँ जान नसकेको विषयमा प्रधानमन्त्रीलाई प्रश्न गरेका थिए । `कहिलेसम्म त्यसक्षेत्रका जनताले स्वदेशकै पैदलबाटाे भएर आफ्नो घर जान पाउँछन्´ भन्ने प्रश्न प्रधानमन्त्रीसंग साेधिएकाे छ ।
प्रधानमन्त्री ओलीले प्रतिउत्तर दिदै व्यासकाे पैदलबाटाे धमाधम निर्माण भइरहेको र त्यसका लागि सरकारले ५ कराेड रूपैयाँ बजेट निकासा गरिसकेको बताएका छन् ।
`दार्चुलाको सदरमुकाम खलङ्गाबाट उत्तरपट्टि नेपालका छाङ्गरुलगायतका गाउँहरू छन् । नेपाल सरकारलाई थाहा छ छाङ्गरु जानका लागि बाटो रैनछ, अहिले नभएको होइन इतिहासदेखि नै थिएन,’ प्रधानमन्त्री ओलीले भन्नुभयाे, ‘…हामीलाई घोडेटो बाटो बनाउन सहयोग गरियोस् भनेर उहाँहरू(स्थानीय)ले भनेबमोजिम पाँच करोड रकम निकास गरेर अहिले आफ्नै देशबाट आफ्नो भूभाग जाने बाटो धमाधम निर्माण भइरहेको छ ।’
प्रधानमन्त्रीले यसअघि गत फागुन २५ गते सुदूरपश्चिम प्रदेशसभालाई विशेष सम्बाेधन गर्नेक्रममा पनि व्यासकाे पैदलबाटाे निर्माणका लागि ५ कराेड रूपैयाँ निकासा दिइएको र चाँडै पैदलबाटाे सञ्चालनमा आउने बताएका थिए । प्रतिनिधिसभाकाे बैठकमा `पैदलबाटाे धमाधम निर्माण भइरहेको´ थप विषय प्रधानमन्त्रीले राखेका छन् ।
प्रधानमन्त्री ओलीले विशेष निर्देशनमा अर्थ मन्त्रालयले व्यास गाउपालिकालाई व्यासकाे पैदलबाटाे निर्माण गर्न गत माघ दाेस्राे साता ५ कराेड बजेट निकासा दिएको छ । राजनीतिक दलका नेता, जनप्रतिनिधि र व्यासका स्थानीयले उपभोक्ता समितिमार्फत पैदलबाटाे निर्माण गर्न चाहे पनि सार्वजनिक खरिद कानुनका कारण ठेक्का प्रक्रिया अघि बढाइएको छ । १ कराेड रूपैयाँभन्दा माथि लागत भएका याेजनाहरू ठेक्का प्रक्रियामार्फत कार्यान्वयन गर्नुपर्ने सार्वजनिक खरिद ऐन, नियमावलीकाे व्यवस्था छ । साेही प्रावधानअनुसारले व्यास गाउपालिकाले व्यासकाे पैदलबाटाे निर्माण गर्न टेण्डर प्रक्रिया अघि बढाएको छ ।
टेण्डर प्रक्रियाअन्तर्गत एक महिना अवधिकाे सुचना निकालिएकोमा चैत्र १३ गते मात्रै सुचनाकाे अवधि पूरा हुदैछ । टेण्डर प्रक्रिया पूरा भई ठेक्का सम्झाैता भएपछि मात्रै स्थलगतरूपमा पैदलबाटाे निर्माण कार्य सुरू हुने अवस्था छ । प्रधानमन्त्रीले भने संसदमा जवाफ दिनेक्रममा `धमाधम बाटाे निर्माण भइरहेको´ बताएका छन् ।
नेकपा एमालेका नेता एवं पूर्वमन्त्री गणेश सिंह ठगुन्नाकाे नेतृत्वमा स्थानीय जनप्रतिनिधि र व्यासवासीकाे टाेलीले प्रधानमन्त्रीसंग व्यासकाे पैदलबाटाे निर्माणका लागि ५ कराेड बजेट मागेको थियाे । प्रधानमन्त्रीकाे विशेष निर्देशनमा बजेट आए पनि ठेक्का प्रक्रियामा समय लाग्ने र कडा चट्टानी क्षेत्र भएकोले असारभित्रै व्यासको पदलबाटाे खुल्नेमा धेरैलाई शंका छ । टेण्डर प्रक्रियामार्फत निर्माण कम्पनी छनाेट र ठेक्का सम्झाैता हुनसक्ने तर निर्धारित बजेट खर्च हुने तथा व्यासकाे पैदलबाटाे सञ्चालन हुनेमा स्थानीयवासी सशंकित छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here