दार्चुला, माघ २२ गते ।
नेपाल सरकारले दुई वर्षअघि निर्माण गरेको व्यास कार्ययोजनाबारे जिल्लास्तरमा सरोकारवाला पक्षसंग छलफल गरिने भएको छ । कार्ययोजना बनेदेखि यसको कार्यान्वयनबारे अहिलेसम्म कुनै पनि निकाय र सरोकारवालासंग छलफल गरिएको छैन ।
कार्ययोजना नै वेवारिसे भएपछि यसबारे प्रश्न उठेको छ । कार्ययोजनाबारे जिल्लास्तरमा सबै सरोकारवाला निकाय र पक्षहरुसंग छलफल गर्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताउनुभयो । ‘यसबारे जानकारी र छलफल गर्नु आवश्यक छ, कार्ययोजनामा उल्लेख गरिएका कार्यहरु सञ्चालनका लागि हामी सक्रिय हुन्छौ’ उहाँले भन्नुभयो ।
तत्कालिन गृहमन्त्री रामवहादुर थापा वादलले २०७७ असोजमा व्यास गाउँपालिकाको विकास तथा सेवा प्रवाहमा सुधार सम्बन्धि कार्ययोजना मन्त्रीस्तरीय निर्णयबारे स्वीकृत गरेका थिए । तर, कार्ययोजना निर्माणपछि यसबारे सरोकारवाला पक्षहरुसंग समन्वय र जानकारीसमेत गरिएको छैन ।
व्यासक्षेत्रको विकास र सेवा प्रवाहमा सुधारका लागि जिल्लास्तरमा समन्वय र पहल गर्न जिल्ला प्रशासन कार्यालय तत्पर भएको प्रजिअ उपाध्यायको भनाई छ । ‘सडक, पैदलबाटो, आधारभूत सुविधाको पहुँच विस्तार लगायत सबै क्षेत्रको अवस्था र गर्नुपर्ने कार्यबारे छलफल गरिन्छ’ उहाँले भन्नुभयो ।
व्यास कार्ययोजना कार्यान्वयनका लागि गृह मन्त्रालयबाट भने कुनै निर्देशन आएको छैन । मन्त्रालयको निर्देशन नभए पनि आवश्यकता र सान्दर्भिकता हेरेर जिल्ला प्रशासन कार्यालयले यसबारे पहल गर्ने प्रजिअ दीर्घराज उपाध्यायले बताउनुभयो ।
व्यास कार्ययोजनाबारे छलफल गराउन र कार्यान्वयनमा गराउन व्यास गाउँपालिकाले विशेष पहल गर्ने गाउँपालिकाका प्रवक्ता उपेन्द्रसिंह धामीले बताउनुभयो । ‘कार्ययोजना बनेको छ भन्नेसम्म हामीलाई जानकारी गराइएको थिएन, अहिले कार्ययोजनाबारे सुनियो, अब सक्रिय भएर कार्ययोजना कार्यान्वयन गराउन लाग्छौ’ गाउँपालिका प्रवक्ता धामीले भन्नुभयो ।
व्यास कार्ययोजनामा केही महत्वपूर्ण विषयवस्तु थप गर्नुपर्ने प्रवक्ता धामीको भनाई छ । ‘कार्ययोजनामा उल्लेखित कार्यहरु सान्दर्भिक भए पनि अझै केही महत्वपर्ण कार्यहरु थप्नुपर्ने देखिन्छ, यसबारे हामी सम्बन्धित निकाय र तहमा छलफल गर्नेछौ’ उहाँले भन्नुभयो ।
गृह मन्त्रालयमै अलपत्र परेको व्यास कार्ययोजनाबारे नागरिक अभियन्ता तथा पत्रकार शंकर सिंह धामीले सोधखोज गरेपछि यसबारे जिल्लास्तरमा चर्चा सुरु भएको छ । ‘व्यास क्षेत्रका लागि सरकारले गर्नुपर्ने काम र दायित्वबारे खवरदारी गर्ने उद्देश्यले कार्ययोजनाको खोजी गरेको हुँ’ पत्रकार धामीले भन्नुभयो ।