दार्चुला, पुष २६ गते ।
पूर्वमन्त्री एवं नेकपा एमालेका नेता गणेश सिंह ठगुन्नाले व्यासको पैदलबाटो सञ्चालनमा ल्याउनेगरी बजेट व्यवस्थापन हुन लागेको बताएका छन् । व्यासको भूगोल जोड्ने पैदलबाटो समेत नभएको अवस्थालाई चिर्न संघीय सरकारले प्राथमिकता दिएर बजेट दिन लागेको उहाँले बताउनुभयो ।
चुनौतीपूर्ण कार्य भए पनि व्यासको पैदलबाटो तत्काल सञ्चालन गर्नुको विकल्प नरहेको पूर्वमन्त्री ठगुन्नाको भनाई छ । ‘गाउँपालिकाको व्यवस्थापन र नेतृत्वमा पैदलबाटो निर्माण गरी सञ्चालनमा ल्याउने गृहकार्य भइरहेको छ’ उहाँले भन्नुभयो ।
केही दिनभित्रै अर्थ मन्त्रालयले व्यास गाउँपालिकालाई व्यासको पैदल बाटो निर्माणका लागि ५ करोड रुपैयाँ बजेट दिन लागेको उहाँले जानकारी दिनुभयो । ‘पुष महिनाभित्रै अर्थ मन्त्रालयबाट ५ करोड र स्थानीय पूर्वाधार विभाग (डोली)बाट ५० लाख रुपैयाँ बाटो निर्माणका लागि गाउँपालिकाको खातामा निकासा हुन्छ’ उहाँले भन्नुभयो । भूगोलको अवस्थाअनुसार ठाउँठाउँमा एकसाथ बाटो निर्माणको कार्य थालिने पूर्वमन्त्री ठगुन्नाको भनाई छ । ‘पैदलबाटो खुलाउन प्रधानमन्त्रीज्यूले चाँसो लिनुभएको छ, व्यासक्षेत्र जोड्ने यो बाटो सञ्चालनमा आएपछि स्थानीय वासिन्दाका साथै कैलाश–मानसरोवर यात्रुहरुलाई समेत सुविधा हुनेछ’ सत्तारुढ एमालेका पोलिटब्युरो सदस्य समेत रहनुभएका नेता ठगुन्नाले भन्नुभयो ।
पैदलबाटो निर्माणका लागि व्यास गाउँपालिकाले समेत १० प्रतिशत बजेट योगदान गर्ने उहाँले बताउनुभयो । उहाँका अनुसार दुइ–तीन महिनाको अवधिभित्रै पैदलबाटो निर्माण कार्य सम्पन्न गरिने तयारी भइरहेको छ ।
बाटो निर्माणका लागि जिल्ला र गाउँपालिकास्तरका सबै सरोकारवालाहरुसंग छलफल र सहकार्य गरिने उहाँको भनाई छ । ‘सबै सरोकारवालाका सुझाव सुन्छौ, पारदर्शी र मितव्ययी भएर बाटो निर्माण कार्य गरिन्छ’ उहाँले भन्नुभयो, ‘यसअघि भएको बजेट खर्च र बाटो निर्माणको अभ्यासबाट पाठ सिकेर विगतको जस्तो कमजोरी हुन दिइने छैन ।’
बाटो निर्माणका लागि प्राप्त बजेट दुरुपयोग हुन नदिने पूर्वमन्त्री ठगुन्नाको प्रतिवद्धता छ । ‘एक रुपैयाँ पनि दुरुपयोग हुन दिदैनौ, बरु हरेक देशभक्त नागरिकबाट श्रमदान जुटाउछौं’ उहाँले भन्नुभयो । बाटो निर्माण कार्यमा आफुले समेत १० दिनसम्म श्रमदान गर्ने उहाँको भनाई छ । ‘समय उपलब्ध भएका देशभक्त नागरिकलाई श्रमदानका लागि आव्हान गर्छौ’ उहाँले भन्नुभयो, ‘कठिन र चट्टानी भूभागमा बाटो निर्माणका लागि नेपाली सेना, जिल्ला प्रशासन कार्यालय र अन्य सुरक्षा निकायसंग पनि समन्वय गर्छौ ।’
नेपाली सेनाले निर्माण गरिरहेको दार्चुला–टिंकर सडकले गति नलिएको अवस्थामा तत्काल व्यास जोड्ने पैदलबाटो निर्माणको गृहकार्य थालिएको छ । ‘सेनाले कहिलेसम्म र कति वर्षमा सडक निर्माण गर्नसक्छ निश्चित छैन, सडक निर्माण सुस्त छ र बजेट विनियोजन पनि न्युन छ त्यसैले तत्काल पैदलबाटो सञ्चालनमा ल्याउन उपयुक्त ठानेका छौ’ उहाँले भन्नुभयो ।
पैदलबाटो निर्माण र सञ्चालन टिंकर सडकको विकल्प नभएको उहाँको भनाई छ । ‘सेनाले सडक निर्माण कार्य गरिरहन्छ तर हामी स्थानीय सरकारको अगुवाइमा तत्काल पैदलबाटो सञ्चालनमा ल्याउछौं, यो टिंकर सडक निर्माणको विकल्प भने होइन सडक निर्माण कार्यले पनि प्राथमिकता पाउनुपर्छ’ नेता ठगुन्नाको भनाई छ ।
पुष ११ गते पूर्वमन्त्री ठगुन्नाको नेतृत्वमा एमाले र काँग्रेसको संयुक्त डेलिगेशनले प्रधानमन्त्री केपी शर्माओलीसंग व्यास पैदल बाटो निर्माणका लागि ५ करोड रुपैयाँ बजेट मागेको थियो । प्रधानमन्त्रीले दार्चुलाको डेलिगेशनको सामुन्ने अर्थमन्त्री विष्णु पौडेललाई तत्काल ५ करोड बजेट उपलब्ध गराउन आग्रह गरेका छन् ।
व्यासको बाटो निर्माणमा बजेट आउने तर काम नहुने भन्दै आशंका र प्रश्न गर्नेहरुलाई निरन्तर खबरदारी गरिराख्न समेत पूर्वमन्त्री ठगुन्नाले सुझाव दिएका छन् । ‘बाटो निर्माणस्थलमै पुगेर, त्यही बसेर हामीसंगै निगरानी गर्नुहोस्, बाटो निर्माणमा सकेजति श्रमदान पनि गर्नुहोस्’ उहाँले भन्नुभयो ।