दार्चुला, फागुन २५ गते ।
प्रधानमन्त्री केपी शर्मा ओलीले व्यासकाे पैदलबाटाे तत्काल खाेल्न ५ कराेड रूपैयाँ बजेट उपलब्ध गराएको बताएका छन् । आइतबार सुदुरपश्चिम प्रदेशसभालाई सम्बाेधन गर्दै प्रधानमन्त्री ओलीले टिंकर सडक र टिंकर नाकालाई सरकारले प्राथमिकतामा राखेकाे बताएका छन् ।
भारतिय मार्ग भएर व्यास पुग्नुपर्ने बाध्यतालाई अन्त्य गर्न गाेरेटाे बाटाेमा बजेट दिइएको प्रधानमन्त्रीकाे भनाइ छ ।
सम्बाेधनकाे प्रारम्भमा प्रधानमन्त्री ओलीले पवित्र व्यास क्षेत्र, व्यास ऋषि, व्यास हिमाल, अपी हिमाल र ॐ हिमालकाे प्रसंग उल्लेख गरेका छन् ।
प्रधानमन्त्री ओलीकाे भनाइ-
`यसपल्ट हामीले दार्चुलाको सदरमुकाम खलंगाबाट छाङरू जानेबाटाे कमसेकम घाेरेटाे (बाटाे) पारी(भारत)बाट जान नपराेस् यतै (नेपाल)बाट जान सकियोस् किनभने धेरै ह्युमुलेशन (अपमान), धेरै चिज खेप्नुपर्याे यतैबाट जान पाऊ भन्ने त्यहाँका स्थानीय जनताकाे, स्थानीय पालिकाकाे मागलाई ध्यानमा राखेर गाेरेटाे मात्रै खाेल्नका लागि पनि ५ कराेड रूपैयाँ यसपल्ट हामीले छुट्याएका छाैं ।
र, त्यस ५ कराेडले अहिले गाेरेटाे खाेलिनेछ । त्यसपछि पक्कीबाटाे (सडक)हामी त्याे पहिराे छिचाेलेर छाङरू पुर्याउनेछाै, र त्यसलाई तिंकर पुर्याउनेछाै । त्यस(सडक)लाई व्यास हुँदै तिंकर पुर्याएर उता(चीन)काे ताक्लाकाेट नाका, ताक्लाकाेट बजारसंग जाेड्ने र त्यसलाई व्यापारिक केन्द्र बनाउने, भन्सार सुविधा आदि दिने यी कुराहरूमा पनि हामीले ध्यान दिएका छाैं । ´