दार्चुला, फागुन १३ गते ।
दार्चुलाका जनताको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)प्रति समर्थन बढिरहेको उम्मेदवार राजेश चन्दले बताएका छन् । माघ ६ गते उम्मेदवारी दर्तादेखि जिल्लाका गाउवस्तीहरुमा प्रचारप्रसार गर्दै आएका चन्दले राप्रपाप्रति जनलहर देखिएको दावी गरेका छन् ।
हिन्दुराष्ट्र र राजसंस्थाको मुद्दासहित आफ्नो पार्टी चुनावमा उत्रिएको चन्दले बताउनुभयो । ‘हामी बढीभन्दा बढी मतदातासम्म पुग्ने प्रयासमा छौं, अहिलेसम्मका भेटघाट उत्साहजनक र आशलाग्दा छन्’ उहाँले भन्नुभयो ।
‘गणतन्त्र चलाउने दलहरुबाट जनता आजित भएकाले उपयुक्त विकल्पको रुपमा राप्रपा जनताको रोजाइमा पर्ने’ उम्मेदवार चन्दको भनाई छ । ‘जताततै जनतामा निराशा छ, आक्रोस छ । देशको अस्तित्व र स्वाभिमान नै संकटमा परेको महशुस सबैले गरेका छन्’ उहाँले भन्नुभयो ।
नेपाली सेनाका अवकाशप्राप्त कर्णेल समेत रहेका चन्द पहिलोपटक चुनावी मैदानमा उत्रिएका हुन् । लेकम गाउँपालिका–३ लालीमा जन्मस्थान भएका चन्दले लेकम गाउँपालिकासहित सबैजसो स्थानीय तहमा पुगेर प्रचारप्रसार गरिरहेका छन् ।
नेपाल प्रहरीका पूर्व आइजिपी रमेश चन्द ठकुरीमा भाइ रहेका उम्मेदवार चन्द दुई वर्षअघि मात्रै राप्रपामा संगठित भएका थिए । भाइको प्रचारप्रसारका लागि एक हप्ता दार्चुलाको ग्रामिण क्षेत्रमा भ्रमण गरेर पूर्व आइजिपी ठकुरी काठमाण्डौं फर्किएका छन् ।
‘जनताले विवेकपूर्ण रुपमा मतदान गर्ने’ भन्दै राप्रपा उम्मेदवार चन्दले देशको रक्षा र हितका लागि राप्रपाको जित आवश्यक रहेको बताउनुभयो । ९० प्रतिशतभन्दा बढी सनातन हिन्दुहरुको बसोवास रहेको दार्चुलामा धर्मको रक्षा र देशहितका लागि बहुसंख्यक मतदान हुने उहाँको दावी छ ।








