मोदीसंग उत्तराखण्डका मुख्यमन्त्रीको माग ः गुञ्जीलाई अन्तर्राष्ट्रिय पर्यटन गन्तव्य बनाउनुपर्छ

0
123

दार्चुला, असार ३१ गते ।
भारतको उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले प्रधानमन्त्री नरेन्द्र मोदीसंग गुञ्जीलाई अन्तर्राष्ट्रिय पर्यटन गन्तव्य बनाउन माग गरेका छन् । असार ७ गते गुञ्जीक्षेत्रमा अन्तर्राष्ट्रिय योग दिवसमा सहभागी भएका मुख्यमन्त्री धामीले दिल्ली पुगेर असार ११ गते मोदीसंग भेटवार्ता गरेका हुन् ।
योग दिवसको एक दिनअघि हेलिकोप्टरमार्फत गुञ्जी पुगेका मुख्यमन्त्री धामीले असार ६ गतेको रात नाभीगाउँको होमस्टेमा विताएका थिए । अतिक्रमित नेपाली भूमिमा रहेका कुटी, नाभी र गुञ्जी गाउँको वस्तुस्थितिबारे ब्रिफिङ लिएका मुख्यमन्त्रीले प्रधानमन्त्री मोदीसंग तत्कालै भेटेर यसक्षेत्रको विकासका लागि छलफल गरेका छन् ।
‘पिथौरागढ जिल्लास्थित सिमावर्ती गाउँ गुञ्जी (आदि कैलाश क्षेत्र)लाई अन्तर्राष्ट्रिय पर्यटन डेस्टिनेशनको रुपमा विकास गर्न मोदीसंग छलफल गरिएको’ भारतीय पत्रिका हिन्दुस्तान दैनिकले समाचार लेखेको छ । असार ११ गते भएको मोदीसंगको भेटमा मुख्यमन्त्री धामीले उत्तराखण्ड राज्य सरकारले गुञ्जीक्षेत्रको पर्यटन विकासका लागि गुरुयोजना तयार गरिसकेको जानकारी पनि दिएका छन् ।
नेपालले लिम्पियाधुरासम्मको क्षेत्रलाई आफ्नो भूमि भएको दाबी गर्दै नयाँ नक्सा प्रकासित गरेको छ । तर, नेपालले दाबी गरेको समग्र क्षेत्रलाई भारतले अन्तर्राष्ट्रिय पर्यटन गन्तव्य बनाउने तयारी थालेको छ । लिम्पियाधुरा नजिकको आदि कैलाश पर्वत र पार्वती सरोवरसम्म अहिले दैनिक रुपमा हजारौं तिर्थयात्रीहरुले भ्रमण गरिरहेका छन् । गत असोज २५ गते भारतीय प्रधानमन्त्री मोदीले यसक्षेत्रको भ्रमण गरेका थिए । उत्तराखण्डका मुख्यमन्त्री धामी त्यतिबेला पनि मोदीसंगै गुञ्जीक्षेत्र पुगेका थिए ।
मोदीकै निर्देशनमा गुञ्जीक्षेत्रको पर्यटकीय विकास गर्न गुरुयोजना तयार गरिएको चर्चा छ । कहाँ, कस्तो संरचना बनाउनेसम्मको सुझाव र निर्देशन मोदीले दिएका छन् । सन् १९९० को दशकमा कैलाश–मानसरोवर यात्रा गर्ने क्रममा मोदीले यसक्षेत्रको पैदल भ्रमण गरेका थिए । यसक्षेत्रको भूगोल, संस्कृति र अवस्थाबारे मोदी जानकार भएकोले आफ्नो सोचअनुसारको योजना तयार गर्न लगाइएको चर्चा छ ।
कालापानीभन्दा केही माथि नाभीढागबाट दर्शन गर्न सकिने ॐ पर्वतको पर्यटकीय विकासलाई पनि गुरुयोजनामा समेटिएको छ । गुञ्जीबाट २२ किलोमिटरको सडक दूरीमा नाभीढाग पर्दछ । व्यास गाउँपालिकाको वडा नम्बर १ तिंकर गाउँको सिरानक्षेत्रमा रहेको ॐ पर्वतसम्म भारतीय सुरक्षाकर्मीले अतिक्रमण गरेका छन् ।
उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले कुमाउँ मण्डलमा रहेका ४८ वटा मन्दिरहरुको संरक्षण र विकासका लागि १ हजार करोड रुपैयाँ उपलब्ध गराउन केन्द्र सरकारसंग माग गरेका छन् । मानसखण्ड क्षेत्रमा पर्ने ४८ वटा मन्दिरहरुमध्ये १६ मन्दिरमा संरक्षण र विकासको कार्य थालिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । आदि कैलाश र ॐ पर्वत दर्शनका लागि हेलिकोप्टर सेवा सञ्चालनको गृहकार्य पनि राज्य सरकारले गरेको छ ।
धारचुलादेखि गुञ्जी हुँदै जोलिङकाङसम्मको १ सय २५ किलोमिटर लामो सडक निर्माण सम्पन्न भइसकेको छ । अधिकांश ठाउँमा सडक कालोपत्रे भएसंग अहिले दैनिक ३ सयभन्दा पर्यटक गाडीहरु जोलिङकाङ र ॐ पर्वत दर्शनका लागि पुगिरहेका छन् ।
टनकपुर नजिकको पूर्णागिरी मन्दिरदेखि कुमाउ क्षेत्रका सबैजसो प्रमुख मन्दिरहरुको एकीकृत विकास गर्ने राज्यसरकारको योजना छ । चीनको तिब्बतमा अवस्थित कैलाश–मानसरोवरसम्मको तिर्थयात्रा २०१९ देखि बन्द छ । कोभिड महामारीले लिपुलेक नाका बन्द भएपछि हालसम्म खोलिएको छैन । चीन र भारतबीचको सिमाक्षेत्रको तनाव र सैन्य टकरावले पनि कैलाश मानसरोवर यात्रा खुल्न सकेको छैन ।
पवित्र कैलाश मानसरोवर यात्राको विकल्पमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गुञ्जी क्षेत्रलाई धार्मिक पर्यटन गन्तव्य बनाउन थालेका छन् । गुञ्जीसहितका सिमाक्षेत्रका आधा दर्जन गाउँहरुलाई समेटेर भाइब्रेन्ट भिलेजको रुपमा विकास गरिदैछ । सडक, सञ्चार, हवाइ सेवा, खानेपानी, शौचालय, होमस्टे लगायतका क्षेत्रमा भारत सरकारले लगानी गरिरहेको छ ।
गुञ्जी र जोलिङकाङ क्षेत्र जोड्नेगरी उच्च हिमालय क्षेत्रमा सुरुङ निर्माणको अध्ययन पनि थालिएको छ । धारचुला तहसिलअन्तर्गत बुँदी गाउँदेखि गुञ्जीछेउमा रहेको नपलच्यु गाउँ जोड्ने करिब ५ किलोमिटर सुरुङ निर्माण हुने चर्चा छ । त्यसैगरी, व्यास घाटी र दारमा घाटी जोड्ने गरी बेदाङ्गदेखि जोलिङजाङसम्मको सुरुङमार्ग निर्माण पनि गृहकार्य भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here