मोदीपछि भाजपा अध्यक्ष नड्डाले गरे गुञ्जी भ्रमण

0
85

दार्चुला, जेठ ११ गते ।
मोदी नेतृत्वको सरकारमा केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रीसमेत रहेका भाजपा अध्यक्ष जेपी नड्डाले जेठ ४ गते गुञ्जी क्षेत्रको भ्रमण गरेका छन् । उत्तराखण्ड राज्य सरकारको व्यवस्थापनमा भाजपा अध्यक्ष नड्डाले गुञ्जी, आदि कैलाश र धारचुला क्षेत्रको भ्रमण गरेका छन् ।
नड्डाले लिम्पियाधुरा नजिकको तर महाकाली पश्चिमतर्फ अवस्थित आदि कैलाश हिमालयको दर्शन गरेका छन् । चीनको तिब्बतमा पर्ने कैलाश हिमालको आकृतिसंग मिल्दोजुल्दो हिमालय भएकाले यसलाई आदि कैलाश नामांकरण गरिएको छ ।
आदि कैलाशको फेद जोलिङकाङमा पार्वती सरोवर छ । तिब्बतमा अवस्थित मानसरोवरसंग यसको तुलना गरिन्छ । कैलाश–मानसरोवर दर्शन गर्न चीन सरकारको अनुमति र भिसा आवश्यक पर्ने भएकाले हिन्दु तिर्थयात्रीहरुलाई आदि कैलाश र पार्वती सरोवरमा यात्रा गर्न भारत सरकारले प्रेरित गरिरहेको छ ।
चीन र नेपालसंग अन्तर्राष्ट्रिय सिमा जोडिएको यस क्षेत्रमा भ्रमण गर्ने मोदीपछिको दोस्रो उच्च तहको नेता नड्डा बनेका छन् । भाजपा अध्यक्ष नड्डाले आदि कैलाश हिमालयको दर्शन गर्नुका साथै जोलिङकाङस्थित शिव मन्दिरमा पूजापाठ पनि गरेका छन् । जोलिङकाङको पार्वती सरोवरमा शिव मन्दिर बनाइएको छ । स्थानीय शौका समुदायले नड्डालाई स्वागत गरेको भारतीय पत्रिका हिन्दुस्तान दैनिकले जनाएको छ । प्रधानमन्त्री मोदीको जस्तै नड्डालाई पनि शौका समुदायले आफ्नो परम्परागत भेषभुषा पहिन्याएका छन् ।
भाजपा अध्यक्ष नड्डाको यो भ्रमण पर्यटन प्रवद्र्धनमा केन्द्रीत देखिन्छ । मोदीको भ्रमणपछि गतवर्ष मात्रै आदि कैलाश क्षेत्रमा ३० हजार भारतीय पर्यटकहरुले भ्रमण गरेका थिए । यो वर्ष एक लाख पर्यटकको भ्रमण गराउने योजना उत्तराखण्ड सरकारले बनाएको छ ।
अन्तर्राष्ट्रिय सिमाक्षेत्र, नेपालले दाबी गरेको भूगोल र उच्च हिमाली पर्यटकस्थल भएकोले भाजपा अध्यक्ष नड्डाले भ्रमणका लागि प्राथमिकतामा राखेको बताइन्छ । आदि कैलाश र गुञ्जी भ्रमणका क्रममा नड्डाले भारतीय सुरक्षाकर्मीहरुसंग भेटघाट र छलफल गरेका छन् । हालै पाकिस्तानको सिमाक्षेत्रमा सञ्चालन गरेको ‘अपरेशन सिन्दूरको सफलतामा नड्डाले भारतीय सुरक्षाकर्मीसंग खुशीयाली साटासाट गरेको’ भारतीय अखबारले समाचार लेखेका छन् ।
प्रधानमन्त्री मोदीको भ्रमणपछि सिमाक्षेत्रमा पर्यटन र रोजगार बढेको नड्डाले बताएका छन् । आदि कैलाश अद्भुत र अलौकिक स्थल रहेको बताउदै भाजपा अध्यक्ष नड्डाले स्थानीयवासीलाई यसबाट लाभ मिल्नुपर्ने बताएका छन् ।
आदि कैलाश दर्शनपछि गुञ्जी पुगेका नड्डाले गुञ्जीमा रहेका भारतीय सेना, भारत–तिब्बत सिमा पुलिस (आइटिबिपी) र सशस्त्र सिमा वल (एसएसवी)का सुरक्षाकर्मीसंग सामूहिक फोटो खिचााएका थिए । नड्डाले सुरक्षाकर्मीहरुलाई मिठाइसमेत बाँडेका छन् ।
भारतको केन्द्रीय सरकारको आर्थिक सहयोगमा उत्तराखण्ड सरकारले गुञ्जी क्षेत्रलाई भाइब्रेन्ट भिलेजको रुपमा विकास गर्दैछ । यसक्षेत्रमा सडक यातायातका साथै विद्युत, सञ्चार, होटल, खानेपानी, शौचालय, अस्पताल लगायतका आधारभूत सेवाको विस्तार भइरहेको छ ।
केन्द्रीय स्वास्थ्यमन्त्री समेत रहेका नड्डालाई पिथौरागढ जिल्लाका डिएम विनोद गोस्वामीले भाइब्रेन्ट भिलेज योजनाअन्तर्गत हाल भइरहेका गतिविधिबारे ब्रिफिङ गरेका छन् । दिल्लीबाट हवाइजहाजमार्फत आइतवार विहान देहरादून पुगेका नड्डालाई मुख्यमन्त्री पुष्कर सिंह धामीले स्वागत गरेका थिए । देहरादूनबाट आदि कैलाशक्षेत्रमा हेलिकोप्टरमार्फत भ्रमण गरिएको छ । पाँच सिट क्षमताको सानो हेलिकोप्टरमा भाजपा अध्यक्ष नड्डा आदि कैलाश पुगेका थिए । उत्तराखण्डका मुख्यमन्त्री धामी र केन्द्रीय सडक परिवहन राज्यमन्त्री अजय टम्टा अर्को हेलिकोप्टरमा संगसंगै आदि कैलाश क्षेत्र पुगेका थिए ।
उत्तराखण्डका मुख्यमन्त्री धामीको पुख्र्यौली गाउँ पिथौरागढ जिल्लामा पर्दछ । आफ्नो पुख्र्यौली गाउँको क्षेत्र भएकाले मुख्यमन्त्री धामीको पनि यसक्षेत्रप्रति ‘विशेष लगाव’ रहेको बताइन्छ । मोदी सरकारमा केन्द्रीय सडक परिवहन राज्यमन्त्री रहेका अजय टम्टा सिमाक्षेत्र पिथौरागढ–अल्मोडाबाट निर्वाचित लोकसभा सांसद हुन् । आफ्नो निर्वाचन क्षेत्रमा भाजपा अध्यक्ष नड्डा आएकाले राज्यमन्त्री टम्टा पनि स्वागतमा उत्रिएका थिए ।
भाजपा अध्यक्ष नड्डासंगै उत्तराखण्डका पशुपालन तथा मत्स्य विकास मन्त्री सौरभ बहुगुणा, भाजपा प्रदेश अध्यक्ष एवं राज्यसभा सांसद महेन्द्र भट्ट, डीडीहाट क्षेत्रबाट निर्वाचित विधायक विशन सिंह चुफाल पनि आदि कैलाश र गुञ्जीक्षेत्र पुगेका थिए ।
प्रधानमन्त्री मोदीको जस्तै भाजपा अध्यक्ष एवं स्वास्थ्य मन्त्री नड्डाले पनि गुञ्जीक्षेत्रको भ्रमण गरेका छन् । मोदीले बोले जस्तै नड्डाले पनि सिमाक्षेत्र र ॐ पर्वतको विषयमा अभिव्यक्ति पनि दिएका छन् । सामाजिक सञ्जाल एक्समा नड्डाले ‘हिमालयको काखमा रहेको आदि कैलाश क्षेत्रको दर्शन गर्न पाउदा आफु धन्य भएको’ बताएका छन् । ‘अध्यात्म र संस्कृतिको संगमको रुपमा यो क्षेत्र रहेको’ बताउदै भाजपा अध्यक्ष नड्डाले देशको सिमा सुरक्षामा खटिएका सुरक्षाकर्मीसंग भेटको विषय पनि उल्लेख गरेका छन् ।
‘अलौकिक सौन्दर्य र आस्थाको केन्द्र रहेको व्यास उपत्यकामा ॐ पर्वतसहितका पवित्रस्थल रहेको’ उल्लेख गर्दै नड्डाले यो क्षेत्र ‘सनातन संस्कृतिको पहिचान र विश्वभर रहेका करोडौं शिवभक्तहरुको आस्थाको केन्द्र रहेको’ उल्लेख गरेका छन् ।
आदि कैलाश र गुञ्जीक्षेत्र भ्रमण गरेपछि नड्डाले कालापानी, नाभीढाग र ॐ पर्वतको भने दर्शन गरेनन् । महाकालीको सहायक नदी लिपुखोला पूर्वमा रहेको कालापानी र ॐ पर्वत क्षेत्रलाई पनि भारतको अभिन्न अंगको रुपमा देखाउने अभ्यासमा भारतीय पक्ष देखिन्छ । त्यसैले मोदीको जस्तै अभिव्यक्ति नड्डाले पनि दिएका छन् ।
आदि कैलाश र गुञ्जीक्षेत्रमा हालसम्म प्रधानमन्त्री मोदीका साथै उत्तराखण्डका गभर्नर गुरमित सिंह, मुख्यमन्त्री पुष्करसिंह धामी, तत्कालिन केन्द्रीय रक्षा राज्यमन्त्री अजय भट्ट, केन्द्रीय सडक परिवहन राज्यमन्त्री अजय टम्टा, उत्तराखण्डका पर्यटनमन्त्री सतपालजी महाराज, विधायक हरिश धामी लगायतका नेताहरुले भ्रमण गरेका छन् । मुख्यमन्त्री धामीले प्रधानमन्त्री मोदीसंगै पहिलोपटक आदि कैलाश र गुञ्जीक्षेत्रको भ्रमण गरेका थिए । त्यसपछि गतवर्षको विश्व योग्य दिवसमा मुख्यमन्त्री धामीले एक रात आदि कैलाश क्षेत्रमै बिताएका थिए । आइतवार भाजपा अध्यक्ष नड्डाको साथमा मुख्यमन्त्री धामीले यसक्षेत्रको तेस्रो पटक भ्रमण गरेका छन् ।
आइतवारको आदि कैलाश र गुञ्जीक्षेत्र भ्रमण गरी फर्किने क्रममा भाजपा अध्यक्ष नड्डाले धारचुलास्थित सैनिक छावनीको पनि अवलोकन गरेका छन् । धारचुलास्थित सैनिक छावनीमा आधा घण्टा विश्राम गरेर नड्डाले सैनिक अधिकारीहरुसंग छलफल गरेको बताइन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here