मुख्यमन्त्रीसंग स्थानीय तहका प्रमुखहरुको गुनासै–गुनासो

0
35

दार्चुला, कार्तिक २४ गते ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलवहादुर शाह र दार्चुलाका स्थानीय तहका प्रमुखहरुबीच आरोप–प्रत्यारोप भएको छ । जेनजी आन्दोलनपछि पहिलोपटक प्रदेशका जिल्लाहरु भ्रमण गर्नेक्रममा आइतवार दार्चुला पुगेका मुख्यमन्त्री शाहसंग स्थानीय तहका प्रमुखहरुले प्रदेश सरकारको भूमिका, योजना छनौट र कार्यक्रमबारे आक्रोस पोखेका छन् ।
मुख्यमन्त्री दार्चुला आउने भएपछि जिल्ला प्रशासन कार्यालयले पत्राचार गरी स्थानीय तहका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरुलाई सदरमुकाम बोलाएको थियो । आइतवार दिउसो स्थानीय तहका प्रमुख, जिल्लास्थित कार्यालय प्रमुखहरु र प्रमुख प्रशासकीय अधिकृतहरुसंग अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको छ ।
अन्तरक्रियामा सहभागी ७ वटा स्थानीय तहका प्रमुखहरुले मुख्यमन्त्रीसंग प्रदेश सरकारका योजना र बजेटबाट आक्रोस पोखेका छन् । दार्चुलाका कुल ९ स्थानीय तहमध्ये शैल्यशिखर नगरपालिका प्रमुख र प्रमुख प्रशासकीय अधिकृत कार्यक्रममा अनुपस्थित थिए भने नौगाड गाउँपालिका अध्यक्ष दलजित सिंह धामीले उपस्थिति भए कुनै भनाई राखेनन् । शैल्यशिखर नगरपालिकाको टीम मुख्यमन्त्रीको कार्यक्रम छोडेर भारतीय राजदूतावासको सहयोगमा निर्माण हुने गोकुलेश्वर माविको भवन निर्माण सम्झौता गर्न काठमाण्डौंतर्फ हानिएको छ ।
कार्यक्रममा व्यास गाउँपालिका अध्यक्ष मंगल सिंह धामीले चुच्चे नक्सामा समेटिएका कुटी, गुञ्जी र नावी गाउँलाई प्रदेश सरकारले सम्झिन समेत नसकेको बताएका छन् । ‘चुच्चे नक्साका गाउँहरु त टाढा छन् तर छेउका छाङरु र तिंकर गाउँलाई समेत मुख्यमन्त्री ज्यू बिर्सिनुभयो’ उहाँले भन्नुभयो । प्रदेश सरकारले व्यास गाउँपालिकालाई उच्च प्राथमिकता दिनुपर्नेमा विशेष र सम्पूरक अनुदान समेत नदिएको गाउँपालिका अध्यक्ष धामीले आरोप लगाउनुभयो ।
लेकम गाउँपालिका अध्यक्ष रामदत्त जोशीले प्रदेश सरकारले स्थानीय आवश्यकता र स्थानीय तहको प्राथमिकतालाई कहिल्यै महत्व नदिएको बताउनुभयो । ‘स्थानीय तहबाट सिफारिस भएका योजनाहरु मात्रै कार्यान्वयन गर्छौ भनियो तर बजेटमा दलाल र बिचौलियाहरुका योजनाहरु मात्र आए’ मुख्यमन्त्री सहभागी कार्यक्रममा अध्यक्ष जोशीले भन्नुभयो ।
मार्मा गाउँपालिका अध्यक्ष जमन सिंह धामीले सदरमुकामबाट मार्मा क्षेत्र जोडिने प्रदेश गौरवको सडक योजना ६ वर्षदेखि अलपत्र रहेको बताउनुभयो । ‘प्रदेश गौरवकै योजना अलपत्र रहेको अवस्थाले हाम्रो वास्तविकता दर्शाउछ’ उहाँले भन्नुभयो ।
अपिहिमाल गाउँपालिका अध्यक्ष भगत सिंह ठेकरे र मालिकार्जुन गाउँपालिका अध्यक्ष हिरासिंह धामीले चालू आर्थिक वर्षमा प्रदेश सरकारका योजना र कार्यक्रमहरु कार्यान्वयनबारे अन्यौलता रहेको बताउनभयो । ठेक्काबाट कार्यान्वयन गर्ने र उपभोक्ता समितिबाट भन्ने अन्यौलता रहेको अपिहिमाल गाउँपालिका अध्यक्ष ठेकरेले बताउनुभयो ।
प्रदेशबाट स्थानीय तहलाई हस्तान्तरण गरिएका योजना र कार्यक्रमहरु कार्यान्वयन गर्नेबारे प्रदेश सरकारको स्पष्ट मार्गदर्शन नभएको मालिकार्जुन गाउँपालिका अध्यक्ष हिरासिंह धामीको भनाई छ । योजना कार्यान्वयन गर्दा पछि बजेट कटौतिमा पर्ने डर भएको उहाँको भनाई छ ।
महाकाली नगरपालिका प्रमुख नरसिंह चैसिरले प्रदेश गौरवको खलंगा–दल्लेख सडक खण्ड निर्माणमा प्रदेश सरकारको भूमिका लज्जास्पद रहेको बताउनुभयो । दुहुँ गाउँपालिका अध्यक्ष नरेन्द्रसिंह बडालले प्रदेशका कुनै पनि योजना स्थानीयको आवश्यकता र प्राथमिकताअनुसार छनौट नभएको बताउनुभयो । कुरा मात्रै मिठा गरेर केही सुधार हुन नसक्ने उहाँको भनाई छ ।
मुख्यमन्त्री कमलवहादुर शाहले भने स्थानीय तहका प्रमुखहरुलाई प्रदेश सरकारका योजना छनौटमा सहयोग नगरेको बताएका छन् । ‘हामीले स्थानीय तहको सहभागिता र प्राथमिकतामा योजना छनौट गर्न आग्रह गर्यौं तर माग भएजतिका सबै योजनाहरु प्रदेशमा सिफारिस गरि स्थानीय तहले पठाउनु भो’ मुख्यमन्त्री शाहले भन्नुभयो । ‘प्राथमिकताका तोकेर सिमित योजनाहरु पठाउनुपर्नेमा माग भइआएका सबै योजनाहरु डोको भरेर प्रदेशमा पठाउने तपाईहरु नै हो’ मुख्यमन्त्री शाहको आरोप छ ।
तीन घण्टासम्म चलेको अन्तरक्रियामा उठेका सिमाक्षेत्रका र दार्चुला जिल्लाका कुनै पनि विषयहरुमा मुख्यमन्त्री शाहले जवाफ दिएका छैनन् । महाकाली नदीमा भारतीय पक्षबाट सिमा मिचेर तटबन्ध निर्माण भइरहेको विषय धेरैले उठाएका थिए । प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जिल्लाको वस्तुस्थितिबारे प्रस्तुतिकरण गर्दा पनि तटबन्ध निर्माणको विषय महत्वका साथ राखेका थिए । तर मुख्यमन्त्रीले यसबारे एक शब्द पनि बोलेनन् ।
अन्तरक्रिया कार्यक्रमअघि जिल्ला सुरक्षा समितिको बैठकमा भने मुख्यमन्त्री शाहले भारतले निर्माण गरिरहेको तटबन्धबारे सबैले आ–आफ्नोस्तरमा भूमिका खेल्नुपर्ने बताएका थिए । ‘मेरो तहबाट म पनि पहल गर्छु, तपाईहरु पनि आफ्नोस्तरमा यो विषयमा आवश्यक पहल गर्नुहोस्’ जिल्ला सुरक्षा समितिको बैठकमा मुख्यमन्त्री शाहले प्रजिअसहितका अधिकारीहरुलाई भनेका थिए ।
प्रदेश सरकारबाट निर्माण सुरु भई अलपत्र परेका सडकहरु, विकास निर्माण र सेवा प्रवाहबारे दुई दर्जन विषयमा प्रश्न उठाइएका थिए । तर मुख्यमन्त्रीले कुनै पनि विषयमा आफ्नो भनाई वा प्रतिक्रिया नदिएको नागरिक समाज दार्चुलाका संयोजक महेशराज भट्टले बताउनुभयो । ‘मुख्यमन्त्रीको टोली रमाइलो गर्न र घुमफिर गर्न दार्चुला पुगेजस्तो छ । कुनै पनि विषय र मुद्दाबारे नाजवाफ बन्नु लज्जास्पद छ’ उहाँले भन्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here