दार्चुला,असार ८ गते ।
दार्चुलाको मालिकार्जुन गाउँपालिकाले अन्तरविद्यालय योग प्रतियोगिताको लागि मात्रै ३ लाख भन्दा बढि बजेट खर्च गरेको छ । विहिबार गाउँपालिकाले आयोजना गरेको ९ औँ अन्तराष्ट्रिय योग दिवसका लागि गाउँपालिकाले ३ लाख ५१ हजार २ सय रुपैया खर्च गरेको गाउँपालिकाले जनाएको छ । गाउँपालिका अध्यक्ष हिरा सिंह धामीको अध्यक्षतामा सम्पन्न भएको योग दिवसमा गाउँपालिकाले उक्त रकम बराबरको बजेट खर्च गरेको योग वैद्य दिवाकर जोशीले बताए । गाउँपालिका भरीका ११ वटा माध्यमिक विद्यालयका ५५ जना विद्यार्थी, ११ जना सम्बन्धित विद्यालयका प्रधानाध्यापक ११ जना विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, ११ जना सम्बन्धित विद्यालयका योग फोकल पर्शन, शिक्षक सहित झण्डै ३ सय जनाको उपस्थिति रहेको सभामा गाउँपालिकाले ३ लाख ५१ हजार २ सय रुपैया खर्च गरेको बताए । गाउँपालिकाले यो भन्दा पहिले पनि ११ वटा सामुदायिक विद्यालयमा संञ्चालन गरेको योग शिक्षाका लागि ३ लाख ९३ हजार रुपैँया बजेट सकेको पाइएको छ । उक्त बजेट मार्फत १ लाख ५० बराबरको सम्बन्धीत विद्यालयलाई ग्रिननेट वितण मात्रै गरेको बताइएको छ । योग दिवस र विद्यालयमा संचालन गरेको योग अभ्यास गरि दुवै कार्यक्रममा ७ लाख ४४ हजार २ सय रुपैया बजेट खर्च गरेको छ । विहिबार संञ्चालन भएको अन्तरविद्यालय योग कार्यक्रम मार्फत मालिकार्जुन मावि मड विद्यालय प्रथम भएको छ । यस्तै सरस्वती मावि उकु विद्यालय दुतिय तथा निलपतालेश्वर मावि भर्तोला तृतिय भएको छ । गाउँपालिकाले चालु आर्थिक वर्ष २०७९÷०८० को आफ्नो नीति तथा कार्यक्रममा विद्यार्थीहरूलाई योगा अभ्यास गराउने भनी उल्लेख गरेको थियो । सोही आधारमा पालिकाभित्र रहेका ११ वटा माध्यमिक विद्यालयहरूमा पढाइसँगै योग समेत सिकाएको गाउँपालिकाले जनाएको छ । विद्यार्थीलाई योग र ध्यानका माध्यमबाट पढाइमा समेत टेवा पुग्नुका साथै स्वास्थ्य शरीर र स्वास्थ्य मस्तिष्क विकासमा समेत सहयोग पुग्ने उद्देश्यले योग सिकाउन थालिएको गाउँपालिकाको आयुर्वेद शाखाका वैद्य निरीक्षक दिवाकर जोशीले बताए । सुरुमा दुईवटा समुह बनाएर प्रत्येक माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई पाँच कार्यदिनको आधारमा योग अभ्यास सिकाइएको उहाँले बताउनु भयो । यसैविच गाउँपालिकाले राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा मेडल प्राप्त गरेका खेलाडीहरुलाई सम्मान गरिएको छ । उनीहरुलाई गाउँपालिकाले ५ हजार ३ हजार र २ हजारका दरले पुरुस्कार वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।