महाकाली कोरिडोरमा २३ किलोमिटर नयाँ ट्रयाक निर्माण

0
355

दार्चुला, भाद्र १९ गते ।
आर्थिक वर्ष २०८०÷८१ मा महाकाली कोरिडोरअन्तर्गत २३ किलोमिटर नयाँ सडक निर्माण गरिएको छ । कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको टिंकर नाका जोड्ने गरी महाकाली कोरिडोर निर्माण भइरहेको छ ।
महाकाली कोरिडोर सडक योजनाअन्तर्गत गत आर्थिक वर्षमा २३ किलोमिटर नयाँ सडकको ट्रयाक निर्माण भएको योजना प्रमुख लक्ष्मणदत्त जोशीले बताउनुभयो । कञ्चनपुरमा साढे ४ किलोमिटर, डडेल्धुरामा २ किलोमिटर, बैतडीमा १२ किलोमिटर र दार्चुलामा साढे ४ किलोमिटर नयाँ सडक निर्माण गरिएको योजनाले जनाएको छ ।
गत वर्षमा २० किलोमिटर नयाँ ट्रयाक निर्माणको लक्ष्य रहेकोमा लक्ष्यभन्दा बढी भौतिक प्रगति भएको योजना कार्यालयका सुचना अधिकारी एवं इन्जिनियर दिपक विष्टले बताउनुभयो । ‘कञ्चनपुरदेखि दार्चुलासम्मको सबै ठाउँमा ट्रयाक निर्माण गर्ने ठेक्का लागिसकेको छ, गतवर्ष अझै थप निर्माण हुनसक्थ्यो तर बजेट अभावले हुन सकेन’ उहाँले भन्नुभयो ।
दार्चुलाको लेकम गाउँपालिकाअन्तर्गत सुगरखाली, कुशकाणा र कौलती क्षेत्रमा सडक निर्माण गरिएको छ । लेकम गाउँपालिका वडा नम्बर ३ को गाणागाउँदेखि गोयलाडसम्मको करिब ४ किलोमिटर सडक निर्माण गर्न बाँकी छ । ‘लेकम गाउँपालिकाको वडा नम्बर ३ क्षेत्रमा करिब ४ किलोमिटर सडक निर्माण गरेपछि उकु, लाली हुँदै मकन्नासम्म बनाइएको सडक जोडिने अवस्था छ’ इन्जिनियर विष्टले भन्नुभयो ।
उकुदेखि लालीसम्म महाकाली कोरिडोरको निर्धारित एलाइनमेन्टमा सडक निर्माण बाँकी भए पनि प्रदेश सरकारको बजेटले हाल महाकाली नदी किनारैकिनार उकुदेखि लालीसम्मको सडक बनाइएको छ । लालीदेखि मकन्नासम्मको ६ किलोमिटर लामो सडक भने कोरिडोरकै एलाइनमेन्टमा खोलिएको छ ।
गत आर्थिक वर्षमा कोरिडोरअन्तर्गत साढे २ किलोमिटर सडक कालोपत्रे गरिएको छ । पाँच किलोमिटर कालोपत्रे गर्ने वार्षिक लक्ष्य रहेकोमा दार्चुलाको खलंगा–मोहती क्षेत्रमा १ किलोमिटर लामो आरसिसि ढलान र डडेल्धुरामा सादनी क्षेत्रमा १ दशमलव ६ किलोमिटर सडक कालोपत्रे गरिएको योजनाले जनाएको छ ।
आर्थिक वर्ष २०८०÷८१ मा १० किलोमिटर सडकमा ग्राभेल गर्ने लक्ष्य राखिएकोमा ९ किलोमिटर खण्ड ग्राभेल गरिएको छ । चालु आर्थिक वर्षमा २० किलोमिटर सडकको ट्रयाक निर्माण गर्ने र ५ किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य राखिएको योजना प्रमुख लक्ष्मणदत्त जोशीले बताउनुभयो ।
कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको तुषारपानीसम्मको ३ सय ३४ किलोमिटर सडक निर्माणको जिम्मेवारी कोरिडोर योजनाले पाएको छ । तुषारपानीदेखि टिंकर भञ्ज्याङसम्मको ७९ किलोमिटर लामो सडक निर्माणमा भने नेपाली सेना परिचालन गरिएको छ । कोरिडोरको कार्यक्षेत्रमध्ये ७० देखि ७५ किलोमिटर ट्रयाक निर्माण गर्न बाँकी रहेको छ । कोरिडोर खण्डमा सडक निर्माणको ठेक्का व्यवस्थापन भइसके पनि पर्याप्त बजेट उपलब्ध नहुँदा सडक निर्माणमा भौतिक प्रगति सुस्त छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here