महाकाली कोरिडोरमा बजेट सकियो

0
284

दार्चुला, वैशाख १५ गते ।
नेपाल सरकारले उच्च प्राथमिकतामा राखेको तथा रणनीतिक र व्यापारिक महत्वको महाकाली कोरिडोरमा बजेट सकिएको छ । चालू आर्थिक वर्षमा ४१ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएकोमा ४० करोड १७ लाख रुपैयाँ खर्च भइसकेको छ ।
कञ्चनपुरको ब्रह्मदेवदेखि डडेल्धुरा र बैतडीको भूगोल हुँदै दार्चुलाको तुषारपानी सम्मको ३ सय ३४ किलोमिटर सडक निर्माणाधिन छ । सडक निर्माणमा विनियोजित बजेट सकिएपछि थप २५ करोड रुपैयाँ बजेट माग गरिएको महाकाली कोरिडोर सडक योजनाका प्रमुख दीपक सुनारले बताउनुभयो ।
कोरिडोरअन्तर्गत सबैक्षेत्रमा ट्रयाक खोल्न ठेक्का सम्झौता भइसकेको छ । कञ्चनपुर जिल्लाअन्तर्गत पर्ने ११ किलोमिटर लामो सडकको ट्रयाक निर्माण पूरा भएको छ । डडेल्धुरा, बैतडी र दार्चुलाको भूगोलमा सडकको नयाँ ट्रयाक खोल्ने कार्य भइरहेको छ ।
सडक निर्माणमा बजेट अभाव भएपछि गत फागुनमै सडक विभागमार्फत थप २५ करोड बजेट मागिएको योजना प्रमुख सुनारले बताउनुभयो । ‘सबैक्षेत्रमा ट्रयाक निर्माण गर्न ठेक्का व्यवस्थापन भइसकेको छ, निर्माण कार्यको भुक्तानी गर्न बजेट अभाव छ’ उहाँले भन्नुभयो ।
कुल ३ सय ३४ किलोमिटर लामो कोरिडोरमध्ये ७३ किलोमिटर लामो सडकको ट्रयाक निर्माण गर्न बाँकी छ । व्यास गाउँपालिकाको तुषारपानीदेखि टिंकर भञ्ज्याङसम्मको सडक निर्माण भने नेपाली सेनामार्फत भइरहेको छ ।
चालू आर्थिक वर्षमा निर्धारित सबैजसो क्रियाकलापहरुमा बजेट खर्च भइसकेको छ । सडक कालोपत्रे गर्ने कार्यमा ३ करोड बजेट रहेकोमा ६ सय ३७ रुपैयाँ मात्रै खर्च हुन बाँकी छ । त्यसैगरी मेशिनरी टेवा पर्खाल र ग्याबिन टेवा पर्खाल निर्माण गर्न ३ करोड ५० लाख रुपैयाँ छुट्याइएकोमा ३ लाख ५८ हजार रुपैयाँ मात्रै खर्च हुन बाँकी छ ।
महाकाली कोरिडोर सडक योजनाका अनुसार सडकको नयाँ ट्रयाक खोल्ने कार्यका लागि २ करोड ५० लाख रुपैयाँ राखिएकोमा ३५ हजार रुपैयाँ मात्रै बजेट बाँकी छ । नाली निर्माण कार्यमा २ करोड ६० लाख बजेट राखिएकोमा २३ लाख १५ हजार रुपैयाँ खर्च हुन बाँकी छ ।
चालू वर्षको बजेटमध्ये सबैभन्दा बढी रकम सडक निर्माण तथा स्तरोन्नती कार्यमा छुट्याइएको थियो । यसका लागि २८ करोड ५० लाख बजेट राखिएकोमा वैशाख १० गतेसम्म १६ लाख ५५ हजार रुपैयाँ मात्रै खर्च हुन बाँकी छ । यो क्रियाकलापअन्तर्गत सडक कालोपत्रेका ठेक्काहरु सञ्चालनमा छन् ।
योजना कार्यालयका अनुसार वायो इन्जिनियरिङमा राखिएको ४० लाख, पहिरो सफा गर्ने कार्यका लागि राखिएको २३ लाख ७ हजार र विमासहित विविध कार्यका लागि राखिएको ५० लाख रुपैयाँ खर्च हुन बाँकी छ ।
चालू वर्षमा प्राप्त बजेटमध्ये गत भदौं महिनामा १७ करोड रुपैयाँ गतवर्षको निर्माण कार्यको भुक्तानी गरिएको योजना प्रमुख दिपक सुनारले बताउनुभयो । ‘गतवर्षको भुक्तानी दायित्वले हामी दबावमा छौं, थप बजेटका लागि पहल भइरहेको छ बजेट आएपछि निर्माण कार्यले गतिलिन्छ’ उहाँले भन्नुभयो ।
योजनामा बजेट सकिएपछि ठेक्का व्यवस्थापन भइसकेको स्थानमा थप निर्माण कार्य रोकिएको छ । बजेट भुक्तानीको सुनिश्चितता नभएपछि निर्माण कम्पनीले उधारोमा काम गर्न मानिरहेका छैनन् । सडक विभागबाट बजेट थपिने सम्भावना रहेको योजना प्रमुख सुनारको भनाई छ । ‘बजेट थपिन्छ फिल्डमा काम गराउनुहोस् भन्ने विभागको आदेश छ तर उधारोमा थप काम गर्न निर्माण कम्पनीहरुले आनाकानी गरिरहेका छन्’ उहाँले भन्नुभयो ।
यो वर्षको कुल विनियोजन ४१ करोड ५० लाखमध्ये वैशाख दोस्रो सातासम्म ४० करोड १७ लाख १६ हजार रुपैयाँ खर्च भइसकेको छ । १ करोड ३२ लाख ८३ हजार बजेट खर्च हुन बाँकी देखिएपछि निर्धारित क्रियाकलापाहरुमा मात्रै उक्त बजेट खर्च हुने योजना कार्यालयले जनाएको छ ।
चालू वर्षमा कोरिडोरअन्तर्गत २० किलोमिटर नयाँ सडक निर्माण, ५ किलोमिटर दार्चुला खण्डमा ग्राभेल निर्माण तथा दार्चुला र डडेल्धुरा खण्डमा ५ किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य राखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here