मोदीको लिपुलेक अभिव्यक्तिमा परराष्ट्र मन्त्रालयले ध्यानाकर्षण गराएको भन्दै मन्त्री बडु किन झुटो बोले ? 

0
625

बिरा दत्त भट्ट, 

दार्चुला, पुष ३० गते । 

नेपाल सरकारका कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लिपुलेकको विषयमा गरेको टिप्पणीमा नेपालको परराष्ट्र मन्त्रालयले भारतको ध्यानाकर्षण गराएको भन्दै सफेद झुट बोलेका छन् । 

विहीबार नेपाल प्रेस युनियन दार्चुलाले सदरमुकाम खलंगामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बडुले भारतीय प्रधानमन्त्री मोदीको अभिव्यक्तिबारे परराष्ट्र मन्त्रालयले भारतलाई ध्यानाकर्षण गराएको बताएका छन् । 

‘नरेन्द्र मोदीजीले लिपुलेक भएर मानसरोवर जाने बाटो अगाडि बडाउदैछौ भनेको सुनिएको छ, यस विषयमा हाम्रो परराष्ट्र मन्त्रालयले आफ्नो जिज्ञासा भारतलाई राखेको छ, यसमा मानसरोवर यात्राको प्रसंग जोडिएको छ, प्रसंग जे भएपनि त्यो हाम्रो भूमि हो’ मन्त्री बडुले भन्नुभयो ।
यस विषयमा आगामी नेपाल भारत बैठकमा कुरा उठाइने मन्त्री बडुको भनाई छ । 

मन्त्री बडुले दाबी गरेजस्तो नेपालको परराष्ट्र मन्त्रालयले भारतलाई कुनै औपचारिक ध्यानाकर्षण वा पत्राचार गरेको छैन । 

मोदीको अभिव्यक्तिबारे परराष्ट्र मन्त्रालय जानकार रहेको परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले बताउनुभयो ।  ‘प्रधानमन्त्री स्वास्थ्यका कारण आइसोलेसनमा हुनुहुन्छ, परराष्ट्र मन्त्रालयले उपयुक्त समयमा यस बारेमा बोल्छ’ उहाँले भन्नुभयो । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अतिक्रमित नेपाली भूमिबारे गत पुष १५ गते उत्तराखण्ड राज्यको नैनीताल जिल्लाको हल्द्वानीमा आयोजित कार्यक्रममा पहिलो पटक सार्वजनिक अभिव्यक्ति दिएका थिए । मोदीले आफू नेतृत्वको सरकारले लिपुलेक जोड्ने सडक निर्माण गरेको र यसको विस्तार कार्य भइरहेको बताएका छन् । यस विषयमा नेपाल सरकारले हाल सम्म आधिकारिक रुपमा कुनै धारणा सार्वजनिक गरेका छैन ।