मन्त्री धामीले आचार संहिता विपरित चुनावी प्रचार गरेका हुन् ?

0
923

दार्चुला, बैशाख २१ गते ।


सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री मानबहादुर धामीले दार्चुलाको नौगाड गाउँपालिका पुगेर गठबन्धनका उम्मेदवारहरूको पक्षमा भोट मागेका छन् । निर्वाचन आचार संहिता २०७८ को दफा ५ ले निर्वाचनमा आफै उम्मेदवार भएका अवस्थामा बाहेक नेपाल सरकार, प्रदेश सरकारका मन्त्री तथा स्थानीय कार्यपालिका पदाधिकारीले कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष विपक्षमा प्रचार प्रसारमा खेल्न हुन वा प्रचार प्रसार गर्न नहुने स्पष्ट व्यवस्था गरेको छ ।

बुधबार नौगाड गाउँपालिकाको सिप्टीमा भएको चुनावी सभालाई सम्बोधन गर्दै मन्त्री धामीले पहिलो मत हसिया हतौडामा र दोस्रो मत रुखमा हाल्न उपस्थित कार्यकर्ता तथा नागरिकलाई अनुरोध गरेका छन् । मन्त्री धामी नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश सदस्य तथा दार्चुलाका समन्वय समिति संयोजक हुन् । नेकपा एमालेका कार्यकर्ताहरुले समाजिक सञ्जालमा मन्त्री धामीले निर्वाचन आचार संहिताको उलङ्घन गरेको आरोप लगाएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आचार संहिता उलङ्घन सम्बन्धी कुनै उजुरी नआएको मुख्य निर्वाचन अधिकृत कोमल प्रसाद आचार्यले जानकारी दिनुभयो । ‘चुनावको समयमा नेताहरुको कुनै मुभमेन्ट नहुने होइन, लाभको पदमा रहेकाले सरकारी स्रोत साधनको प्रयोग गरि निर्वाचन प्रभावित पार्न भने पाइदैन’ उहाँले भन्नुभयो ।
नौगाड गाउँपालिकामा अध्यक्ष पदमा नेकपा माओबादी केन्द्रबाट दलजित सिह ठगुन्ना र उपाध्यक्ष पदमा नेपाली काङ्ग्रेसबाट जगतसिह ठगुन्ना चुनावी मैदानमा छन् । नेकपा एमालेबाट अध्यक्ष पदमा नौगाड गाउँपालिका निर्वतमान अध्यक्ष प्रेम सिह धामी र निर्वतमान उपाध्यक्ष गौरी देवी ठगुन्ना चुनावी मैदानमा छन् ।