दार्चुला, फागुन १६ गते ।
दार्चुलामा प्रतिनिधिसभा सदस्यको निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सञ्चालन भइरहेको बताइएको छ । शुक्रवार पत्रकार सम्मेलन आयोजना गरी मुख्य निर्वाचन अधिकृत र जिल्ला सुरक्षा समितिले निर्वाचनका लागि शान्तिपूर्ण र भयरहित वातावरण रहेको बताएको छ ।
निर्वाचनको घोषणा भएदेखि जिल्लास्तरमा पहिलोपटक निर्वाचन सम्बन्धि पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ । जिल्ला प्रशासन कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उपस्थित भएका मुख्य निर्वाचन अधिकृत भुवन गिरीले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको बताउनुभयो ।
मतदान केन्द्रमा जनशक्ति पठाउने कार्य समेत सुरु भइसकेको उहाँले जानकारी दिनुभयो । ‘मतदान अधिकृतसहितको कर्मचारी टोलीलाई फागुन १४ गतेदेखि नै नियुक्तिपत्र दिने कार्य सुरु भइसकेको छ, १८ गतेभित्र सबै मतदान केन्द्रमा कर्मचारी टोली पुगिसक्ने छन्’ उहाँले भन्नुभयो ।
जिल्लाका सबै मतदान केन्द्रहरुमा फागुन १८ गते सर्वदलिय बैठक बसेर मतदानको आवश्यक तयारी र छलफल गरिने तालिका छ । निर्वाचनमा परिचालन हुने सबै जनशक्तिको छनौट कार्य भइसकेको, तालिम सञ्चालन गरिएको र निर्वाचन सामग्री वितरण कार्य समेत भइरहेको बताइएको छ ।
शान्तिपूर्ण र भयरहित वातावरणमा मतदान गराउन सुरक्षा व्यवस्थापनको आवश्यक तयारी गरिएको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले बताउनुभयो । ‘सुरक्षा प्रबन्धको सबै तयारी पूरा भइसकेको छ, कुनै पनि स्थानमा असुरक्षा छैन’ उहाँले भन्नुभयो ।
‘ढुक्का भएर मतदानमा सहभागी हुन सबैमा अपिल छ । निर्वाचन प्रक्रियामा कुनै बाधा, अवरोध र समस्या हुँदैन । सबै सरोकारवाला पक्षबाट निर्वाचनमा सहयोग प्राप्त भइरहेको छ’ प्रजिअ पौडेलले भन्नुभयो ।
निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै जिल्लाभरीबाट २ सय ४७ वटा नीजि हातहतियारहरु प्रहरीले संकलन गरेको छ । सरकारबाट लाइसेन्स प्राप्त गरी स्थानीयले आफुसंग राखेर हतियारहरु निर्वाचन अवधिका लागि प्रहरीमा बुझाइएका हुन् ।
निर्वाचनका लागि दार्चुला जिल्लाभरी ८ सय ५७ जना कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । दुइटा अस्थायीसहित १ सय ४५ मतदान केन्द्रमा एक÷एक जना मतदान अधिकृत र सहायक मतदान अधिकृत खटाइएका छन् । निर्वाचन आयोगले निर्धारण गरेको मापदण्डका आधारमा ४ सय २२ जना सहायक कर्मचारी र १ सय ४५ जना कार्यालय सहयोगी पनि मतदान केन्द्रहरुमा पठाइदैछन् ।
निर्वाचन सञ्चालन एवं व्यवस्थापनका लागि आवश्यक सबै सामग्री तयारी अवस्थामा रहेको जिल्ला निर्वाचन अधिकारी प्रदिप सिंह धामीले बताउनुभयो । निर्वाचनमा सामग्री र जनशक्ति व्यवस्थापनको कार्य पूरा भइसकेको उहाँको भनाई छ ।
मतदानस्थलमा मतपेटिका ढुवानीको योजना बनाइएको र मतगणनाको लागि समेत आवश्यक तयारी भइरहेको जनाइएको छ । सबै मतदान केन्द्रहरुबाट मतपेटिका ढुवानी भइसकेपछि खलंगास्थित महेन्द्र मावि खलंगामा मतगणना गरिनेछ ।
पत्रकार सम्मेलनमा मुख्य निर्वाचन अधिकृत भुवन गिरी, प्रजिअ पौडेलसहित सबै सुरक्षा निकायका जिल्लास्थित प्रमुखहरुको उपस्थिति थियो । मदिरा नियन्त्रण, यातायात व्यवस्थापन, मतदान केन्द्रमा मोबाइलको प्रयोग, वारेसको मत हाल्दा आउन सक्ने विवाद लगायतबारे पत्रकारहरुले प्रश्न र सुझाव राखेका छन् ।








