भाइको चुनावी प्रचार गर्न दार्चुला आइपुगे पूर्व आइजिपी

0
42

दार्चुला, माघ २३ गते ।
नेपाल प्रहरीका पूर्व आइजिपी रमेश चन्द ठकुरी भाइको चुनावी प्रचारप्रसारका लागि दार्चुला आइपुगेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट दार्चुलामा प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका भाइ राजेश चन्दको प्रचार कार्यक्रमका लागि पूर्व आइजिपी ठकुरी शुक्रवार सदरमुकाम खलंगा आइपुगेका हुन् ।
महेन्द्रनगरबाट बनबासा हुँदै भारतीय मोटरमार्ग भएर पूर्व आइजिपी ठकुरी गृहजिल्ला दार्चुला आइपुगेका छन् । आफ्नै सहोदर भाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार भएपछि प्रचारप्रसार गर्नका लागि पूर्व आइजिपी ठकुरीको भ्रमण भएको राप्रपाका जिल्ला उपाध्यक्ष चक्रवहादुर बमले बताउनुभयो । ठकुरीले शनिवार पूर्व सुरक्षाकर्मी र शुभचिन्तकहरुसंग खलंगामा भेटघाट तथा छलफल गर्ने कार्यक्रम छ ।
लेकम गाउँपालिका–३ लाली जन्मथलो भएका राप्रपाका उम्मेदवार राजेश चन्द नेपाली सेनाका अवकाशप्राप्त महासेनानी हुन् । अढाई वर्षअघि राप्रपामा आवद्ध भएका चन्दलाई राप्रपाले यसपटक दार्चुलाबाट उम्मेदवार बनाएको छ ।
पूर्व आइजिपी ठकुरीले दार्चुलाका विभिन्न गाउँवस्ती भ्रमण गर्ने राप्रपा जिल्ला उपाध्यक्ष बमले बताउनुभयो । फागुन २१ गतेको चुनाव अवधिभर दार्चुलामा बसेर प्रचारप्रसार गर्न पूर्व आइजिपी ठकुरीसंग अनुरोध गरिने उहाँको भनाई छ ।
पूर्व आइजिपी चन्द एकजना आफन्त र सुरक्षागार्डसहित दार्चुला सदरमुकाम पुगेका छन् । नेपाल प्रहरीका पूर्व आइजिपीहरुलाई एकजना सुरक्षागार्ड दिइदैआएको छ । ठकुरी नेपाल प्रहरीमा २०६५ फागुनदेखि २०६८ जेठसम्म आइजिपी रहेका थिए ।
ठकुरीको कार्यकालमा दार्चुला जिल्लाभरी प्रहरी सुरक्षाकर्मीको दरबन्दी थपिएको थियो भने लटिनाथ, हुती, लाली र रिठाचौपातामा एकैसाथ इलाका प्रहरी कार्यालय स्थापना गरिएका थिए । आफ्नो गृहजिल्लामा तत्कालिन आइजिपी ठकुरीले प्रहरी दरबन्दी बढाउन र इलाका प्रहरी कार्यालय स्थापना गर्न योगदान गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here