बालबालिकालाई टाइफाइड विरुद्धको खोप दिइने

0
605

दार्चुला, चैत्र १८ गते । 
दार्चुलामा १५ महिना देखि १५ बर्ष उमेर समुहका बालबालिकाहरुलाई टाइफाइड विरुद्धको खोप दिइने दिइन लागेको छ । बहुवर्षीय खोप कार्ययोजना सन् २०१७–२१ को लक्ष्यअनुरूप यही चैत २५ देखि ३० गतेसम्म खोप कार्यक्रम सञ्चालन हुने जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । 

शुक्रबार जिल्ला प्रशासन कार्यालय दार्चुलामा बसेको जिल्ला खोप समन्वय समितिको बैठकमा प्रभावकारी रुपमा अभियान सञ्चालन बारे छलफल गरिएको छ । चैत २५ गतेदेखि देशैभर सुरु हुन गइरहेको खोप अभियान कार्यक्रम अन्तर्गत जिल्लाका ३६ हजार ९ सय ४० बालबालिकालाई टाइफाइड विरुद्धको खोप दिइने स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टले जानकारी दिनुभयो । टाइफाइड विरुद्धको खोप लक्षित उमेर समुहका बालबालिकालाई जिल्लाका सम्पूर्ण विद्यालय तथा स्वास्थ्य संस्थाबाट प्रदान गरिने छ ।
अभियानको माध्यमबाट १५ महिनादेखि १५ वर्षमुनिका सबै बालबालिकालाई टाइफाइड विरुद्धको खोप प्रदान गर्ने र त्यसपछि नियमित खोपमा यो खोप समावेश गरी १५ महिनाको उमेरमा १ मात्रा खोप निरन्तर उपलब्ध गराउने लक्ष्य राखिएको छ । दार्चुलामा ५ दिनको अभियान सञ्चालन गरेर खोप दिइसक्ने लक्ष्य रहेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । ४ सय २१ ओटा खोप केन्द्र कायम गरिएकोमा ८० प्रतिशत केन्द्र विद्यालयमा रहेका छन् ।
यो खोप ९६ दशमलव ९० प्रतिशत प्रभावकारी मानिएको छ । प्रमुख भट्टका अनुसार खोप अभियानका लागि १ सय ४३ स्वास्थ्यकर्मीलाई तालिम दिइएको छ ।