प्रहरीमा मुद्दा दर्ता संख्या बढ्यो

0
201

दार्चुला, भाद्र २५ गते ।
जिल्ला प्रहरी कार्यालय दार्चुलामा मुद्दा दर्ताको संख्या बढेको छ । आर्थिक वर्ष २०८०÷८१ मा अघिल्ला दुई वर्षभन्दा मुद्दाको संख्या बढेको कार्यालयले जनाएको छ ।
आर्थिक वर्ष २०७८÷७९ मा मुद्दा दर्ता संख्या १ सय २६ र आर्थिक वर्ष २०७९÷८० मा यो संख्या १ सय ३५ रहेको थियो । आर्थिक वर्ष २०८०÷८१ भने मुद्दा दर्ता संख्या १ सय ५२ पुगेको दार्चुला प्रहरी प्रमुख एवं डिएसपी शिववहादुर सिंहले बताउनुभयो ।
प्रहरीमा दर्ता गरिएका मुद्दामध्ये अभद्र व्यवहार सम्बन्धि सबैभन्दा बढी ५१ वटा छन् । अघिल्ला वर्षमा अभद्र व्यवहार सम्बन्धि मुद्दा संख्या २९–२९ वटा थियो । चोरी सम्बन्धिका मुद्दा संख्या पनि बढेको छ । गतवर्ष चोरीका ११ मुद्दा दर्ता गरिएका छन् । अघिल्ला वर्षहरुमा भने चोरीका मुद्दा संख्या ३÷३ वटा थियो ।
लागू औषध सम्बन्धिका मुद्दा पनि बढेका छन् । आर्थिक वर्ष २०८०÷८१ मा लागू औषध सम्बन्धिका ११ मुद्दा दर्ता गरिएका छन् । आर्थिक वर्ष २०७८÷७९ मा लागू औषधका दुइटा र आर्थिक वर्ष २०७९÷८० मा ५ मुद्दा दर्ता गरिएका थिए । लागू औषध मुद्दामा गतवर्ष २२ जना पक्राउ गरिएका छन् भने अघिल्ला वर्षहरुमा यो संख्या क्रमशः २ र ४ मात्रै थियो ।
जिल्लाभरी प्रहरीको परिचालन र सक्रियता बढेकाले मुद्दाको संख्या बढेको डिएसपी सिंहको भनाई छ । शान्तिसुरक्षाको स्थिति सन्तोषजनक रहेको र जिल्लाभरीका सबै सरोकारवालाहरुबाट सकारात्मक सहयोग प्राप्त भइरहेको उहाँले बताउनुभयो ।
स्थानीय सरोकारवालाहरुकै सहयोगमा गतवर्ष मालिकार्जुन जात्रासहितका मेलापर्वहरुमा मदिरा निषेधको अभियान सफल भएको प्रहरीको भनाई छ । रात्रीको समयमा मनाइने जात्रा पर्वका साथै गोकुलेश्वर र जोलजिवि मेला तथा गौरा लगायतका पर्वहरु शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको प्रहरीको समीक्षा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here