प्रधानमन्त्रीले सोधे– ‘कैलाशको जल हो कि मानसरोवरको ?’

0
131

दार्चुला, पुष २५ गते ।
प्रधानमन्त्री भेट्न बालुवाटार पुगेको दार्चुलाको डेलिगेशनमा सहभागी व्यासक्षेत्रका वासिन्दाले प्रधानमन्त्री ओलीलाई मानसरोवरको जल उपहार दिएका छन् । पवित्र तिर्थस्थलको प्रसादको रुपमा प्रधानमन्त्रीलाई जल दिइएको हो । प्रधानमन्त्रीले जलको बोतल ग्रहण गर्दै सोधे– ‘कैलाशको जल हो कि मानसरोवरको ?’
नेपाल–चीन हिमालय मैत्री समाजका सदस्य योगेशसिंह बोहराले प्रधानमन्त्रीलाई जल दिएका थिए । पवित्र मानसरोवरको जल भन्दै प्रधानमन्त्रीलाई बोतल दिइएको थियो । लगत्तै प्रधानमन्त्री ओलीले ‘यो जल कैलाशको हो कि मानसरोवरको ?’ भन्दै प्रश्न सोधेका थिए ।
डेलिगेशनमा सहभागी व्यासका स्थानीयले कैलाश र मानसरोवर दुबै स्थानको जल मिसाएर प्रसादको रुपमा ल्याइएको जानकारी दिएका थिए । त्यसपछि बोतलको बिर्को खोलेर प्रधानमन्त्रीले जल हेरे, हातमा खन्याएर आफ्नो शिरमा पनि छर्किए । पवित्र जल भए पनि आफ्नो स्वास्थ्यका कारण जल पिउन असमर्थ रहेको पनि प्रधानमन्त्रीले बताए ।
पवित्र कैलाश–मानसरोवरको अवस्थितिबारे आफु जानकार रहेको देखाउन पनि प्रधानमन्त्रीले कैलाशको जल हो कि मानसरोवर भन्ने प्रश्न गरेको बुझिएको छ । मानसरोवरबाट कैलाश पर्वतको दूरी १० किलोमिटर उत्तरतर्फ रहेको छ । मानसरोवरमा स्वच्छ र पवित्र जल रहेको हुन्छ भने कैलाश पर्वत हिमालयले ढाँकिएको छ । कैलाश पर्वतको दक्षिणतर्फ दर्चिन बजार छेउमा कैलाश पर्वतबाट बग्दैआएको एउटा जलधारा (खोला) छ । त्यसैगरी कैलाश पर्वतको पश्चिमतर्फको यमद्वार नजिक पनि अर्को जलधारा छ । दर्चिन र यमद्वार दुबै स्थानका जलधाराको पानी मानसरोवरमा पुग्दैन । मानसरोवरको छेउमा रहेको राक्षसतालमा यी दुबै स्थानको जलधारा पुग्ने गरेको अनुमान छ ।
कैलाश मानसरोवरको दर्शन गर्ने आफ्नो इच्छा रहेको प्रधानमन्त्रीले बताएका छन् । दार्चुलाको टिंकरमा अध्यागमन कार्यालय स्थापनापछि कैलाश मानसरोवर यात्राको ढोका खुल्नेबारे समेत डेलिगेशनका सहभागीसंग कुरा गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here