प्रधानमन्त्रीले भनेअनुसार ५ करोड खर्चेर व्यासको पैदलबाटो खुल्छ ?

0
56

दार्चुला, चैत्र ३ गते ।
प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २५ गते सुदूरपश्चिम प्रदेशसभालाई विशेष सम्बोधन गरेका छन् । पहिलोपटक प्रदेशसभालाई सम्बोधन गर्नेक्रममा प्रधानमन्त्री ओलीले त्रिदेशीय सिमाक्षेत्रमा रहेको दार्चुलाको व्यास जोड्ने पैदलबाटोको प्रसंग पनि निकालेका छन् ।
गएको माघ १४ गते प्रधानमन्त्रीको विशेष पहलमा अर्थ मन्त्रालयले व्यासको पैदलबाटो निर्माण गर्न व्यास गाउँपालिकालाई ५ करोड बजेट उपलब्ध गराइसकेको छ । शहरी विकास मन्त्रालयअन्तर्गतको स्थानीय पूर्वाधार विभागको ५० लाख रुपैयाँ समेत गरेर व्यासक्षेत्र जोड्ने पैदलबाटो खुलाउन गाउँपालिकालाई ५ करोड ५० लाखको अख्तियारी प्राप्त भएको छ ।
धनगढीमा प्रदेशसभालाई सम्बोधन गर्नेक्रममा प्रधानमन्त्रीले दार्चुला सदरमुकाम खलंगाबाट व्यासको छाङरु जाने गोरेटोबाटोलाई महत्व दिएर ५ करोड बजेट दिइएको बताएका छन् । ‘छाङरु जान कमसेकम पारी (भारत)बाट जान नपरोस्, यतै (नेपाल)बाट जान सकियोस् भनेर स्थानीयवासी र गाउँपालिकाको मागअनुसार बजेट दिइएको’ प्रधानमन्त्रीको भनाई छ । भारतीय बाटो भएर यात्रा गर्दा ‘स्थानीयले ह्युमुलेशन (अपमान) खेप्नुपरेको अवस्थालाई हटाउन पैदलबाटोलाई महत्व दिइएको’ प्रधानमन्त्रीले बताउनुभयो ।
‘त्यहाँका स्थानीय जनता, स्थानीय पालिकाको मागलाई ध्यानमा राखेर गोरेटो मात्रै खोल्नका लागि पनि ५ करोड रुपैयाँ यसपल्ट हामीले छुट्याएका छौ’ प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा भन्नुभयो, ‘त्यस ५ करोडले अहिले गोरेटो खोलिनेछ । त्यसपछि पक्कीबाटो (टिंकर सडक) हामी त्यो पहिरो छिचोलेर छाङरु पुर्याउनेछौ र त्यसलाई तिंकर पुर्याउनेछौं ।’
प्रदेशसभालाई झण्डैं एक घण्टा लामो सम्बोधन गरेका प्रधानमन्त्रीले सुरुवातीमै व्यासक्षेत्रको प्रसंग निकालेका थिए । टिंकर सडकले चीनको ताक्लाकोट बजार जोड्ने व्यापारिक नाका खोलिने प्रधानमन्त्रीको भनाई छ ।
एक महिनाअघि पैदलबाटोका लागि उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलसंग प्रधानमन्त्रीले ५ करोड बजेट मागेका थिए । दार्चुलाको डेलिगेशनलाई साक्षी राखेर ओलीले अर्थमन्त्रीसंग तत्काल बाटो खुलाउन ५ करोड बजेट दिन अन्यथा आफुले चन्दा माग्नुपर्ने अवस्था आएको बताएका थिए । प्रधानमन्त्रीको आग्रहपछि अर्थमन्त्री पौडेलले दुई हप्तामै ५ करोड बजेट गाउँपालिकालाई निकासा गरेका छन् ।
व्यासको पैदलबाटो निर्माणका लागि केन्द्रले बजेट दिएपछि गाउँपालिकाले ठेक्का प्रक्रियामार्फत निर्माण कार्यको तयारी थालेको छ । बाटो निर्माणका लागि बजेट छुट्याउन पहल गर्ने पूर्वमन्त्री एवं एमाले नेता गणेश सिंह ठगुन्नासहितको टोलीले उपभोक्ता समितिमार्फत बाटो निर्माणमा बजेट खर्च गर्न चाहे पनि व्यास गाउँपालिकाले ठेक्का प्रक्रिया अघि बढाएको छ । प्रचलित ऐन र मापदण्डअनुसार बजेट खर्च गर्ने अख्तियारी भएकोले ठेक्का प्रक्रियाबाट मात्रै काम गराउन सकिने अवस्था रहेको गाउँपालिका अध्यक्ष मंगल सिंह धामीले बताउनुभयो ।
‘हाम्रा नेता र स्थानीय जनताले बाटो निर्माणको कार्य छिटो गराउने उद्देश्यले उपभोक्ता समितिमार्फत काम गराउन आग्रह गरेका छन् तर प्रचलित कानुन र मापदण्डअनुसार गर्नुपर्ने भएकोले कर्मचारीवर्गले उपभोक्ता समितिको विकल्प अस्वीकार गरेका छन्’ गाउँपालिका अध्यक्ष धामीले भन्नुभयो ।
गाउँपालिकाले पैदलबाटोको बजेट कार्यान्वयनबारे छलफल गर्न माघ २० गते र फागुन १ गते गरी दुइपटक सदरमुकाम खलंगामा सर्वपक्षीय छलफल पनि गरिएको छ । तर प्रचलित ऐन र मापदण्डअनुसार गर्नुुपर्ने भन्दै व्यास गाउँपालिकाबाट फागुन १३ गते टेण्डर निकालिएको छ । ठेक्का प्रक्रियामार्फत मात्रै बाटो निर्माणको बजेट कार्यान्वयन गर्न सकिने कार्यपालिकाको निस्कर्षपछि टेण्डर निकालिएको गाउँपालिका अध्यक्ष धामीले बताउनुभयो ।
गाँउपालिकाले टेण्डरको सुचना निकालेपछि नेता र स्थानीयवासी भने आक्रोसित भएका छन् । ठेक्का प्रक्रियामा ठेक्का व्यवस्थापन हुन मात्रै दुई महिनाभन्दा बढी समय लाग्ने भएकोले बाटो निर्माणका लागि समय अभाव हुने नेता र स्थानीयवासीको भनाई छ । प्रधानमन्त्रीकै तहबाट विशेष महत्व दिएर तत्काल पैदलबाटो निर्माण गर्न बजेट दिएकोले स्थानीय आवश्यकताअनुसार उपभोक्ता समितिमार्फत निर्माण कार्य गराउनुपर्ने नेता र स्थानीयवासीको भनाई छ ।
गाउँपालिकाले ठेक्का प्रक्रियाअघि बढाइसकेकोले अब उपभोक्ता समितिमार्फत काम गराउने अवस्था नरहेको गाउँपालिकाले जनाएको छ । ठेक्का प्रक्रियाअन्तर्गत बाटो निर्माणका लागि निर्माण व्यवसायी छनौट गरी सम्झौता गर्नका लागि आउदो वैशाख दोस्रो हप्तासम्मको समय लाग्ने अवस्था छ । ठेक्का सम्झौतापछि बाटो निर्माणका लागि दुई महिना मात्रै समय उपलब्ध भएकोले विनियोजित बजेट पूरै कार्यान्वयन हुने र बाटो निर्माण सम्पन्न हुने अवस्था नरहेको धेरैको भनाई छ ।
बाटो निर्माण गर्नुपर्ने क्षेत्रको भूगोलको अवस्था र बजेटको आकार हेर्दा पैदलबाटो निर्माणका लागि १८ महिनाको समय चाहिने निर्माण व्यवसायी संघ दार्चुलाका अध्यक्ष सर्पराज बडू बताउनुहुन्छ । तर संघीय सरकारले चालू वर्षका लागि मात्रै सशर्त अनुदानअन्तर्गत बजेट दिएकाले असारभित्रै बजेट कार्यान्वयन गरिसक्नुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो ।
व्यास गाउँपालिकाले जारी गरेको बाटो निर्माणको टेण्डरको विवरण अनुसार व्यास गाउँपालिकाको वडा नम्बर १ र २ को ३१ किलोमिटर लामो क्षेत्रमा बाटो निर्माणको कार्य गर्नुपर्ने छ । बाटो निर्माणअन्तर्गत जाली भर्ने कार्य ८ सय घनमिटर, माटो खन्नेकार्य १ हजार घनमिटर, मेसिनरी पर्खाल निर्माण ६ सय ३८ घनमिटर र ढुंगा विछ्याउने कार्य ३ सय घनमिटर गर्नुपर्ने उल्लेख छ । यसैगरी नरम चट्टान काट्नेकार्य १ सय ४० घनमिटर, कडा चट्टान काट्ने कार्य १ सय ९२ घनमिटर, ढुंगा र गिट्टीसहितको पलम कंक्रिट ४ सय ५० घनमिटर, आरसिसि निर्माण ६५ घनमिटर, सुख्खा ढुंगाको पर्खाल निर्माण १ हजार घनमिटर निर्माण गर्नुपर्ने छ । करिब ४५ क्वीन्टल फलामे छड प्रयोगको काम पनि कार्यविवरणमा राखिएको छ ।
एक महिनाको टेण्डर सुचनाको अवधि रहेकोमा त्यसपछि प्राविधिक र आर्थिक प्रस्तावको मुल्यांकन, आशयपत्रको सुचना र ठेक्का सम्झौताको समयावधि पूरा हुँदासम्म मध्य वैशाख महिना पुग्ने गाउँपालिकाका प्राविधिकहरु बताउँछन् । ढिलोगरी बजेट प्राप्त भएकोले ठेक्का प्रक्रिया पनि ढिलो थालिएकोले समयको चाप रहेको गाउँपालिकाका प्राविधिक बताउँछन् ।
ठूलो परिमाणमा निर्माण कार्य गर्नुपर्ने र दुई महिनाको अवधिमा ५ करोड बजेट खर्च गर्नुपर्ने कार्य चुनौतीपूर्ण रहेको प्राविधिक र निर्माण व्यवसायीहरु बताउँछन् । निर्धारित परिणामका सबै कार्य सम्पन्न नभए पनि सकेजतिको निर्माण कार्य गराएर व्यासको पैदलबाटो खुलाउने तयारीमा गाउँपालिका जुटेको छ ।
कडा र भिरालो चट्टान भएको ठाउँमा समेत पैदलबाटो निर्माण गर्नुपर्ने भएकोले चुनौतीपूर्ण कार्यको रुपमा यसलाई हेरिएको छ । महाकाली नदीको किनारैकिनार भएर व्यासको पैदलबाटो निर्माण गरिन लागेको छ । पञ्चायतकालमा निर्माण गरिएको पैदलबाटो पछिल्लो समय जीर्ण र भारतीय सडक निर्माणका लागि क्षतिग्रस्त भएपछि नेपालतर्फबाट आवतजावत हुन सकेको छैन ।
प्रधानमन्त्री ओलीले व्यासको पैदलबाटो खोलिने बताइरहदा बजेटको कार्यान्वयन अवस्था र समयको अभावले बाटो निर्माण सम्पन्न हुनेमा स्थानीयस्तरमा धेरैलाई आशंका छ । समयको अभाव भएपछि ठेक्का सम्झौता भएपछि सयौं कामदार परिचालन गरेर बाटो निर्माण कार्यलाई सम्पन्न गराउने सोचमा गाउँपालिका र प्राविधिकहरु रहेका छन् ।
व्यास गाउँपालिकाको वडा नम्बर २ दुम्लिङदेखि कल्जुक्षेत्र हुँदै तम्बाकु–थिइभीर–घाटिबगर क्षेत्रमा पैदलबाटो निर्माण कार्य बढी छ । दुम्लिङदेखि कल्जुसम्मको माथिल्लो बाटो निर्माण गरिने र कल्जुबाट थिइभीर हुँदै घाटिबगर क्षेत्र जोड्ने पुरानै बाटो मर्मत गरी सञ्चालन ल्याउने प्राविधिक तयारी छ । कल्जुक्षेत्रबाट थिइक्षेत्र हुँदै उच्चभेगको वैकल्पिक पैदलबाटो पनि निर्माण गरिने गाउँपालिकाका सव इन्जिनियर जगत सिंह डडालले बताउनुभयो । कुन्तिसाउ र अपिखोलाक्षेत्रको चट्टानी भूभाग फुटाएर पैदलमार्ग खोल्ने कार्य पनि गरिने तयारी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here