दार्चुला, पुष २५ गते ।
प्रधानमन्त्री निवास बालुवाटारमा पुष ११ गते राती १० बजेतिर केही व्यासवासीसहित दार्चुलाको डेलिगेशनले प्रधानमन्त्री ओलीसंग भेट गर्ने अवसर पायो । डेलिगेशनको प्रमुख उद्देश्य थियो– व्यासक्षेत्र जोड्ने पैदलबाटो सञ्चालनका लागि संघीय सरकारसंग ५ करोड बजेट माग्ने । नेपाली सेनाबाट निर्माण भइरहेको दार्चुला–टिंकर सडक निर्माण कछुवा गतिमा चलिरहेको अवस्थामा व्यासक्षेत्र जोड्ने पैदलबाटो त तत्काल सञ्चालन ल्याउन सक्नुपर्छ भन्दै दार्चुलाका एमाले–काग्रेसका नेताहरु प्रधानमन्त्री भेट्न वालुवाटार पुगेका थिए ।
बेलुकी ७ बजे नै बालुवाटार छिरेको दार्चुलाको टोलीले ३ घण्टा कुरेर राती १० बजेपछि मात्रै प्रधानमन्त्री ओलीसंग भेट्न पाएको थियो । दार्चुलाको टोलीभन्दा पहिला डोटीको डेलिगेशनले प्रधानमन्त्रीलाई भेटेको थियो । करिब १० मिनेट मात्रै डोटीको डेलिगेशनले प्रधानमन्त्री भेट गरे पनि त्यसपछि प्रधानमन्त्रीले अन्यसंग भेटघाट र चियानास्ता गरेकाले दार्चुलाको टीमले करिब ३ घण्टा कुर्नुपरेको थियो ।
डेलिगेशनको नेतृत्व गरेका पूर्वमन्त्री एवं एमाले पोलिटब्युरो सदस्य गणेश सिंह ठगुन्नाले प्रधानमन्त्रीसंग प्रमुख माग व्यासको पैदलबाटो सञ्चालनमा ल्याउन तत्काल ५ करोड बजेट उपलब्ध गराउनुपर्ने माग गरे । व्यास गाउँपालिका अध्यक्ष मंगल सिंह धामीले लिखित रुपमै स्थानीय सरकारका तर्फबाट प्रमुख मागसहित थप मागहरु पनि प्रस्तुत गरे ।
यसपटकको डेलिगेशन व्यासको पैदलबाटो सञ्चालनमा मात्रै केन्द्रीत गर्नेगरी दार्चुलाको टोलीले पूर्वतयारी गरेको थियो । टोलीमा सहभागी भएर भनाई राख्न पाउने सबैजसोले तत्कालको प्रमुख आवश्यकता नेपालकै भूमि भएर पैदलबाटोले व्यासक्षेत्रलाई जोड्नुपर्ने विषयमा भनाइ राखे । व्यासक्षेत्रको भूगोल र अवस्थितिका बारेमा जानकार प्रधानमन्त्री ओलीले गम्भीर मुद्रामा कुरा सुने । स्थानीय सरकारले पेश गरेको लिखित मागपत्र पनि ग्रहण गरे ।
१०–१५ मिनेटको उक्त भेटघाट छोट्याउने तयारी प्रधानमन्त्रीको सचिवालयले गर्यो । प्रधानमन्त्रीका स्वकीय सचिव राजेश बज्राचार्यले दार्चुलाको डेलिगेशनलाई विदा हुन इशारा पनि गरे । तर प्रधानमन्त्रीले राजेशलाई रोकेर दार्चुलाको टोलीलाई केहीबेर संगै बस्न भन्नुभयो । ‘मैले अर्थमन्त्रीलाई पनि अहिले बोलाएको छु, तपाईहरुको मागबारे अहिले नै छलफल गरेर टुंगो लगाउछु’ भन्दै प्रधानमन्त्रीले दार्चुलाको टोलीलाई थप केहीबेर बस्न आग्रह गरे ।
पाँच मिनेटमै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल पनि हलमा पुगे । ‘प्रधानमन्त्रीले थोरै पृष्ठभूमि जोडेर तत्काल व्यासको पैदलबाटो सञ्चालनमा ल्याउन ५ करोड बजेट दिन अर्थमन्त्रीलाई आग्रह गर्नुभयो’ डेलिगेशनका एक सहभागीले भन्नुभयो । सिमाक्षेत्र र राष्ट्रिय स्वाभिमान जोडिएको क्षेत्रमा पैदलबाटो समेत नहुनु गम्भीर विषय भएको प्रधानमन्त्रीको भनाइ थियो ।
‘व्यास जोड्ने पैदल बाटो सञ्चालनका लागि तत्काल ५ करोड बजेट दिन सक्नुहुन्छ कि म चन्दा माँगु ?’ प्रधानमन्त्रीले अर्थमन्त्रीलाई भन्नुभयो । ‘दार्चुलाका साथीहरुलाई मैले बाँचा गरिसके, यदि तपाइ बजेट दिन सक्नुहुन्न भने मैले भीख मागेर पनि बजेट दिनुपर्ने भयो’ प्रधानमन्त्रीको भनाई उद्दृत गर्दै डेलिगेशनमा सहभागी दार्चुलाका एक नेताले बताए । अर्थमन्त्री पौडेलले बजेट व्यवस्थापन चुनौतीपूर्ण रहे पनि यो गम्भीर विषयलाई तत्काल प्राथमिकता दिएर काम गर्ने बताएका छन् । ‘सम्माननीय (प्रधानमन्त्री) ज्यूबाट मर्जी भएपछि यो माग सम्बोधन भइहाल्छु, म पूरा गर्छु’ अर्थमन्त्री पौडेलको प्रतिक्रिया थियो ।
अर्थमन्त्री बालुवाटार पुग्नुअघि काठमाण्डौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल पनि प्रधानमन्त्री र दार्चुलाको टोलीसंगै बसेकी थिइन् । दार्चुलाको डेलिगेशनअघि नै प्रधानमन्त्रीसंग डंगोलको भेटघाट र छुट्टै विषयमा कुराकानी भएको थियो । दार्चुलाको विषयमा कुराकानी हुँदा पनि डंगोल प्रधानमन्त्रीसंगै थिइन् ।
दार्चुला र सिमाक्षेत्रका विषयमा कुराकानी भइरहदा प्रधानमन्त्री ओलीले डंगोलसंग ‘महानगरबाट पनि दार्चुलालाई बजेट हाल्नुस् न’ भन्दै आग्रह गरेका थिए । उपप्रमुख डंगोलले महानगरसंग त्यस्तो बजेट उपलब्ध नभएको तर एम्बुलेन्स भने दिनसक्ने बताएकी थिइन् । प्रधानमन्त्री ओली ‘हिड्ने पैदलबाटो नभएको ठाउँमा एम्बुलेन्सको के काम ?’ भन्दै हासेका थिए । प्रधानमन्त्री र डंगोलको संवाद दार्चुलाको टोलीले सुनिरहेको थियो । तत्काल पैदलबाटो बनाउने, त्यसपछि सडक निर्माण गरिने र आगामी दिनमा महानगरले विकट र सिमाक्षेत्रमा एम्बुलेन्स दिनेबारे सबै सहमत देखिन्थे ।
प्रधानमन्त्रीले चाँसो राखेर आफ्नो माग सुनेको र सम्बोधनको प्रयास सुरु गरेकोमा दार्चुलाको डेलिगेशनमा सहभागीहरु खुशी बनेका छन् । ‘टिंकर सडक कहिले बन्छ, कुनै ठेगान छैन, तत्काल पैदलबाटो सञ्चालनमा ल्याउन सके पनि ठूलो उपलब्धि हुन्छ’ डेलिगेशनमा सहभागी एक एमाले नेताले भने । प्रधानमन्त्री र अर्थमन्त्री दुबैले तत्काल बजेट उपलब्ध गराउने जानकारी दिएपछि केही आशा जागेको डेलिगेनमा सहभागी व्यासका एक वासिन्दाको भनाई छ ।
सरकारले तत्काल बजेट उपलब्ध गराए दुइ–तीन महिनाभित्रै पैदलबाटो सञ्चालनमा ल्याउने जानकारी दार्चुलाको डेलिगेशनले प्रधानमन्त्री र अर्थमन्त्रीलाई दिएको छ । आउदो चैत्र–वैशाख महिनाभित्रै नेपालतर्फको पैदलबाटो सञ्चालनमा ल्याएर व्यासवासीको कुञ्चा (गाइवस्तुसहितको वसाइसराइ) नेपालकै बाटो पठाउने तयारीमा स्थानीय सरकार छ ।
व्यासको पैदलबाटोका लागि बजेट माग गर्न बालुवाटार पुगेको डेलिगेशनमा काग्रेसका महासमिति सदस्य जगदीशवहादुर पाल, काग्रेस केन्द्रीय सदस्यमा चुनाव लडेका युवानेता गणेशराज भट्ट, साविक व्यास गाविसका पूर्व उपाध्यक्ष दानसिंह तिंकरीलगायत थिए । त्यसैगरी, एमालेका तर्फबाट जहेन्द्रसिंह ऐतवाल, योगेश सिंह बोहरा, खडक सिंह बडाललगायत थिए ।