दार्चुला, जेठ २१ गते ।
सुदूरपश्चिम प्रदेश सरकारले आगामी वर्ष `प्रेम सिंह धामी व्यास विशेष कार्यक्रम´ सञ्चालन गर्ने भएको छ । आइतबार सार्वजनिक गरिएको आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा व्यास विशेष कार्यक्रम सञ्चालन गर्ने घाेषणा गरिएको हाे । प्रदेश प्रमुख नजिर मियाँले नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।
चुच्चे नक्सा जारी भएपछि आर्थिक वर्ष २०७७/७८ मा पनि प्रदेश सरकारले व्यास विशेष कार्यक्रम ल्याएको थियाे । त्यतिबेलाकाे सरकारले ५ कराेड रूपैयाँ बजेट विनियोजन गरेकाे थियाे । त्यसपछिका वर्षहरूमा भने याे कार्यक्रमले निरन्तरता पाएन ।
गतवर्ष ३ कराेड बजेट विनियोजन भए पनि राजनीतिक दाउपेच र खिचातानीले कार्यान्वयन हुन सकेन । आगामी वर्ष स्वर्गीय नेता प्रेम सिंह धामीकाे नामबाट व्यास विशेष कार्यक्रम ल्याइने घाेषणा भएको छ ।
त्रिदेशीय सिमाक्षेत्र र सामरिक महत्वकाे व्यासक्षेत्रका लागि विशेष कार्यक्रम ल्याउने घाेषणा सकारात्मक भएको व्यास गाउँपालिका-१ का वडाअध्यक्ष अशाेक सिंह बाेहराले बताउनुभयाे । `देशभक्त नेताकाे नाम जाेडेर व्यास विशेष कार्यक्रम सञ्चालनकाे घाेषणा भएको सन्देशले खुशी बनाएको छ´ उहाँले भन्नुभयाे ।
बृहत् र कठिन भूगाेल भएकोले व्यास विशेष कार्यक्रममा पर्याप्त बजेट विनियोजनकाे आवश्यकता रहेको उहाँको भनाइ छ ।
नीति तथा कार्यक्रममा के-के छन् ?
प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममा प्रादेशिक विकासका योजनामा बजेट विनियोजन उच्च प्राथमिकताका रहेको उल्लेख गरिएको छ । उद्यमशीलता विकासमार्फत प्रदेशको बेरोजगारी, गरिबी न्यूनीकरण गर्ने खालका योजना तथा कार्यक्रममा प्राथमिकता दिइने उल्लेख छ ।
शिक्षा, स्वास्थ्य, खानेपानी, सञ्चारलगायत क्षेत्रको विकासका लागि प्रदेश सरकारले देखिने गरी काम गर्ने पनि नीति तथा कार्यक्रममा समेटिएको छ । कमैया कमलरी हियाका बालबालिकालाई एमबीबीएस पढ्न छात्रवृत्ति दिने कुरा पनि समेटिएको छ । लामो समयदेखि कानूनी उल्झनका कारण रोकिएको सुदूरपश्चिम प्रदेशको राजधानी निर्माणको प्रक्रिया अगाडि बढाइने भएको छ ।
सुदूरपश्चिम प्रदेशसभाको २०७५ असोज १२ गते बसेको दोस्रो अधिवेशनको ४६ औँ बैठकले कैलालीको गोदावरी नगरपालिकाको वडा नं. २ र ४ क्षेत्रमा स्थायी राजधानी बनाउने निर्णय गरेको थियो । तर, अहिले सम्म पनि त्यो कार्यान्वयन हुन सकेको छैन । यस पटक पनि सरकारले भने राजधानी निर्माणको प्रक्रिया अगाडि बढाइने विषय नीति तथा कार्यक्रममा समेटेको छ ।
नीति तथा कार्यक्रमका प्राथमिकताहरू :
प्रदेश प्रमुख मियाँले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा विभिन्न प्राथमिकताका विषयहरू पनि तय गरिएको छ । पञ्चवर्षीय योजनाको विकास सम्बन्धी रणनीति प्राथमिकता र कार्य नीतिको आधारमा दिगो विकास लक्ष्य र विकासशील राष्ट्रमा स्तरोन्नति हुने राष्ट्रिय लक्ष्य हासिल गर्न सहयोग पुग्ने गरि प्रादेशिक विकास आयोजना तथा कार्यक्रममा बजेट विनियोजनलाई प्राथमिकता दिने उल्लेख गरिएको छ ।
उद्यमशीलता विकास मार्फत प्रदेशमै रोजगार एवम् स्वरोजगार सिर्जना गरी औद्योगिक जनशक्ति उत्पादन मार्फत बेरोजगारी एवम् गरिबी न्यूनीकरण गर्ने र बढ्दो श्रम पलायनलाई रोक्ने खालको कार्यक्रमलाई प्राथमिकता दिने पनि उल्लेख गरिएको छ ।
नीति तथा कार्यक्रममा आत्मनिर्भर अर्थतन्त्र निर्माणको लागि स्वदेश तथा विदेशी लगानीलाई आकर्षित गरि लगानीमैत्री वातावरण सृजना गर्न आवश्यक नीतिगत कानुनी र कार्यक्रमको व्यवस्था गर्ने बताइएको छ ।
सरकारको स्रोत व्यवस्थापनमा परेको चापलाई मध्यनजर गर्दै पुँजीगत खर्च दक्षतालाई अभिवृद्धि गर्ने बताइएको छ ।
नीति तथा कार्यक्रममा हाल सम्म पनि सडक सञ्जालसँग नजोडिएका बझाङको साइपाल, बैतडीको सिगास र दार्चुलाको अपीहिमाल गाउँपालिकाको केन्द्र जोड्ने सडकलाई उच्च प्राथमिकतामा राखी निर्माण कार्य अगाडी बढाइने बताइएको छ ।
प्रदेश सरकारका थरीथरीका नारा
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको लागि सरकारले केही लोकप्रिय नाराहरू सार्वजनिक गरेको छ । जस्तो प्रदेश सरकारः कृषिको सहयात्री, कृषिमा आत्मनिर्भर सुदूरपश्चिम प्रदेश सरकारको अभियान, व्यवसायीक कृषि सम्मानित पेसा कार्यक्रममा भीमदत्त पन्त कृषि पुरस्कारको पनि घोषणा गरिएको छ ।
रैथाने बाली बस्तुको उत्पादन तथा उपभोग गरौँ, खाद्य र पोषण सुरक्षा सुनिश्चित गरौँ भन्ने नाराका साथ स्थानीय बाली बस्तुको उत्पादनलाई जोड दिने लक्ष्य लिएको जनाएको छ । हत्केलामा कृषि सेवा, कृषि उत्पादनको मूल आधार माटो हो, प्रदेशको पहिचान सहितको प्राङ्गारिक खेती प्रवर्द्धन र जलवायु मैत्री कृषि नमुना गाउँ कार्यक्रम लागु गर्ने सरकारले जनाएको छ ।
कृषि जस्तै अन्यतर्फ पनि सरकारले विभिन्न नारामा कार्यक्रम गर्ने जनाएको छ । एक जिल्ला एक उद्यम कार्यक्रम, दशरथ चन्द सीपमूलक र क्षमता अभिवृद्धि कार्यक्रम, उद्यमी युवा, विकासमा टेवा, गरौँ उत्पादन राखौँ पहिचान, कोसेली घर, प्रेम सिंह धामी व्यास विशेष कार्यक्रम, पर्यटन पूर्वाधारः समृद्ध प्रदेशको आधार कार्यक्रम नीति तथा कार्यक्रम मार्फत घोषणा गरिएको छ ।
त्यस्तै नमुना होमस्टे, सामुदायीक वन, प्रदेशको धन कार्यक्रम पनि समेटिएको छ । शिक्षा तथा स्वास्थ्यतर्फ जय पृथ्वी बहादुर सिंह शैक्षिक पूर्वाधार विकास तथा विद्यालय शिक्षा गुणस्तर सुधार कार्यक्रम, बादी उत्थान छात्रवृत्ति कार्यक्रम, बृत्तिमार्ग निर्देशन सम्बन्धी कार्यक्रम, पहलमानसिंह स्वार साहित्य तथा संस्कृति सम्मेलन आयोजना गर्ने नीति लिइएको छ ।
प्रदेश स्वयंसेवक परिचालन कार्यक्रम, युवा वैज्ञानिक प्रोत्साहन कार्यक्रम, घोरीघोरा स्वास्थ्य उपचार कार्यक्रम र मुख्यमन्त्री स्वास्थ्य क्षेत्र सुधार तथा पोषण सुरक्षा कार्यक्रम पनि लागू गरिने भएको छ ।