दार्चुला, पुष २५ गते ।
व्यास जोड्ने पैदलबाटो सञ्चालनमा आएपछि प्रधानमन्त्रीले व्यास गाउँपालिकाको वडा नम्बर १ को भूगोलमा पुग्ने इच्छा राखेका छन् । अतिक्रमित नेपाली भूमिसंग जोडिएको वडा नम्बर १ को छाङरु र तिंकर दुबै गाउँ घुम्नेगरी दार्चुला भ्रमण गर्ने प्रधानमन्त्रीको इच्छा रहेको छ ।
दार्चुलाको डेलिगेशनका सहभागीहरुले प्रधानमन्त्रीलाई दार्चुला भ्रमणको निम्तो दिएपछि ओलीले पहिला पैदलबाटो सञ्चालनमा ल्याउन आग्रह गरेका छन् । ‘तत्कालै बाटो बनाउनुस्, म बाटोको उद्घाटन गर्न व्यास पुग्छु’ प्रधानमन्त्रीको भनाइ उद्दृत गर्दै एक सहभागीले भने ।
व्यासक्षेत्र भ्रमण गर्न आफु इच्छुक रहेको प्रधानमन्त्रीको भनाइ थियो । एक नम्बर पिलर र ओम पर्वत दर्शन गर्न कति हिड्नुपर्छ भन्ने जिज्ञासा पनि ओलीले राखेका थिए । उच्च हिमाली क्षेत्र भएकोले आफ्नो स्वास्थ्यले भ्रमण गर्न साथ दिन्छ कि दिदैन भन्ने चासो पनि प्रधानमन्त्रीको थियो । १२ हजारदेखि १८ हजार फिटसम्मको उचाइको क्षेत्र भएकोले आफ्नो लागि भ्रमण केही चुनौतीपूर्ण हुनसक्ने प्रधानमन्त्रीको भनाइ थियो । तर केही घण्टाका लागि भए पनि हेलिकोप्टरबाट भ्रमण गर्ने प्रधानमन्त्रीले बताएका छन् ।
२०७९ को आम निर्वाचनमा दार्चुला सदरमुकामबाट चुनावी प्रचार थालेका ओलीले व्यासक्षेत्रको भने हालसम्म भ्रमण गरेका छैनन् । ‘तर व्यास र सिमाक्षेत्रको बारेमा प्रधानमन्त्री धेरै जानकार र गम्भीर देखिनुभयो’ डेलिगेशनका एक सहभागीले भने, ‘व्यास र सिमाक्षेत्रको विषयमा डेलिगेशनका रहेका २२ जनाभन्दा बढी जानकारी प्रधानमन्त्रीसंग छ जस्तो लाग्यो ।’
कैलाश–मानसरोवर यात्रा सञ्चालनका लागि तिंकरमा अध्यागमन कार्यालय उद्घाटन गर्ने, व्यासको पैदलबाटो उदघाटन गर्ने र व्यासको छाङरुमा निर्माण गरिएको राष्ट्रिय स्तम्भ समेत उद्घाटन गर्न प्रधानमन्त्री ओलीलाई दार्चुला भ्रमणको निम्तो गरिएको छ । व्यास गाउँपालिकाले निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीबाट उद्घाटन गराउनेगरी छाङरुमा राष्ट्रिय स्तम्भ निर्माण गरेको छ । तर तत्कालिन राष्ट्रपति भण्डारीको व्यास भ्रमण हुन सकेको थिएन् ।
आजभोलि व्यासका स्थानीयवासिन्दा सदरमुकाम खलंगामा बसाइ सरेकाले प्रधानमन्त्रीको भ्रमणमा स्थानीयको सहभागी न्युन हुनेबारे समेत चर्चा गरिएको छ । तर, प्रधानमन्त्रीको भ्रमण हुने निश्चित भए व्यासका सबैजसो स्थानीयले आफ्नो पुख्र्याैली थलो पुगेर स्वागत गर्ने जानकारी दिइएको छ । आगामी चैत्र–वैशाखमा भ्रमण हुँदा व्यासका सयौं स्थानीयवासीले गाउँमै प्रधानमन्त्रीको स्वागत गर्न पाउने बताइएको छ ।