दार्चुला, भाद्र २५ गते ।
उत्तराखण्ड सरकारले पिथौरागढ जिल्लामा डिएम परिवर्तन गरेको छ । भदौं १९ गते अर्थात सेप्टेम्बर ४ तारेखको राती अनपेक्षित रुपमा जिलाधिकारी (डिएम) परिवर्तन गरिएका छन् ।
करिब डेढ वर्षदेखि पिथौरागढ जिल्लाको डिएम रहदैआएका रिना जोशीको ठाउँमा विनोद गिरी गोस्वामीलाई पठाइएको छ । जोशीलाई जगेडामा राखिएको छ ।
पिथौरागढ जिल्लाको छ दशक लामो इतिहासमा पहिलोपटक महिला डिएमका रुपमा रिना जोशी कार्यरत थिए । हाल पिथौरागढको प्रहरी प्रमुख पनि महिला छन् । एसपी रेखा यादवले केही महिनादेखि प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका छन् ।
राज्य सरकारले खटाएका नयाँ डिएम गोस्वामीले विहिवारदेखि नै जिम्मेवारी सम्हालेका छन् । जिम्मेवारी सम्हालेको भोलिपल्ट भदौ २१ गते शुक्रवार नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले पिथौरागढमा नयाँ डिएमसहित सुरक्षा अधिकारीहरुसंग बैठक समेत गरेका छन् ।
भदौ २२ गते शनिवार पिथौरागढस्थित पत्रकारहरुसंग डिएम गोस्वामीले परिचयात्मक कार्यक्रम पनि सम्पन्न गरेका छन् । सरकारको सेवा प्रवाह र विकास निर्माणलाई उच्च प्राथमिकता दिएर काम गर्ने गोस्वामीले बताएका छन् ।