दार्चुला, बैशाख २५ गते ।
दार्चुला र भारतको पिथौरागढ जिल्लाका अधिकारीहरू बिच शनिबार सदरमुकाम खलंगामा सीमा समन्वय बैठक बसेको छ ।
विशेष परिस्थिति बाहेक दुई, तिन महिनामा एक पटक नियमित नेपाल भारत सिमा समन्वय बैठक बस्ने गरेको छ । यसभन्दा अघि भारतको पिथौरागढमा भौतिक उपस्थितिमा नेपाल भारत सिमा समन्वय बैठक बसेको थियो भने २०७८ माघमा भर्चुअल माध्यमबाट बैठक बसेको थियो ।
नेपाल भारत सिमा समन्वय बैठकमा स्थानीय तह निर्वाचन २०७९ का लागि सिमा सिल गर्ने, सिमा सुरक्षा, तटबन्ध, मोटरवेल पुल, नयाँ झोलुंगे पुल सञ्चालन र लागू औषध ओसार पसार नियन्त्रण सम्बन्धी छलफल गरिएको जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायको अध्यक्षतामा बसेको नेपाल भारत सिमा समन्वय बैठकमा छिमेकी राष्ट्र भारतबाट पिथौरागढ जिल्लाका अपर जिल्लाअधिकारी फिंचा राम चौहानको नेतृत्वको टोली सहभागी भएको थियो ।
नेपालका तर्फबाट प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय,सशस्त्र प्रहरी बल ४४ नम्बर गणका एसपी त्रिभुवन विष्ट,जिल्ला प्रहरी कार्यालय दार्चुलाका डीएसपी प्रतिक विष्ट र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय दार्चुलाका प्रमुख महेश प्रसाद अवस्थीको सहभागिता रहेको थियो । त्यस्तै महाकाली नदि नियन्त्रण आयोजनाका निमित्त आयोजना निर्देशक कमलसिह महत, सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साँउद, सिमा प्रशासन कार्यालय दार्चुलाका शाखा अधिकृत मोहनसिह धामी र महाकाली नदि नियन्त्रण आयोजनाका इन्जिनियर स्मित श्रेष्ठ सहभागी रहेका थिए ।
त्यस्तै भारतको तर्फबाट पिथौरागढ जिल्लाका अपर जिल्ला अधिकारी चौहनको नेतृत्वमा कमान्डेट एसएसबी एकके शर्मा,एसएसवि डेपुटी कमाण्डेट अमित कुमार,धारचुलाका एसडिएम नन्दन कुमार र धारचुला पिथौरागढको प्रहरी निरिक्षक कुवरसिह रावतको सहभागिता रहेको थियो ।