दार्चुला, बैशाख १४ गते ।
स्थानीय तह निर्वाचनलाई मध्यनजर गर्दै व्यास गाउँपालिकाको वडा नं १ छाङरुमा स्काई फोन सेवा सञ्चालनमा ल्याउन लागिएको छ । नेपाल टेलिकमको स्काई फोन सेवा सन् २०२२ बाट देशैभर फेजआउट गरिएको भएपनि निर्वाचनलाई मध्यनजर गर्दै छाङरुको सर्चिकोटमा रहेको स्काई फोन सेवा सञ्चालनमा ल्याइने नेपाल टेलिकम दार्चुलाका प्रमुख कृष्ण बहादुर गुरुङले जानकारी दिनुभयो ।
छाङरुको सर्चिकोटमा हिउँदमा भारी हिमपात हुने भएकाले प्रत्येक वर्ष टावर मर्मत गर्नुपर्छ । हिमपातले खराब भएको टावर सञ्चालनका लागि केही दिनमा टेलिकम प्रमुख गुरुङको टोली छाङरु जाने तयारीमा छ । हाल त्यस क्षेत्रमा सशस्त्र प्रहरी र जनपद प्रहरी मात्रै उपस्थित छ । छाङरु र तिंकर गाउँका बासिन्दा सदरमुकाम खलंगाबाट गाउँमा कुञ्चा सर्ने तयारीमा छन् । स्थानीय सँगै भारतको बाटो भएर छाङरु जाने तयारी रहेको टेलिकम प्रमुख गुरुङले बताउनुभयो । छाङरुमा नमस्ते फोनसेवाको टावर निर्माण गरिएको छ तर विभिन्न प्राविधिक समस्याले सञ्चालनमा आउन सकेको छैन । छाङरुमा टावर सञ्चालनमा ल्याउनका लागि व्यास गाउँपालिकाको वडा नं ४ कैचुलामा रहेको टावरलाई ब्रह्मलेकमा सारिएको छ । ब्रह्मलेकबाट छाङरु देखिने भएकाले डिभाइस जडानका लागि ब्रह्मलेकमा रिपिटर स्टेसन राखिएको टेलिकम दार्चुलाका प्रमुख कृष्ण बहादुर गुरुङले बताउनुभयो । छाङरुको ज्याक्ती डाडामा टेलिकमको नयाँ रिपिटर स्टेशन राखी छाङरु गाउँमा रहेको नमस्ते फोन सेवाको फोरजी सञ्चालनमा ल्याइने उहाँले बताउनुभयो । छाङरुको ज्याक्तीमा नयाँ रिपिटर स्टेसन राख्ने काम स्थानीय तह निर्वाचन सम्पन्न भएपछि सुरु गरिने छ । साथै व्यास गाउँपालिकाको वडा नं ५ धौलाकोटमा टेलिकमको नयाँ टावर स्थपनाका लागि सर्भे गरिने भएको छ । धौलाकोट क्षेत्रमा राप्ला र पिपलचौरी दुबै क्षेत्रको टावरले काम नगर्ने भएपनि त्यहाँ नयाँ टावर स्थापना गरिने टेलिकम दार्चुलाका प्रमुख गुरुङले बताउनुभयो ।