दार्चुला, भदौं ७ गते ।
जिल्ला यातायात व्यवस्थापन समिति दार्चुलाले सार्वजनिक यातायात सञ्चालन गर्ने सबै व्यवसायीहरुलाई निर्धारित गाडीभाडामा र गाडीको क्षमताअनुसार यात्रु बोक्न निर्देशन दिएको छ । शुक्रवार जिल्ला प्रशासन कार्यालयमा आयोजित बैठकमा यस सम्बन्धि निर्णय गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीको अध्यक्षतामा बसेको बैठकले जिल्लाभरीका सबै सडक रुटहरुमा निर्धारित गाडीभाडा पूर्णरुपमा कार्यान्वयन गर्ने, गराउने निर्णय गरेको छ । सबै यात्रुहरुले देख्नेगरी सवारीसाधनमा, टिकट काउन्टरहरुमा र सार्वजनिक स्थलमा समेत गाडीभाडाको विवरण सार्वजनिक गर्ने निर्णय गरिएको छ ।
निर्धारित गाडीभाडा कार्यान्वयन भए÷नभएकोबारे सघन अनुगमन गरिने पनि भएको छ । ट्राफिक प्रहरी र नेपाल प्रहरीका सुरक्षाकर्मी तथा सडक, राजमार्ग क्षेत्रका प्रहरी युनिटहरुले गाडीभाडाबारे अनुगमन गर्नेछन् ।
निर्धारित गाडीभाडाभन्दा बढी असुलेको गुनासो भएमा ट्राफिक प्रहरी, नजिकको प्रहरी युनिट र जिल्ला प्रशासन कार्यालयमा समेत उजुरी गर्न सरोकारवालाहरुलाई भनिएको छ । निर्धारित गाडीभाडाभन्दा बढी रकम असुलेको पाइएमा तत्काल कारवाही गर्ने निर्णय बैठकले गरेको प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले बताउनुभयो ।
क्षमताभन्दा बढी सवारी बोक्ने जनगुनासोबारे पनि बैठकको ध्यानाकर्षण भएको जनाइएको छ । जिल्लाभरीका सबै सडक रुटहरुमा यसबारे नियमित अनुगमन गरिने निर्णय भएको छ । क्षमताभन्दा बढी यात्रु बोकेको पाइएमा आर्थिक जरिवानाका साथै गाडी र सवारीचालकलाई नियन्त्रणमा समेत लिइने दार्चुला प्रहरी प्रमुख डिएसपी शिववहादुर सिंहले बताउनुभयो ।
दुर्घटनाको जोखिम न्युनिकरणमा व्यवसायीले सहयोग गर्नुपर्नेमा डिएसपी सिंहले जोड दिएका छन् । क्षमताभन्दा बढी यात्रु चढदा, गाडी र सडकको अवस्था खराब हुदा तथा लाइनसेन्स नभएका व्यक्तिले गाडी चलाउदा दुघर्टनाको जोखिम हुने गरेको बताइएको छ ।
सार्वजनिक यातायातका सबै गाडीहरुले अनिवार्य रुपमा यात्रुहरुलाई टिकट जारी गर्न पनि भनिएको छ । गौरापर्वलगायतका चाँडपर्वमा सवारीसाधनको सघन चेकजाँच गर्ने र सतर्कता अपनाउनेबारे पनि बैठकमा छलफल गरिएको छ । शुक्रवारको बैठकमा दार्चुला जिल्लामा सञ्चालित चारवटा सार्वजनिक यातायात प्रालिका प्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो । जिल्लाका सबै रुटहरु जीपसेवा सञ्चालन गरिरहेका व्यवसायीहरुसंग बैठकमा छलफल गरिएको हो ।