नागुमा खाद्यान्न ढुवानी सुरु

0
9

दार्चुला, माघ २६ गते ।
नौगाड गाउँपालिकाको वडा नम्बर १ नागुक्षेत्रमा खाद्यान्न ढुवानी सुरु गरिएको छ । खाद्यान्न ढुवानी, सडक निर्माण लगायतको माग राख्दै स्थानीयवासीले आसन्न निर्वाचन वहिस्कारको घोषणा गरेपछि तत्कालै खाद्यान्न ढुवानी सुरु गरिएको छ ।
माघ २३ गतेदेखि नागुक्षेत्रमा चामल पुगेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी शाखा कार्यालय दार्चुलाका प्रमुख हर्कराज उपाध्यायले बताउनुभयो । ‘नागुक्षेत्रमा २५ किलोग्रामका १ सय ३० कट्टा मोटो चामल ढुवानी भइसकेको छ’ उहाँले भन्नुभयो ।
तत्काल २ सय क्वीन्टल चामल ढुवानी गरिन लागेको उहाँले जानकारी दिनुभयो । चालु वर्षमा नागु विक्री केन्द्रमा १ हजार क्वीन्टल चामल ढुवानी गर्ने कोटा भएकोमा भण्डारण क्षमता न्युन भएकाले तत्काल २ सय क्वीन्टल मात्रै ढुवानी गरिन लागेको उहाँले बताउनुभयो ।
तत्काल ढुवानी गरिने २ सय क्वीन्टल चामलले कम्तिमा एक महिनाको माग पूरा गर्ने कार्यालय प्रमुख उपाध्यायले बताउनुभयो । उहाँका अनुसार नौगाड गाउँपालिकाको नागुक्षेत्र, पारिमेला र इयरकोट क्षेत्रमा वितरण हुने गरी कम्पनीले विगतवर्षदेखि चामल ढुवानी गर्दैआएको छ ।
खाद्य कम्पनीले ढुवानीमा अनुदान दिदैआएको छ । उपभोक्ताले धनगढीकै दररेटमा चामल किन्न पाउँछन् । हाल प्रतिकिलो ६२ रुपैयाँ दरमा मोटो चामल उपलब्ध भइरहेको कम्पनीको दार्चुलास्थित शाखा कार्यालयले जनाएको छ । २५ किलोग्राम मोटो चामलको कट्टाको मूल्य १ हजार ५ सय ५० रुपैयाँ रहेको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चालु आर्थिक वर्षमा चामल ढुवानीको टेण्डर निकालेकोमा न्युन ढुवानी भाडा निर्धारणका कारण ढुवानीकर्ताले टेण्डर पेश नगरेको कम्पनीले जनाएको छ । दुई पटक टेण्डर निकाल्दा पनि कुनै पनि आपुर्तिकर्ताबाट खाद्यान्न ढुवानीको प्रस्ताव पेश नभएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीका दार्चुला शाखा प्रमुख हर्कराज उपाध्यायले बताउनुभयो ।
कम्पनीको केन्द्रीय कार्यालयको निर्देशनअनुसार प्रति क्वीन्टल २ हजार १ सय रुपैयाँ ढुवानीभाडा राखेर टेण्डर निकालिएको थियो । कार्तिकमा दोस्रो पटक टेण्डर आव्हान गर्दा पनि ढुवानीका लागि प्रस्ताव दर्ता नभएपछि नागुक्षेत्रमा खाद्यान्न ढुवानी हुन सकेको थिएन ।
नागुक्षेत्रका स्थानीयवासीले माघ १ गते आमभेला गरेर तत्काल खाद्यान्न ढुवानी, दल्लेख–नागु सडक निर्माण लगायत आधा दर्जन माग अघिसारेका छन् । आफ्ना माग पूरा नभएसम्म प्रतिनिधिसभा सदस्य निर्वाचन र अन्य कुनै पनि निर्वाचनमा सहभागी नहुने स्थानीयले घोषणा गरेका छन् ।
स्थानीयवासीको निर्वाचन वहिस्कारको घोषणापछि जिल्लास्तरमा तत्काल नागुक्षेत्रमा खाद्यान्न ढुवानी गर्नेबारे छलफल गरिएको थियो । माघ तेस्रो साता जिल्ला प्रशासन कार्यालयको संयोजनमा भएको छलफल र बैठकले तत्कालै खाद्यान्न ढुवानी गराउनेबारे निर्णय गरेको थियो ।
गत आर्थिक वर्षमा प्रति क्वीन्टल २ हजार ६ सय ९५ रुपैयाँमा धनगढीबाट नागुसम्म खाद्यान्न ढुवानी भएको थियो । जिल्ला समन्वय समिति प्रमुख नेतृत्वको जिल्ला खाद्य व्यवस्था समितिको बैठकले माघ १८ गते गतवर्षकै ढुवानी दररेटमा नागुक्षेत्रमा खाद्यान्न ढुवानी गर्ने गराउने निर्णय गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here