धारचुला पुलमा जिलेटिनसहित सेनाका हवल्दार समातिए

0
341

दार्चुला, जेठ २७ गते ।
भारतको सशस्त्र सिमा वल (एसएसवी)ले नेपाली सेनाका एक हवल्दारलाई जिलेटिन र डेटोनेटरसहित पक्राउ गरेको छ । आइतवार दिउसो धारचुलाबाट नेपाल आउदै गर्दा एसएसवीले चेकजाँचको क्रममा सेनाका हवल्दार यामवहादुर खत्रीलाई पक्राउ गरेको हो ।
टिंकर सडक निर्माणमा खटिएका खत्री व्यासको दुम्लिङ–थिइ क्षेत्रबाट घरविदा जानेक्रममा थिए । सडक निर्माणस्थलबाट भारतीय बाटो भएर धारचुला पुगेका खत्री महाकालीको झोलुंगे पुल हुँदै नेपाल आउनेक्रममा पक्राउ परेका हुन् । खत्रीको झोलाबाट एक किलोग्राम जिलेटिन र पाँच थान डेटोनेटर बरामद गरिएको उत्तराखण्ड प्रहरीले जनाएको छ ।
सुर्खेतको पदमपुर पुख्र्यौली घर भएका खत्री हाल कैलालीको टिकापुरमा बस्दैआएको स्रोतले बतायो । घरविदा जानेक्रममा सडक निर्माणस्थलबाट लुकाएर खत्रीले जिलेटिन र डेटोनेटर बोकेका थिए ।
नेपाली सेनामा १७ वर्षदेखि कार्यरत खत्रीले किन अन्तर्राष्ट्रिय सिमामा जिलेटिन र डेटोनेटर बोक्ने जोखिमपूर्ण काम गरे भन्नेबारे खुलेको छैन । तर कुनै खोला वा नदीमा माछा मार्ने उद्देश्यले जिलेटिन र डेटोनेटर बोकेको हुनसक्ने अनुमान गरिएको छ ।
एसएसबीले खत्रीलाई थप अनुसन्धानका लागि उत्तराखण्ड प्रहरीको धारचुला कोतवाली कार्यालयमा बुझाएको छ । पिथौरागढ जिल्लाका प्रहरी प्रमुख एसपी रेखा यादवको निर्देशनमा धारचुलास्थित कोतवाली प्रमुख बृजेन्द्र शाहको नेतृत्वमा घटनाको अनुसन्धान भइरहेको जनाइएको छ ।
खत्रीमाथि विस्फोटक पदार्थ अधिनियमको धारा ४÷५ अनुसन्धान मुद्दा चलाइने भएको छ । धारचुला कोतवालीले खत्रीलाई डीडीहाटस्थित कारागार पठाएको छ ।
उत्तराखण्ड प्रहरीले सोमबार जिल्ला प्रहरी कार्यालय दार्चुलालाई यसबारे लिखित जानकारी गराएको छ । जिल्लास्थित स्थानीय प्रशासन र सुरक्षा निकायहरुले घटनाबारे भारतीय सुरक्षा निकायहरुसंग जानकारी लिएका छन् ।
खत्रीलाई थप अनुसन्धान र कारवाहीका लागि नेपाली पक्षलाई बुझाउन स्थानीय प्रशासन र प्रहरीले आग्रह गरेको छ । तर, भारतीय प्रशासन र प्रहरीले आफैले घटनाको अनुसन्धान गरी मुद्दा चलाउने जानकारी दिएको जिल्लास्थित सुरक्षा स्रोतले बतायो । स्रोतका अनुसार जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायहरुले यो घटनाबारे मन्त्रालय र उच्चतहमा पनि रिपोर्टिङ गरेका छन् ।
भारतीय पक्षले नेपाली पक्षलाई बुझाउदा खत्रीमाथि सैनिक कोर्टमार्शल अनुसार मुद्दा चलाइने भए पनि भारतीय प्रहरीले नेपाललाई बुझाउन मानेको छैन । सुरक्षा निकायकै व्यक्ति संवेदनशील पदार्थ ओसारपोसारमा संलग्न देखिएको यो घटनाले नेपाल र भारत दुबैतर्फ गम्भीरता र सतर्कता बढाएको छ । सडक निर्माणमा प्रयोग हुने जिलेटिन र डेटोनेटर कुनै पनि व्यक्तिले अन्य प्रयोजनका लागि ओसारपोसार र प्रयोग गर्न प्रतिबन्ध छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here