दार्चुला, कार्तिक २३ गते ।
व्यास जोड्ने पैदलबाटोअन्तर्गत दोपाखे, बयली र तम्बाकुक्षेत्रमा बाटो निर्माण कार्य भइरहेको छ । व्यास गाउँपालिकाले गत आर्थिक वर्षमा गरेको ठेक्का सम्झौताअन्तर्गत बाटो निर्माणको कार्य भइरहेको निर्माण कम्पनी मिशन–देवहरि जेभीले जनाएको छ ।
‘अधिकांश ठाउँमा बाटो निर्माण कार्य भइसकेको छ । दोपाखे, बयली र तम्बाकुमा बाटो निर्माणको अन्तिम चरणमा छौं’ निर्माण कम्पनीका प्रतिनिधि केशववहादुर पालले भन्नुभयो । संघीय सरकारको सशर्त अनुदानबाट गतवर्ष व्यास गाउँपालिकाले पैदलबाटो निर्माणको ठेक्का सम्झौता गरेको थियो । गत असारमा संघीय सरकारको ५ करोड ५० लाख रुपैयाँ बजेटमध्ये १ करोड २५ लाख रुपैयाँ फ्रिज भइसकेको छ ।
व्यास गाउँपालिकाले समय अभाव र कठिन भूगोलका कारण बाटो निर्माण कार्य असारभित्रै सम्पन्न हुनसक्ने अवस्था नभएको भन्दै आगामी मंसिर १५ गतेसम्म सम्झौता अवधि थपेको छ । बाटो निर्माणको ठेक्काको अवधि थपिए पनि बाटो निर्माणमा संघीय सरकारको बजेट छैन । गत आर्थिक वर्षमा खर्च हुन नसकेको बजेट संघीय सरकारलाई फिर्ता गरिएको गाउँपलिकाको लेखा शाखाले जनाएको छ ।
गाउँपालिकाले आफ्नो स्रोत परिचालन गरेर भए पनि व्यासको पैदलबाटो निर्माण पूरा गर्ने जनाएको छ । ‘वर्षौदेखि पैदल हिड्ने बाटो सञ्चालनमा ल्याउन नसकेको भन्दै सबैतिरबाट प्रश्न उठेको छ, यसपटक जसरी पनि बाटो सञ्चालनमा ल्याउनेगरी कस्सिएका छौं’ व्यास गाउँपालिका अध्यक्ष मंगल सिंह धामीले भन्नुभयो ।
गाउँपालिकाले चालू आर्थिक वर्षमा व्यासको पैदलबाटो निर्माणका लागि ५० लाख रुपैयाँ बजेट छुट्याएको छ । यही बजेटबाट बाटो निर्माणको बाँकी काम सम्पन्न गराउने तयारीमा गाउँपालिका छ । तर गाउँपालिका उपाध्यक्ष विनोद सिंह कुवरले गाउँसभाबाट वैधानिक रुपमा बाटो निर्माणमा बजेट नभएको बताएका छन् ।
बाटो निर्माणमा छुट्याइएको ५० लाख बजेटबारे दुइथरी बुझाइ भए पनि निर्माण कम्पनीले भने बाटो निर्माण कार्य गरिरहेको छ । साउन र भदौ महिनामा बाटो निर्माण कार्य बन्द रहेकोमा असोज तेस्रो सातादेखि बाटो निर्माण टोली फिल्डमा खटिएको छ ।
व्यास गाउँपालिकाको वडा नम्बर १ अपिखोलादेखि बुदी हुँदै पोलासम्मको पैदलबाटो निर्माण सम्पन्न भएको वडा नम्बर १ का वडाअध्यक्ष अशोक सिंह बोहराले बताउनुभयो । व्यास गाउँपालिका वडा नम्बर २ मालका स्थानीय युवा जनक सिंह धामीले केही दिनअघि छाङरुबाट पोलासम्म खच्चरमा सामान ढुवानी गरेका छन् । छाङरुदेखि बुँदी हुँदै पोलासम्मको क्षेत्रमा सहज रुपमा घोडाखच्चरमा सामान ढुवानी गर्न सकिने अवस्था रहेको उहाँले बताउनुभयो ।
अपिखोलामा नयाँ काठेपुल निर्माण गरिएको छ भने अपिखोला छेउमा रहेको चट्टान भूभागमा पर्खाल र सिढी लगाएर बाटो बनाइएको छ ।
वडा नम्बर १ को भूगोलमा पर्ने दोपाखे क्षेत्रमा बाटो चौडा बनाउनुपर्ने आवश्यकता छ । अहिले केही कामदारहरुले त्यसक्षेत्रको बाटो निर्माण गरिरहेका छन् । व्यास गाउँपालिका वडा नम्बर १ र २ को सिमाना छुट्याउने बयली क्षेत्रमा महाकाली नदी किनारको बाटो भत्किएको छ । नदी किनारभन्दा केही माथिको भूभागमा बाटो निर्माण भइरहेको छ । बयली क्षेत्रमा पैदलबाटो माथिल्लो भूभागमा बनाउनु परेकोले आधा घण्टाको हिडाइ थपिने छ ।
त्यसैगरी, वडा नम्बर २ को तम्बाकु क्षेत्रमा पुरानो पैदलबाटो र नेपाली सेनाले निर्माण गरिरहेको टिंकर सडक क्षेत्र जोड्नेगरी बाटो निर्माण गर्नुपर्ने आवश्यकता छ । निर्माण कम्पनीले त्यसक्षेत्रमा पनि बाटो निर्माण गरेर मान्छे र जनावर हिडडुल गर्नसक्नेगरी बाटो बनाइने बताएको छ ।
व्यास गाउँपालिका वडा नम्बर २ कल्जुक्षेत्रमा निर्माण भइरहेको टिंकर सडकको एलाइनमेन्टमा पनि पैदलबाटो खुल्दैछ । कल्जुक्षेत्रको भीरमा केही दिनभित्रै घोडाखच्चर हिड्ने बाटो सञ्चालनमा आउन लागेको स्थानीय युवा जनक सिंह धामीले बताउनुभयो ।
दुम्लिङदेखि छाङरुसम्मको ३० किलोमिटर लामो पैदलबाटोमा मान्छे र भेडाबाख्राले हिडडुल गर्नसक्ने अवस्था भए पनि भारीसहितका घोडाखच्चरका लागि थप काम गर्नुपर्ने अवस्था रहेको स्थानीय बताउँछन् । मंसिर १५ गतेभित्र व्यासको पैदलबाटो निर्माण कार्य सम्पन्न गरिने निर्माण कम्पनीको दावी छ । यसपालीको कुञ्चा नेपालकै बाटो सदरमुकाम आउनेगरी बाटो खुलाउन लागिएको कम्पनीका प्रतिनिधि केशववहादुर पालको भनाई छ ।








