‘दुई वर्षभित्र ट्रयाक खोल्नेगरी टिंकर सडकमा पर्याप्त बजेट दिइयोस्’– सांसद बडू

0
247

दार्चुला, जेठ ५ गते ।
दार्चुलाका सांसद एवं पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडूले दुई वर्षभित्र ट्रयाक खोल्नेगरी टिंकर सडकमा पर्याप्त बजेट विनियोजन गर्न माग गरेका छन् । जेठ ४ गते प्रतिनिधिसभाको बैठकमा शुन्य समयमा बोल्दै सांसद बडूले यस्तो माग गरेका हुन् ।
नेपाली सेनाबाट निर्माण भइरहेको तुषारपानी–कोठेधार–टिंकर खण्डमा सेनाको कार्ययोजना र मागअनुसार बजेट उपलब्ध गराउन सांसद बडूले माग गरेका छन् ।
‘आगामी दुई वर्षभित्र ट्रयाक खोल्ने लक्ष्यसहित आफ्नो योजनाअनुसार सेनाले हेलिलिफ्ट गरेर गतहप्ता स्काइभेटर र कम्प्रेसर छाडरुमा पुरयाएको छ’ सांसद बडूले भन्नुभयो, ‘दुबैतर्फबाट निर्माण कार्यलाई तिब्रता दिइएको छ । यस कार्यबाट स्थानीय जनतामा उत्साह र आशा जगाएको छ । यसका लागि नेपाली सेना र नेपाल सरकारलाई विशेष धन्यवाद भन्न चाहन्छु ।’
सांसद बडूले भन्नुभयो, ‘आगामी आर्थिक वर्षका लागि पनि नेपाली सेनाको कार्ययोजना र माग भएअनुसार नै पर्याप्त बजेट व्यवस्थापनका लागि पुनः गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।’
प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २९ गते नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुको जवाफ दिनेक्रममा टिंकर सडक निर्माण सरकारको प्राथमिकतामा रहेको बताएका छन् । सेनाको कार्ययोजना र मागअनुसार पर्याप्त बजेट विनियोजनका लागि आफुले पहल गरिरहेको सांसद बडूको प्रतिक्रिया छ । ‘सबैतिर छलफल र माग गरिरहेका छौं, विगतको जस्तो कम बजेट विनियोजन नहोस् भन्ने हाम्रो माग छ’ उहाँले भन्नुभयो ।
यसअघि वैशाख २२ गते पूर्वमन्त्री एवं नेकपा एमालेका पोलिटब्युरो सदस्य गणेश सिंह ठगुन्नाले पनि प्रधानमन्त्री ओलीसंग टिंकर सडकमा ५० करोड बजेट विनियोजन गर्न माग गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here