प्रमुख सडक तत्काल मर्मत गर्ने विपद् ब्यवस्थापन समितिको निर्णय निर्णयमा सिमित ।
दार्चुला, साउन १९ गते ।
दार्चुला तिंकर सडक ठाउँ–ठाउँमा अवरुद्ध हुदाँ ब्यास गाउँपालिका र दुहु गाउँपालिकामा खाद्यान्न ढुवानी ठप्प भएको छ ।
आईतबार दार्चुला सदरमुकाम खलंगा नजिकै कलोना भिरमा पहिरो खसेपछि दुहु ब्यास क्षेत्रको पैदल मार्ग समेत अवरुद्ध बनेको थियो ।
दार्चुला तिंकर सडक खण्डको लास्कु खोलामा राखिन लागेका ह्युमपाइपहरु समेत खोलाले बगाएको महाकाली करिडोर ( दार्चुला तिंकर सडक ) आयोजनाका इन्जीनियर दिनेश रैखोलाले जानकारी दिनुभयो ।
लास्कु खोलामा पानीको धारलाई कम गर्न राखीएका जालि समेत बगाउँदा कलोना क्षेत्रको पहिरो पन्छ्याउन जेसिबि लग्न समेत समस्या भएरहेको इन्जीनियर रैखोलाले बताउनुभयो ।
“कलोना क्षेत्रमा खसेको पहिरो पन्छ्याउन जेसिबि लग्ने प्रयास गरेका थियौ, लास्कु गाडमा पानीको सतह धेरै हुदाँ जेसीबि लग्न सकिएन” रैखोलाले भन्नुभयो ।
लास्कुखोलामा पानीको बहाब कम भएका जाली राखेर बाटो सूचारु गरि कलोना, राताकाठा, तिमुरबाटा लगायतका क्षेत्रमा अवरुद्ध भएको सडक खुलाइने उहाँको भनाई छ ।
“जालिहाल्न पानीको सतह बढि भएकोले पानी कम भए अस्थाई रुपमा आवत जावत हुने गरि लास्कुखोलामा सडक सञ्चालनमा ल्याउन सकिन्छ ” उहाँले भन्नुभयो ।
साउनको महिना यता भएको बर्षादका कारण दार्चुला तिंकर सडक खण्डको लास्कु, कलोना, राताकाठा, तिमुरबाटा, गोरमोरा , स्याकु, कोरकट्याभिर लगायतका क्षेत्रमा सडक अवरुद्ध भएको छ ।
सडक अवरुद्ध हुदा दुहु ब्यास क्षेत्रमा खाद्यान्न ढुवानी गर्ने ट्याक्टरहरु चल्न नसक्दा ढुवानी ठप्प भएको छ ।
“विगतमा भारतको बाटो भएर खाद्यान्न लग्थ्यौ, सिमा नाका बन्द भएकाले नेपालको बाटो भएर खाद्यान्न लग्नुपर्छ, बाटो अवरुद्ध हुदा ढुवानीमा समस्या भएको छ” ब्यास गाउँपालिका ४ का स्थानिय शिक्षक नरेन्द्र दत्त भट्टले भन्नुभयो ।
दार्चुला तिंकर सडक खण्डमा ब्यास गाउँपालिकाको केन्द्र सुन्सेरा सम्म ट्याटरहरु मार्फत सामान ढुवानी गर्ने काम भइरहेको थियो । बाटो विगत दुई हप्ता देखि ठप्प हुदाँ दुहु ब्यास क्षेत्रमा खाद्यान्न लगायत अत्यावस्यक सामान ढुवानी ठप्प भएको ट्याकटर ब्यवसायी श्याम सिह कुवरको भनाई छ ।
गत साउन ११ गते सोमबार बसेको जिल्ला विपद् ब्यवस्थापन समितिले बर्षाद र पहिरोमा क्षतीग्रस्त हुने प्रमुख सडकहरु तत्काल सञ्चालनमा ल्याउने विषयमा गम्भीर छलफल गरेको थियो ।
बैठकले सम्बन्धित सडक निर्माण र मर्मतको जिम्मेवारी लिएका निकायसंग तत्काल सम्पर्क र समन्वय गरि सडक सञ्चालनमा ल्याउने ल्याउने निर्णय गरेको थियो ।
यो पनि पढ्नुहोसः प्रमुख सडकहरु तत्काल मर्मत गर्न पहल गरिने ।
तर दार्चुला सदरमुकाम भन्दा नजिकै रहेको लास्कु र कलोना क्षेत्रमा सडक खुलाउने कुनै ठोस प्रयास भएको छैन ।
आइतबार कलोना क्षेत्रमा पहिरो खस्दा दुहु ब्यास क्षेत्रका पैदल यात्रुहरुलाई समेत आवत–जावतमा ठप्प हुदाँ जिल्ला स्थित सुरक्षा निकाय र स्थानियहरुको प्रयासले बाटो खुलाइएको प्रहरीले जनाएको छ ।
अवरुद्ध भएका सडकहरु तत्काल खुलाउन सम्बन्धित कार्यालयहरुलाई आफुले पत्राचार गरेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलको भनाई छ ।
मैले लिखित रुपमै सम्बन्धित कार्यालयहरुलाई तत्काल सडक सडक खुलाउन पत्राचार गरिसकेको छु, पछिल्लो समय अपडेट छैन, प्रजिअ पोखरेलले भन्नुभयो ।