विरा दत्त भट्ट,
दार्चुला, वैशाख ५ गते ।
कछुवा गतिमा निर्माण भइरहेको दार्चुला सदरमुकाम देखि नेपालकै अन्तिम पश्चिमोत्तर गाउँ तिंकर जोड्ने सडकको आईतबार नेपाल सरकारका तीन जना मन्त्रीले हवाई अनुगमन गरेका छन् ।
२०६५ साल देखि दार्चुला सदरमुकाम शुन्य प्वाइन्ट मानेर निर्माण थालिएको दार्चुला–तिंकर सडकको हाल सम्म ४० किलोमिटर सडकमा मात्रै ट्याक्टर गुड्न लायक निर्माण गरिएको छ । दार्चुला देखि सुन्सेरा सम्मको सडकमा हाल ट्याकटरहरुले समान ओसार पसार गर्ने गरेका छन् । सडकको स्तोरन्नती नहुदाँ सुन्सेरा सम्म जिप सञ्चालन गर्न सकिएको छैन ।
ठेकेदारहरुबाट सडक निर्माण कार्यमा ढिलाई भएको भन्दै दार्चुलाबाट निर्वाचित सांसद एबं सामान्य प्रशासन मन्त्री गणेस सिह ठगुन्नाको पहलमा अहिले घाटीबगड देखि तिंकर सम्मको ८७ किलोमिटर सडकको जिम्मेवारी नेपाली सेनाले पाएको छ ।
राष्ट्रिय गौरबको आयोजनाको रुपमा रहेको दार्चुला–तिंकर सडकको अनुमगन निरीक्षणका लागि आईतबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त कुमार नेम्वाङ, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेश सिंह ठगुन्ना र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट जिल्ला आउनु भएको हो ।
धनगढीबाट नेपाली सेनाको हेलिकप्टर मार्फत् जिल्ला आएको मन्त्रीहरुको टोली ब्याँस गाउँपालिका वडा नम्बर १ पुगेको छ । धनगढीबाट जिल्ला सदरमुकाम खलंगामा हेलिकप्टर अवतरण भएको थियो भने मन्त्रीहरुको टोली सदरमुकामबाट प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशी पनि सहभागि बनेका थिए ।
ब्याँस पुगेर फर्र्किकएको मन्त्रीहरुको टोलीले जिल्ला सदरमुकाम खलंगामा जनप्रतिनिधि, कर्मचारी तथा अन्य सरोकारावालाहरुसंग दार्चुला तिंकर सडकका बारेमा अन्तरक्रिया गर्नुभएको छ ।
अगामी आर्थिक वर्षमा प्राथमिकताका साथ बजेट विनियोजन गरेर द्रुत गतिमा तिङ्करसम्म सडक निर्माण गरिने भौतिक पुर्वाधार तथा यातायात मन्त्री बसन्त कुमार नेम्वाङको भनाई छ । खलंगा देखि सुन्सेरासम्म सडक विभागले चाँडै ठेक्कापट्टा मार्फत सडक स्तरोन्नतीको काम गर्ने उहाँको भनाई छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेशसिंह ठगुन्नाले दार्चुला–तिङ्कर सडकलाई रणनीतिक महत्तको सडकको रुपमा निर्माण गर्ने योजनाका साथ आफुहरु निरीक्षणमा आएको बताउनुभएको छ ।
महाकाली कोरिडोरको प्रगतिका बारेमा दार्चुला–तिंकर सडक योजनाका निमित्त प्रमुख मुकेन्द्र मल्लले प्रस्तुती गर्नु भएको थियो । २०६५ बाट निर्माण कार्य सुरु दार्चुला तिंकर सडक अहिले महाकाली कोरिडोर अन्तरगत राखेर निर्माण भइहरहेको छ । २०७९/८० सम्म सडक निर्माण कार्य सक्ने लक्ष्य भएपनि सडक निर्माण सम्पन्न हुनसक्ने सम्भाना न्युन रहेको निमित्त प्रमुख खकेन्द्र मल्लको भनाई छ ।
नेपाल सरकारका तीन जना मन्त्रीहरुले सडककोे निरीक्षण गरेपछि कछुवा गतिमा निर्माण भएको सडकले गति पाउने आस रहेको ब्यास गाउँपालिका वडा नं ४ का स्थानिय नरेन्द्र दत्त भट्टको भनाई छ । सामरिक महत्व बोकेको त्रिदेशीय सडक लामो समय देखि कछुवा गतिमा निर्माण हुदाँ सीमा क्षेत्रका नागरिकहरुले सास्ती भोग्नु परिरहेको छ । ब्यास गाउँपालिकाका विभिन्न गाउँहरुमा जादाँ नेपालको बाटो भएर सडक नहुदाँ र हिडेर जादाँ एक दुई दिन लाग्ने भएकाले भारतको धार्चुला–लिपुलेक सडक प्रयोग गरि गाउँ जानुपर्ने बाध्यता रहेको स्थानिय भट्टको भनाई छ ।
भारतीय बाटो भएर गाउँ जादाँ एकातिर एसएसबीको ज्याजती र अर्काे तिर महाकाली नदीमा तुइनको साहारामा ज्यान जोखिम पारि दैनिकी चलाउनुपर्ने बाध्यता रहेको ब्यास क्षेत्रका स्थानियहरुको गुनासो छ ।