दार्चुला, भाद्र २५ गते ।
दार्चुलामा नेपाल विद्युत प्राधिकरणको विद्युत महशुल बढेको छ । अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष २०८०÷८१ मा २१ लाख रुपैयाँ विद्युत महशुल बढेको दार्चुला वितरण केन्द्रले जनाएको छ ।
गतवर्ष जिल्लाभरीका विद्युत ग्राहकहरुबाट ४ करोड ८५ लाख २० हजार ३ सय ८३ रुपैयाँ विद्युत महशुल संकलन गरिएको केन्द्रका प्रमुख आनन्द सापकोटाले बताउनुभयो । अघिल्लो वर्ष २०७९÷८० मा दार्चुलामा ४ करोड ६४ लाख ३४ हजार ७ सय ७९ रुपैयाँ विद्युत महशुल संकलन भएको थियो ।
आर्थिक वर्ष २०७८÷७९ मा ४ करोड २४ लाख ५५ हजार २ सय ८४ रुपैयाँ महशुल संकलन भएको केन्द्रको अभिलेख छ । दार्चुलामा विद्युत ग्राहक बढेसंगै महशुलमा पनि वृद्धि भएको वितरण केन्द्र प्रमुख सापकोटाले बताउनुभयो ।
‘अधिकांश उपभोक्ता घरेलु उपभोगका लागि मात्रै बिजुलीको प्रयोग गर्छन्, कुनै उद्योग वा बढी खपत हुने क्षेत्र जिल्लामा छैन’ सापकोटाले भन्नुभयो । हाल दार्चुलामा १८ हजार ५ सय ४८ विद्युतका ग्राहक पुगेका छन् । अघिल्लो वर्षको तुलनामा गतवर्ष मात्रै २ हजारभन्दा बढी नयाँ ग्राहक थपिएका छन् ।
जिल्लाभरीका १३ हजारभन्दा बढी ग्राहकहरुले न्युनतम विद्युत युनिट मात्रै उपभोग गरिरहेको दार्चुला वितरण केन्द्रले जनाएको छ । प्राधिकरणले एक महिनामा २० युनिटसम्म विद्युत उपभोग गर्ने ग्राहकलाई निशुल्क विजुली उपलब्ध गराउदै आएको छ । यस्ता ग्राहकहरुबाट ग्राहक शुल्कवाफत मासिक ३० रुपैयाँ मात्रै उठाइने गरेको वितरण केन्द्र प्रमुख आनन्द सापकोटाले बताउनुभयो । उपभोग भएको विद्युत युनिटको भने कुनै शुल्क लिइने गरेको छैन ।