बिम्ब/ प्रतिबिम्ब,अनुभव/अनुभुती
गिरिराजमणि पाेखरेल
पार्टी रुपान्तरणको दुई महिने अभिमुखीकरण कार्यक्रम अन्तर्गत आज हामी दार्चुलामा छौं! गोकुलेश्वरबाट मालिकार्जुनमा पुग्ने बित्तिकै “काठमाडौंलाई किन दुख्दैन कालापानी ?” भन्ने बहुचर्चित अभिव्यक्ति दिने नेपालका एक देशभक्त र दार्चुलाका धरोहर क.प्रेम सिंह धामीको सालिकमा उभिएर सामूहिक फोटो खिच्यौं। मालिकार्जुन प्रेम सिंह धामीको जन्म र कर्म थलो पनि हो। २०५४ सालमा एक दुर्घटना पछि उहाँ हाम्रो बीच रहनु भएन। नेकपा एमालेको तर्फबाट २०४९ र २०५१ मा माथिल्लो र तल्लो सभाको सदस्य समेत हुनुभएको धामीले उठाउनु भएको कालापानीको मुद्दालाई फर्केर हेर्दा आज तीस वर्ष भन्दा बढी भएछ! आज काठमाडौंले मात्र होइन, सिङ्गो राज्यले यो विषयलाई आत्मसात गरेको छ।
म सम्झिरहेको छु अखिल नेपाल जनवादी युवा लिगले आयोजना गरेको मेची महाकाली साइकल यात्रा। अनि, अनेरास्ववियुले चलाएको कालापानी मार्च पनि। जनएकता, जनआस्था, दृष्टि र मूल्यांकन जस्ता पत्रपत्रिकाले कालापानीबारे कलम चलाउँदा कतिले पत्याउनै सकेका थिएनन्। नेकपा माओवादीले जनयुद्धको अवधिमा यसलाई उठाइनै रह्यो। नेकपा एकता केन्द्र , नेकपा मसाल , संयुक्त जनमोर्चा राष्ट्रिय जनमोर्चा लगायत धेरै राजनीतिक पार्टी र व्यक्तिहरू कालापानी क्षेत्रबाट भारतीय सैनिक हट्नुपर्छ भनेर प्रखर ढङ्गले लागेकै थिए। लेखन बाहेक सडक र सदन बाट पनि धेरै आवाजहरू उठे। ऐतिहासिक तथ्यहरू खोज्ने क्रममा धेरै अध्ययन अनुसन्धान भएका छन् यो बीचमा।
जनस्तरबाट काम गर्ने भैरव रिसाल, सोनम साथी, द्वारिकानाथ ढुंगेल,नरेन्द्र खनाल लगायत धेरै देशभक्तले नेपालको नयाँ नक्सानै तयार गरेर सरकारलाई बुझाए।
नेपालका प्रायः सबै वामपंथीहरुले गम्भीरता पूर्वक लिएको यो विषय त्यतिबेला नयाँ मोडमा पुग्यो जब कमरेड के.पी. शर्मा ओलीको नेतृत्वको नेकपाको सरकारले नयाँ नक्सा सार्वजनिक गर्यो। नक्सा पारित गर्नु अघि २०७२ मा जारी गरिएको नेपालको संविधानलाई संशोधन गरेर देशका सबै पार्टी र सांसदलाई लिम्पियाधुरा, लिपुलेक र कालापानीको सवालमा एकैठाउँमा उभ्याउने कार्य भएका छन्। अहिले हाम्रा सरकारी कार्यालयमा चुच्चे नक्सा टाँसिएका मात्र छैनन्, राष्ट्र बैंकले भर्खरै आफ्नो नोटमा पनि नक्सालाई स्थान दिएको छ।
म केपी कमरेडको सरकारमा मन्त्री भएको बेला दार्चुला गएको थिएँ। त्यो सरकारको सदस्य हुनुको नाताले आफूलाई गर्व पनि लाग्छ चुच्चे नक्साको निर्णय र सार्वजनिकीकरण प्रती। त्यो नया नक्सा सबै बिध्यालयका पाठ्यपुस्तकमा छाप्न मैले मन्त्रीको रूपमा निर्देशन दिने मात्र होइन कार्यन्वयन सुरु गरेको थिए। अहिले क. प्रचण्ड सरकारको नेतृत्वमा हुनुहुन्छ, चुच्चे नक्सा पास गर्न हिजो नेकपा हुँदा उहाँकै नेतृत्वमा पार्टी सचिबालयले केपी कमरेडको सरकारलाई निर्देशन दिएको थियो। क. प्रचण्ड र क. केपी ओली फेरि अहिले नयाँ सहकार्यमा हुनुहुन्छ। वर्तमान प्रम क. प्रचण्ड दुई देशबीचको यो विषयलाई कूटनीतिक र वार्ताको माध्यमबाट समाधान गर्न प्रयत्नशील हुनुहुन्छ।
कमरेड प्रेम सिंह धामीले उठाएको यो विषय आज सिङ्गो देशको विषय भएको छ। धेरै कलाकार र सर्जकले गीत संगीत मार्फत सन्देश दिएका छन्। बिम्ब प्रती बिम्बमा हामीले पनि त्यस्तै एक गीत साभार गरेको छौं।पुर्बका एक कलाकार बिधान श्रेष्ठले गाउनु भएको “माच्छि मार्न जाउन दाजै कालापानीमा”भन्ने गीत यसपटकको दार्चुला यात्रामा धेरै पटक सुनिउ। नेपाली जनता तपाईं प्रति सधैँ आभारी रहने छन् क. प्रेम सिंह धामी।
२०८१/२/८
(पाेखरेल नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज हुनुहुन्छ ।)