दार्चुला, फागुन १२ गते ।
प्रतिनिधिसभा सदस्य निर्वाचनमा दार्चुलाका सबैजसो उम्मेदवारहरुले आधा दर्जन मुद्दाहरुलाई साझा एजेण्डा बनाएका छन् । आपसमा सामूहिक छलफल गरेर साझा एजेण्डा निर्धारण भने गरिएका होइनन् ।
उम्मेदवारहरुले छुट्टाछुट्टै रुपमा सार्वजनिक गरेका अभिव्यक्ति र घोषणामा आधा दर्जनभन्दा बढी मुद्दाहरु साझा रुपमा उठाइएका छन् । एमाले, काग्रेस, नेकपा, रास्वपा र राप्रपाका उम्मेदवारहरुले अतिक्रमित भूमिको कुटनीतिक समाधानदेखि जिल्लाका प्रमुख विकास निर्माणका सवालहरुलाई उठाएका छन् ।
नेकपा (एमाले), नेपाली काँग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवारले जिल्लास्तरको घोषणपत्र सार्वजनिक गरेका छन् । एमालेका उम्मेदवार गणेश सिंह ठगुन्नाले घोषणापत्रका प्रमुख सात बुँदाहरु उल्लेखगरी आफ्नो धारणा सार्वजनिक गरेका छन् ।
नेपाली काँग्रेसका उम्मेदवार धर्मानन्द जोशीले फागुन ९ गते गोकुलेश्वरमा औपचारिक कार्यक्रमकै आयोजना गरी प्रतिज्ञापत्र सार्वजनिक गरेका छन् । यसैगरी राप्रपाका उम्मेदवार राजेश चन्दले प्रतिवद्धतापत्रमार्फत आफ्ना धारणा सार्वजनिक गरेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार लक्ष्मणदत्त जोशी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार राजेश सिंह सामन्तले जिल्लास्तरको घोषणापत्र सार्वजनिक नगरे पनि जिल्लाको विकास निर्माण र चुनावी मुद्दाहरुबारे आफ्ना धारणा सार्वजनिक गरेका छन् । चुनावी प्रचारको क्रममा भेटघाट, छलफल र अन्तर्वार्ताको क्रममा उम्मेदवारहरुले आफ्ना मुद्दा र प्राथमिकताहरु सार्वजनिक गरेका छन् ।
सबैजसो उम्मेदवारहरुले उच्च महत्वका साथ अतिक्रमित नेपाली भूमिबारे कुटनीतिक पहल गरिने बताएका छन् । नेपाली सेनाबाट निर्माण भइरहेको टिंकर सडक र महाकाली कोरिडोर निर्माण चाँडो गराउन भूमिका खेल्ने बताएका छन् । यसैगरी, गोकुलेश्वरको हवाइमैदान निर्माण र सञ्चालनको विषयलाई सबैजसो उम्मेदवारहरुले आत्मसात गरेका छन् ।
तिंकर नाका औपचारिक रुपमा सञ्चालन गर्ने र पवित्र कैलाश मानसरोवर यात्रा सञ्चालन गराउने प्रतिवद्धता पनि उम्मेदवारहरुले गरेका छन् । महाकाली कोरिडोरअन्तर्गत चमेलिया नदीमाथि धनथलामा मोटरपुल निर्माणको विषयलाई सबैले समेटेका छन् र दार्चुला–बैतडी जोड्ने चमेलिया नदीमाथिको शेरा पुलको विषय पनि उम्मेदवारहरुले उठाएका छन् ।
शिक्षा र स्वास्थ्यको अवस्थामा सुधार ल्याउने, खानेपानीको सुविधा विस्तार गर्ने तथा जिल्लाका सबै क्षेत्र र वस्तीसम्म सडक सञ्जाल विस्तार गर्ने विषयलाई पनि उम्मेदवारहरुले आफ्नो घोषणापत्रमा समेटेका छन् ।
फरक–फरक पार्टीबाट उम्मेदवार भए पनि जिल्लाका प्रमुख मुद्दाहरुमा सबैको प्रतिवद्धता र प्राथमिकता सार्वजनिक हुनु सकारात्मक भएको नागरिक समाज दार्चुलाका संयोजक महेश भट्टको भनाई छ । ‘मुद्दाहरु उठाउनु धेरै राम्रो हो तर यी विषयहरुको कार्यान्वयन गराउन सक्नुपर्छ’ उहाँले भन्नुभयो । ‘चुनावमा मुद्दा मात्रै उठाउने, चुनावपछि चुपचाप बस्ने अवस्था नदेखियोस्’ संयोजक भट्टको सुझाव छ ।
जिल्लाको प्रमुख समस्याका रुपमा रहेको वेरोजगारीको समस्याबारे दल र उम्मेदवारहरु मौन प्रायः रहेको नागरिक समाज दार्चुलाका संयोजक भट्टको भनाई छ । ‘स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने र रोजगारीको श्रृजना गर्ने खालका घोषणा उम्मेदवारहरुले ल्याउनुपथ्र्यो’ उहाँले भन्नुभयो ।
दार्चुलामा स्वास्थ्य सेवामा सुधारको आवश्यकता रहेकोले यो विषयमा सबैको ध्यानाकर्षण हुनुपर्ने भट्टको भनाई छ । जिल्ला अस्पतालमा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहको व्यवस्था गर्न सबैले ध्यान दिनुपर्ने उहाँले बताउनुभयो ।








