दार्चुलाका आठ स्थानिय तहले सार्वजनिक गरे आगामी आर्थिक बर्षको नीति, कार्यक्रम तथा बजेट

0
813

दार्चुला, असार ११ गते ।
दार्चुलामा लेकम गाउँपालिका बाहेक आठ वटा स्थानिय तहहरुले आगामी आर्थिक बर्ष २०७८–७९ को नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेका छन् ।

सबै भन्दा बढी महाकाली नगरपालिकाले ६३ करोड ३५ लाख ४२ हजार आगामी अनुमानित बजेट नगर सभामा प्रस्तुत गरेको छ । शैल्यशिखर नगरपालिकाले ५३ करोड ८४ लाख ५६ हजार अनुमानित बजेट नगर उपप्रमुख राजमती बम पालले नगरसभामा प्रस्तुत गर्नु भएको छ ।
गाउँपालिकाहरु मध्ये सबै भन्दा बढी बजेट नौगाड गाउँपालिकाले प्रस्तुत गरेको छ । नौगाड गाउँपालिकाले ४५ करोड ९३ लाख ४० हजार आगामी बजेट ल्याएको छ । मालिकार्जुन गाउँपालिकाले ४४ करोड २६ लाख ६५ हजार बजेट तथा मार्मा गाउँपालिकाले ४१ करोड १९ लाख ५४ हजारको बजेट ल्याएको छ । ब्याँस गाउँपालिकाले ३७ करोड १७ लाख ३४ लाखको बजेट ल्याएको छ । अपिहिमाल गाउँपालिकाले ३३ करोड २१ लाख ९० हजार आगामी गाउँसभामा प्रस्तुत गरेको गाउँपालिका अध्यक्ष धर्मानन्द मन्यालले बताउनुभयो । दुहूँ गाउँपालिकाले ३६ करोड ३२ लाख ७६ हजार आगामी बजेट ल्याएको छ ।

स्थानिय तहहरुको नीति तथा कार्यक्रममा के छ ?

जिल्लाको महाकाली नगरपालिकाले कृषकको खेतबारीमा कृषि प्राविधिक कार्यक्रम, टुहुरा बालबालिकाहरुका अभिभावक नगरप्रमुख, एकल महिलाको साथी नगर उपप्रमुख, लगायतका कार्यक्रमहरु नीति तथा कार्यक्रममा समेटेको छ ।

शैल्यशिखर नगरपालिकाले एक घर पाँच फलफुल विरुवा रोपण, सर्बाेत्कृष्ट मेयर कृषक पुरुस्कार मार्फत उत्कृष्ट कृषकलाई सुनको कोदालो पुरुस्कार वितरण गर्ने, मेयर प्रतिभा पहिचान कार्यक्रम अन्र्तगत विदामा उत्कृष्ट प्रतिभाको खोजी गरि नगरपालिका भित्रका विद्यालयका विद्यार्थीलाई मेयर प्रतिभा पहिचान कार्यक्रम मार्फत पुरुस्कार प्रदान गर्ने लगायतका कार्यक्रमहरु नीति तथा कार्यक्रममा समेटेको छ ।

दुुँहु गाउँपालिकाले सामुदायिक विद्यालयबाट एसइइ पास गरि एमविविएस अध्ययन गर्ने एक जनालाई अध्ययन गर्न ५० प्रतिशत पढाई खर्च उपलब्ध गराउने, विपन्न दलित समुदायका लागि विपन्न दलित आवास कार्यक्रम लागु गर्ने, कक्षा १–५ मा अध्ययनरत छात्र छात्राहरुलाई विद्यालय पोसाक र शैक्षिक सामग्री उपलब्ध गराउने, विद्यार्थीको पठनपाठनमा सुधार ल्याउन तथा शिक्षकहरुको पेसागत विकासका लागि हेल्लो स्कुल कार्यक्रम सञ्चालन गर्ने दुहु गाउँपालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ ।

अपिहिमाल गाउँपालिकाले बेरोजगारलाई आकर्षित गराउन गाउँपालिकाले बेरोजगारलाई कृषि र पशुपालनतर्फ आत्मनिर्भर गराउने उद्देश्य राखेको छ । गाउँपालिका भित्रका बेरोजगारहरुको लगत संकलन गरि पालिकाभित्र रोजगार बैंक स्थापना गर्ने, बेरोजगारहरुलाई भौतिक पूर्वाधारमा रोजगार दिने, कोभिड १९ का कारण समस्यामा परेकाहरुलाई आयजआर्जुनमुखी तर्फ आत्मनिर्भर बनाउने, कृषि आधुनिकीकरण कार्यक्रममार्फत एक वस्ती एक उत्पादन कार्यक्रम लागू गर्ने नीति तथा कार्यक्रम ल्याएको छ ।
ब्यास गाउँपालिकाले मेरो पुर्वाधार बिकासका लागि मेरो श्रम कार्यक्रम संचालन गरि कोरोना महामारीको कारण रोजगारी गुमाएर देश बिदेश बाट घर फर्किएका युवाहरूको सिप,क्षमता,योग्यता,अनुसारको रोजगारीको अवशर सिर्जना गर्ने लक्ष्य राखेको छ । रोजगारीका अवसर सिर्जना गर्न ब्याँस गाउँपालिकामा जडिबुटी प्रसोधन केन्द्र स्थापना गर्न पहल गर्ने, ब्याँसको जैविक कृषि उत्पादन लाई राष्ट्रिय रूपमा पहिचान गराउन सुन्तला,ओखर,कोदो,जौ,राज्माको ब्रान्ड सहित देशका मुख्य मुख्य सहरमा निर्यात गर्ने लक्ष्य लिइएको छ । चौरी प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्ने लगायतका विभिन्न कार्यक्रम सञ्चालन गर्ने लक्ष्य राखिएको ब्यास गाउँपालिकाले जनाएको छ ।
मार्मा गाउँपालिकाको नीति तथा कार्यक्रममा कोभिड १९ बाट रोजगार गुमाएकाहरुलाई प्रधानमन्त्री रोजगार तथा गाउँपालिका अध्यक्ष रोजगार कार्यक्रम मार्फत रोजगारी सिर्जना गर्ने, उज्यालो मार्मा कार्यक्रमलाई निरन्तरता दिने साथै गाउँपालिकाको ग्रामिण बस्ती जोड्ने सडक निर्माणमा प्राथमिकता दिइएको छ ।
मालिगाउँपालिकाको नीति तथा कार्यक्रममा कोभिड नियन्त्रण तथा स्वास्थ्य क्षेत्र, भौतिक पूर्वाधार, संस्कृति पर्यटन क्षेत्र, शिक्षा, कृषि तथा पशुपन्छी क्षेत्रलाई प्राथमिकता दिएको गाउँपालिकाले जनाएको छ ।