दलहरुको अपिल पनि पत्याएनन् नागुवासी

0
56

दार्चुला, फागुन १६ गते ।
नागुक्षेत्रले घोषणा गरेको निर्वाचन वहिस्कारलाई फिर्ता गराउने अर्को प्रयास असफल भएको छ । दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले चुनावी मैदानमा रहेका राजनीतिक दलहरुका तर्फबाट अपिल जारी गर्न लगाए पनि निर्वाचन वहिस्कारलाई नागुवासीले निरन्तरता दिने बताएका छन् ।
फागुन १५ गते शुक्रवार मात्रै जिल्ला प्रशासन कार्यालयमा राजनीतिक दलका तर्फबाट मतदाताहरुको नाममा अपिलको खाका तयार गरिएको थियो । प्रजिअ पौडेलको समन्वयमा चुनाव लडिरहेका ११ दलमध्ये ९ दलका प्रतिनिधिहरुले उक्त अपिलमा हस्ताक्षर पनि गरेका छन् ।
दलहरुको नाममा जारी भएको यो अपिललाई नागुवासीले भोलिपल्टै अस्वीकार गरिदिएका छन् । शनिवार नागुमा भएको स्थानीयको भेलाले चुनाव वहिस्कारको पूर्वघोषणामा अडिग रहने संकल्प गरेको छ ।
नौगाड गाउँपालिका वडा नम्बर १ नागुक्षेत्रका स्थानीयले माघ १ देखि नै चुनाव वहिस्कारको घोषणा गरेका छन् । चुनाव वहिस्कारको अडानमा रहेका नागुक्षेत्रका स्थानीयलाई लक्षित गरी यो अपिल निकालिएको थियो । तर अपिलमा कुनै पनि स्थानको नाम उल्लेख गरिएको छैन ।
आफ्नो टोल–वस्तीमा सडक पूर्वाधार लगायतको विषयहरु उठान गरी नो भोट अभियान सञ्चालन गरेको विषय आफुलाई जानकारी रहेको दलहरुको अपिलमा उल्लेख छ । मतदानमा सहभागी हुनु नागरिकको कर्तव्य भएको स्मरण पनि गराइएको छ ।
स्थानीय मागहरुलाई आत्मसात गर्दै आफ्ना उम्मेदवार विजय भएको अवस्थामा वा नभएको अवस्थामा पनि ती मागहरु सम्बोधन गराउन निरन्तर सक्रिय रहने प्रतिवद्धता अपिलमा गरिएको छ ।
राजनीतिक दलका तर्फबाट जारी गरिएको अपिलमा आम जनता पार्टी र नेपाल मजदुर किसान पार्टीका प्रतिनिधिले हस्ताक्षर गरेका छैनन् । जिल्ला सदरमुकाममा यी दुबै पार्टीका प्रतिनिधि उपलब्ध नभएकाले बाँकी ९ वटा दलको हस्ताक्षरमा अपिल जारी भएको प्रजिअ पौडेलको भनाई छ ।
दलहरुको संयुक्त अपिलमा काग्रेसका जिल्ला सचिव पुलेन्द्रवहादुर कार्की र एमालेका जिल्ला सचिव उमेशराज जोशीले हस्ताक्षर गरेका छन् । यसैगरी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका ऐता ठगुन्ना, नेकपा (माओवादी)का बिरेन्द्र सिंह विष्ट, राष्ट्रिय प्रजातन्त्र पार्टीका देववहादुर बम, राष्ट्रिय स्वतन्त्र पार्टीका परमानन्द बडू, नेपाल कम्युनिष्ट पार्टीका गणेश सिंह खत्री, नेकपा (संयुक्त)का शेखरचन्द्र बडू र राष्ट्रिय जनमोर्चाका मनवीर दमाईले हस्ताक्षर गरेका छन् ।
राजनीतिक दलको नाम र प्रतिनिधिहरुको नाम उल्लेख गरिएको अपिलमा पार्टीहरुको छाप राखिएको छैन । अपिलमा दार्चुला जिल्लाको नाम समेत उल्लेख गरिएको छैन । सरसर्ती अपिल पढ्दा कुन जिल्लाको विषय वा सन्दर्भ हो भन्ने समेत खुल्न सक्ने अवस्था छैन । हस्ताक्षरकर्ता पार्टी र नेताहरुको नामबाट भने अपिल दार्चुला जिल्लाको हो भन्ने संकेत मिल्छ ।
जिल्ला प्रशासन कार्यालयकै समन्वयमा फागुन ४ गते उम्मेदवारहरुले नागुवासीसंग भर्चुअल बैठक पनि गरेका थिए । उक्त बैठकमा पनि दलहरुको अपिलजस्तै माग सम्बोधन गराउन निरन्तर पहल गरिरहने उम्मेदवारहरुले प्रतिवद्धता गरेका थिए । तर स्थानीयवासीले उम्मेदवारहरुको मौखिक प्रतिवद्धतामा विश्वास गरेनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here