तुईन तर्दै गर्दा एसएसबीले तुइन काट्नु अमानवियः ब्यास गाउँपालिका

0
587

दार्चुला, साउन १७ गते ।
दार्चुलाको ब्यास गाउँपालिका २ मालघाटमा एसएसबीले तुईन काटेको घटनाप्रती सो क्षेत्रको स्थानिय सरकार ब्यास गाउँपालिकाले आफ्नो धारणा सार्वजनिक गरेको छ ।

स्थानिय जयसिह धामीलाई तुईन तर्दै गर्दा एसएसबीले तुईन काट्नु अमानविय र आपत्तिजनक घटना भएको ब्यास गाउँपालिकाका प्रबत्ता धिरन सिह बुढाथोकीको भनाई छ । गाउँपालिकाले आईतबार पत्रकार सम्मेलनको आयोजना गरि घटनाको विषयमा गाउँपालिकाको धारणा सार्वजनिक गरेको हो ।भारतीय एसएसबीले मानव अधिकारका सम्पुर्ण मुल्य मान्यताको ठाडो उलङ्घन गरि अमानविय कार्य गरेको भन्दै गाउँपालिकाले दोषि माथी कारवाही र पिडितलाई क्षतीपुर्तीको माग गरेको छ ।
बेपत्ता पारिएको धामीको खोजी कार्य गरी पीडितलाई उचित क्षतिपूर्ति, बेपत्ताका बालबालिकाको शिक्षा आर्जन र पालन–पोषणको सुनिश्चित गर्न समेत गाउँपालिकाले माग गरेको छ । साथै घटनाको वास्तविकता सार्वजनिक गर्न र आफ्नो नागरिकलाई न्याय दिन दिलाउन उच्चस्तरीय कुटनीतिक पहल मार्फत् उक्त अपराधिक घटनामा संलग्न भारतीय सुरक्षाकर्मीहरुलाई कानुनी कारबाही गर्न नेपाल सरकारसंग माग गरेको छ ।
विगत लामो समयदेखि तुइन मार्फत् आवत–जावत् गर्दा मानवीय क्षति हुदै आएको गाउँपालिकाले जनाएको छ । भारतमाथिको निर्भरता अन्त्य गर्नका लागि दार्चुला तिंकर सडक निर्माण कार्य र ठेक्का भइसकेको मलघट्टे र मालघाट झोलुंगे पुल निर्माण यथाशिघ्र सम्पन्न गर्न समेत माग गरिएको छ ।
माल घट्नाको बारेमा गाउँपालिकाले आधिकारिक धारणा सार्वजनिक गर्न खंगा पुलघाटमा पत्रकार सम्मेलन गरेको थियो । पत्रकार सम्मेलनमा वडा नम्बर २ का वडाध्यक्ष एवं प्रवक्ता धिरन सिंह बुढाथोकी, वडा नम्बर ३ का वडाध्यक्ष उपेन्द्र सिंह धामी, वडा नम्बर ५ का वडाध्यक्ष मंगलसिंह धामी लगायतको सहभागिता रहेको थियो ।