तपोवन–निम्ठा सडकमा सर्वाधिक बजेट

0
65

दार्चुला, असार १२ गते ।
नयाँ बजेटमा दार्चुला जिल्लाभरी निर्माणाधिन सडक योजनामध्ये तपोवन–निम्ठा सडकमा सर्वाधिक बजेट विनियोजन गरिएको छ । संघीय सरकारको सम्पूरक अनुदानमा प्रदेश सरकारले यो सडक निर्माण गरिरहेको छ ।
महाकाली कोरिडोरबाहेक जिल्लाभित्रका निर्माणाधिन सडकमध्ये सबैभन्दा बढी बजेट तपोवन–निम्ठा–मुर्रै–होपरीगाड सडकमा ८ करोड ९१ लाख ५० हजार बजेट राखिएको छ । यो सडकले मार्मा र नौगाड गाउँपालिकाको भूगोल जोड्छ ।
संघीय सरकारबाट प्रदेश सरकारबाट प्राप्त हुने सम्पूरक अनुदानबाट ५ करोड ५६ लाख र प्रदेश सरकारको आन्तरिक आम्दानीबाट ३ करोड ३५ लाख ५० हजार गरी करिब ९ करोड बजेट यो सडकमा राखिएको छ ।
क्रमांगत योजनाको रुपमा तपोवन–निम्ठा सडक निर्माण भइरहेको छ । आर्थिक वर्ष २०८०÷८१ मा स्वीकृत भएको यो सडक योजना ३ वर्षभित्र निर्माण गरिसक्ने लक्ष्य राखिएको छ । यो सडकको कुल लागत ६० करोड रुपैयाँ छ ।
प्रदेश गौरवको आयोजनामा राखिएको खलंगा–खार–देथला–पारिबगर–खण्डेश्वरी सडकमा २ करोड ७५ लाख ९७ हजार बजेट छुट्याइएको छ । अर्को प्राथमिकताको योजना गोकुलेश्वर–बन्तोली–पनेबाज सडकमा १ करोड ८० लाख रुपैयाँ बजेट राखिएको छ ।
प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत पूर्वाधार विकास कार्यालय बैतडीबाट दार्चुला जिल्लामा कार्यान्वयन हुने सडक योजनाहरुको संख्या ४० छ । तीनटा मोटरपुलसहितका ४० वटै योजनामा कुल २४ करोड बजेट विनियोजन गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here