डिआइजी र सिडिओ पुगे छाङरु–तिंकर

0
79

दार्चुला, जेठ १४ गते ।
सशस्त्र प्रहरीका डिआइजी प्रदीपकुमार पाल र दार्चुलाका सिडिओ अनिल पौडेलको टोलीले छाङरु र तिंकर क्षेत्रको भ्रमण गरेको छ । सुदूरपश्चिम प्रदेशमा नयाँ जिम्मेवारी सम्हालेका डिआइजी पालले मातहतका युनिटहरुको निरीक्षण भ्रमण गरिरहेका छन् ।
डिआइजी पालको टोलीसंगै दार्चुलाका प्रजिअ पौडेल र दार्चुलास्थित सशस्त्र प्रहरीको ४४ नम्बर गणका गणपति देवराज जोशी पनि छाङरु र तिंकर पुगेका हुन् । जेठ ९ गते भारतीय मोटरबाटो भएर सितापुल हुँदै छाङरु पुगेको टोली त्यहि दिन बेलुकी तिंकर पुगेको हो ।
टोलीले तिंकरको छियालेकस्थित सशस्त्र प्रहरीको विओपी र नेपाल प्रहरीको इलाका प्रहरी कार्यालय निरीक्षण गरेको छ । डिआइजी पालको एक महिनाअघि मात्रै सुदूरपश्चिम प्रदेशमा सरुवा भएको थियो ।
अन्तर्राष्ट्रिय सिमाक्षेत्रमा रहेका सुरक्षा युनिटहरुको निरीक्षणलाई महत्व दिइएको जिल्लास्थित सुरक्षास्रोतले बतायो । ‘डिआइजी सरको सदरमुकामसम्मको भ्रमण मात्रै पूर्वनिर्धारित थियो, दार्चुला पुगेपछि व्यासक्षेत्र पनि भ्रमण गर्ने थप तालिका बनेको हो’ सुरक्षास्रोतको भनाई छ ।
भारतसंग सिमा जोडिएको छाङरुको गागामा सशस्त्र प्रहरीको ५० नम्बर गुल्म छ भने चीन सिमानजिकको तिंकर छियालेकमा विओपी सञ्चालनमा छ । डिआइजी, सिडिओ र एसपीसहितको टोलीले दुबै स्थानको भ्रमण गरेको छ ।
सिमाक्षेत्रमा शान्तिसुरक्षाको स्थितिका साथै स्थानीय वस्तुस्थितिको अध्ययन गर्न पनि भ्रमण गरिएको बताइएको छ । सुरक्षा अधिकारीहरुको टोलीले दुबै गाउँका स्थानीयवासीसंग पनि भेटघाट र छलपल गरेको छ । छाङरुमा रहेको प्रहरी चौकीको पनि निरीक्षण गरिएको छ ।
केही दिनअघिदेखि मात्रै नेपाली सेनाले छाङरु क्षेत्रमा सडक निर्माण सुरु गरेको छ । दार्चुला–टिंकर सडक आयोजनाका प्रमुख एवं सेनाका कर्णेल राजेश कटवालसंग पनि डिआइजी र सिडिओको टोलीले छाङरुमा छलफल गरेको छ । सडक निर्माणको अवस्थाबारे कुराकानी र समीक्षा भएको प्रजिअ अनिल पौडेलले बताउनुभयो ।
जेठ ९ गते विहान सदरमुकामबाट हिडेको डिआइजी पाल नेतृत्वको टोली बेलुकी तिंकर पुगेको थियो । भोलिपल्ट तिंकरबाट छाङरु हुँदै सितापुल तरेर भारतीय मोटरमार्गबाट टोली सदरमुकाम खलंगा फर्किएको थियो ।
छाङरु र तिंकर गाँउका साथै व्यासक्षेत्रको भौगोलिक अवस्थिति र वस्तुस्थितिबारे नजिकबाट अध्ययन गर्ने अवसर मिलेको प्रजिअ पौडेलले बताउनुभयो । यसक्षेत्रमा सरकारको उपस्थिति र सक्रियता बढाउन पनि भ्रमण सहयोगी हुने उहाँको भनाई छ ।
डेढ महिनाअघि मात्रै दार्चुलाको सिडिओको जिम्मेवारी सम्हालेका पौडेलले पहिलोपटक व्यासक्षेत्रको भ्रमण गरेका हुन् । केही हप्तापछि चीनको ताक्लाकोट जोड्ने टिंकर नाका खुल्ने भएकोले पनि सुरक्षा अधिकारीहरुको यो भ्रमण अर्थपूर्ण छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here