टिंकर सडक निर्माणमा वार्षिक लक्ष्यको ७२ प्रतिशत प्रगति

0
111

दार्चुला, चैत्र ६ गते ।
नेपाली सेनाबाट निर्माण भइरहेको महाकाली कोरिडोरअन्तर्गतको दार्चुला–टिंकर सडक खण्डमा आठ महिनाको अवधिमा ७२ प्रतिशत भौतिक प्रगति भएको छ । चालू आर्थिक वर्षमा निर्धारित लक्ष्यअनुसार फागुन तेस्रो सातासम्म ७१ दशमलव ६६ प्रतिशत भौतिक प्रगति भएको सेनाले जनाएको छ ।
सडकको नयाँ ट्रयाक निर्माणमा ७२ प्रतिशत र स्तरोन्नती गर्ने कार्यमा ९२ प्रतिशत भौतिक प्रगति भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । चालू आर्थिक वर्षमा १ हजार ८ सय मिटर नयाँ ट्रयाक निर्माणको लक्ष्य राखिएकोमा फागुन तेस्रो सातासम्म १ हजार २ सय ९० मिटर सडक निर्माण सम्पन्न भएको छ ।
पाँच मिटर चौडाइको ट्रयाक निर्माण कार्य यो वर्षको लक्ष्यअनुसार ५ सय १० मिटर मात्रै निर्माण हुन बाँकी छ । तुषारपानीनजिकैको फतङगाड खोलापारीको चट्टानी भूभागमा यो वर्ष २ सय मिटर लामो ट्रयाक खोलिएको छ । व्यास गाउँपालिकाको वडा नम्बर २ आतुङती क्षेत्रमा ५ सय मिटर र तम्बाकु क्षेत्रमा ५ सय मिटरभन्दा बढी नयाँ ट्रयाक निर्माण गरिएको छ ।
आठ मिटर चौडाइको सडक स्तरोन्नती गर्ने कार्यअन्तर्गत १ हजार १ सय १० मिटर सडक स्तरोन्नती सम्पन्न भएको छ । चालू आर्थिक वर्षमा १ हजार २ सय मिटर लामो सडक स्तरोन्नती गरि ८ मिटर चौडा बनाउने लक्ष्य राखिएको छ ।
व्यास गाउँपालिकाको वडा नम्बर ३ तुषारपानीदेखि वडा नम्बर २ को माल, कोठधार, सगनाडी, दुम्लिङ, कल्जु र तम्बाकु क्षेत्रमा सडक निर्माण कार्य भइरहेको छ । सेनाले सडक निर्माणको जिम्मा लिएको सडक खण्डको सुरुवातीदेखि ५ किलोमिटर सम्मको सडकमा माघ अन्तिम सातादेखि गाडी सञ्चालन भएको छ । व्यास गाउँपालिकाको वडा नम्बर २ मालगाउँसम्मको सडकमा गाडी चलेको हो ।
चालू आर्थिक वर्षमा टिंकर सडक निर्माणका लागि सेनालाई ९ करोड रुपैयाँ बजेट दिइएको छ । बजेटको अधिकांश हिस्सा खर्च गरी सडक निर्माण कार्य गरिएको छ । आर्थिक वर्ष समाप्त हुनुभन्दा तीन महिनाअघि नै वार्षिक लक्ष्यअनुसारको भौतिक प्रगति पूरा हुँदैछ । वार्षिक लक्ष्य पूरा हुने गरी कल्जु र तम्बाकुक्षेत्रमा सडक निर्माणको कार्य भइरहेकोले चैत्र महिनाभित्रै भौतिक लक्ष्य पूरा हुने अवस्था रहेको स्रोतले बतायो ।
आगामी वैशाखदेखि असारसम्मको अवधिमा भने सडक निर्माणको कार्य बन्द हुने अवस्था छ । सडक निर्माणमा उपलब्ध सबै बजेट खर्च भइसक्ने अवस्थाले थप सडक निर्माण कार्य ३ महिना बन्द हुने सम्भावना रहेको स्थानीयवासी बताउँछन् ।
अर्थ मन्त्रालयले फागुन १८ गते टिंकर सडक निर्माणका लागि सेनालाई ५ करोड रुपैयाँ बजेट थपेको छ । तर थपिएको बजेटबाट व्यास गाउँपालिका वडा नम्बर १ छाङरुमा सेनाको क्याम्प निर्माण गर्ने र स्काइभेटर मेसिन ढुवानी गर्ने तयारी छ । थपिएको बजेटबाट क्याम्प निर्माण, स्काइभेटर र कम्प्रेसर मेसिन ढुवानी, जिलेटिन, डिजेलसहितको निर्माण सामग्री व्यवस्थापन गरिने भएको छ ।
सामग्री व्यवस्थापन र क्याम्प निर्माणमा बढी खर्च हुने भएकोले थपिएको ५ करोड बजेटले सडक निर्माण कार्यमा निरन्तरता हुने अवस्था छैन । थपिएको बजेटले छाङरुमा क्याम्प स्थापना र सामग्री व्यवस्थापन गरेर त्यसैक्षेत्रमा सडक निर्माण थाल्ने गरी गृहकार्य भइरहेको सैनिक स्रोतले बतायो ।
हाल सडक निर्माण भइरहेको क्षेत्रमा निर्माण कार्यलाई निरन्तरता दिनेगरी बजेट थपिएका चालू वर्षमै २÷३ किलोमिटर थप सडक निर्माण गर्नसकिने अवस्था रहेको स्थानीय बताउँछन् ।
दार्चुलाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य दिलेन्द्रप्रसाद बडूको पहलमा टिंकर सडकमा ५ करोड थपिएको हो । थपिएको बजेटबाट छाङरुमा क्याम्प स्थापना र मेसिन ढुवानीलाई प्राथमिकता दिइने सांसद बडूले बताएका छन् । सडक निर्माणलाई गति दिन छाङरुमा नयाँ क्याम्प स्थापना गरी दुबैतर्फबाट सडक निर्माण थाल्न पहल भइरहेको उहाँले बताउनुभयो ।
आर्थिक वर्ष २०७७÷७८ देखि सडक निर्माण कार्य थालेको सेनाले हालसम्म १४ दशमलव ६९० किलोमिटर सडकको ट्रयाक निर्माण सम्पन्न भएको जनाएको छ । यसैगरी, ८ मिटर चौडाइको ८ दशमलव ११० किलोमिटर सडक स्तरोन्नती कार्य पूरा भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
कुल ७९ किलोमिटर लामो दार्चुला–टिंकर सडक खण्डमध्ये हालसम्मको समष्टिगत भौतिक प्रगति १८ दशमलव ५९ प्रतिशत रहेको सेनाले जनाएको छ । यसैगरी, फागुन तेस्रो सातासम्मको टिंकर सडकको समष्टिगत वित्तिय प्रगति १४ दशमलव ६६ प्रतिशत रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here