दार्चुला, पुष २३ गते ।
नेपाली सेनाले व्यास गाउँपालिकाको वडा नम्बर २ कल्जुमा हेलिकोप्टरबाट दुइटा कम्प्रेसर मेसिन ढुवानी गरेको छ । दार्चुला–टिंकर सडक निर्माणअन्तर्गत कल्जुक्षेत्रमा रहेको कडा चट्टान फुटाउन मेसिन ढुवानी गरिएको हो ।
नेपाली सेनाको एनए ०६१ कलसाइनको लाइट (सानो) हेलिकोप्टरबाट सोमबार कम्प्रेसर मेसिन ढुवानी गरिएका हुन् । व्यास गाउँपालिका वडा नम्बर २ को माल गाउँमा रहेका दुइटा कम्प्रेसर मेसिन हेलिकोप्टरमार्फत कल्जु गाउँमा ढुवानी गरिएको छ ।
दुइटा मेसिन ढुवानी गर्नका लागि सेनाको हेलिकोप्टरले आठ पटक ओहोरदोहोर गर्नुपरेको स्रोतले बतायो । सेनाको प्राविधिक टोलीले मालमा रहेका कम्प्रेसर मेसिनका पाटपुर्जा खोलेर हेलिकोप्टरमार्फत ढुवानीका लागि तयार गरेको थियो । सेनाको लाइट हेलिकोप्टरले एकपटकमा ४ देखि ५ क्वीन्टल वजन मात्रै ढुवानी गर्ने भएकोले कम्प्रेसर मेसिन खोलेर ढुवानी गरिएको हो ।
मेसिन ढुवानीका लागि सेनाको हेलिकोप्टर आइतवार साँझ सुन्सेरास्थित टिंकर सडक निर्माण आयोजनाको हेडक्वाटर पुगेको थियो । आइतवार राती सुन्सेरामा राखिएको हेलिकोप्टरले सोमबार दिनभरी आठपटक ओहोरदोहोर गरी मालगाँउबाट कल्जुक्षेत्रमा सामान ढुवानी गरेको हो ।
यसअघि मालगाउँ आसपासको क्षेत्रमा सडक निर्माणमा प्रयोग गरिएका कम्प्रेसर मेसिन अहिले कल्जुक्षेत्रमा ढुवानी गरिएको हो । हाल माल गाउँ आसपासको क्षेत्रको सडक निर्माण भइसकेको छ ।
महाकाली नदी किनार क्षेत्रको साघुरो खोच भएकोले कल्जु गाउँ छेउमा हेलिकोप्टरबाट मेसिन ढुवानी गरिएका छन् । कल्जु गाउँबाट सडक निर्माणस्थल एक घण्टाको पैदल दूरीमा छ । कम्प्रेसर मेसिनका पाटपूर्जा खोलिएकाले कल्जुगाउँबाट भरियामार्फत सडक निर्माणस्थलमा ढुवानी गरिनेछ ।
मालगाउँबाट कल्जुसम्मको दूरीमा करिब १० किलोमिटर रहेको छ । हाल सेनाले तुषारपानीदेखि मालगाउँ हुँदै दुम्लिङसम्मको क्षेत्रमा सडक खोल्ने कार्य गरिरहेको छ । दुम्लिङभन्दा अगाडि आकतुङती र तम्बाकु क्षेत्रमा पनि सडक निर्माण कार्य भइरहेको छ । तम्बाकु र आकतुङती क्षेत्रको बीचमा पर्ने कल्जुक्षेत्रमा सडक निर्माण गर्न मेसिन ढुवानी गरिएका हुन् । त्यसक्षेत्रमा कडा चट्टान भएकोले विस्फोटक पदार्थ प्रयोग गरी सडक निर्माण गर्न कम्प्रेसर मेसिन ढुवानी गरिएका हुन् ।
नेपाली सेनाले चालू आर्थिक वर्ष २०८१÷८२ मा १८ सय मिटर सडक निर्माण र १२ सय मिटर सडकको स्तरोन्नती गर्ने लक्ष्य राखेको छ । सडकको नयाँ ट्रयाक निर्माण लक्ष्य पूरा गर्न दुम्लिङदेखि तम्बाकुसम्मको क्षेत्रमा काम भइरहेको छ ।