दार्चुला, साउन २६ गते ।
नेपाली सेनाबाट निर्माण भइरहेको दार्चुला–टिंकर सडकमा चालू वर्षमा सरकारले नौ करोड रुपैयाँ बजेट उपलब्ध गराएको छ । विनियोजित बजेटबाट १८ सय मिटर सडक निर्माण र १२ सय मिटर सडकको स्तरोन्नती गर्ने लक्ष्य राखिएको छ ।
गत आर्थिक वर्ष २०८०÷८१ मा ३ किलोमिटर सडक निर्माण र २ किलोमिटर सडकको स्तरोन्नती गरेको सेनाले चालू वर्षको लक्ष्य घटाएको छ । टिंकर सडकमा बजेट घटाइएपछि सडक निर्माणको भौतिक लक्ष्य पनि सेनाले घटाएको हो । गतवर्ष सेनालाई टिंकर सडक निर्माणका लागि १४ करोड १९ लाख रुपैयाँ बजेट दिइएको थियो ।
सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार वार्षिक विनियोजित बजेटका आधारमा सडक निर्माणको भौतिक लक्ष्य तोकिएको हो । व्यास गाउँपालिकाको वडा नम्बर ३ तुषारपानीदेखि वडा नम्बर १ को टिंकर भञ्ज्याङसम्मको ७९ किलोमिटर लामो सडक निर्माणमा नेपाली सेना परिचालित भएको छ ।
२०७८ माघदेखि सडक निर्माणको कार्य सुरु गरेको सेनाले तीन आर्थिक वर्षको अवधिमा १३ दशमलव ४ किलोमिटर सडक निर्माण भएको जनाएको छ । हाल तुषारपानीदेखि वडा नम्बर २ को माल, कोठधार, सगनाडी, राङथल, फुलचिमधार, दुम्लिङ, आकतुङति, कल्जु र तम्बाकु क्षेत्रमा सडक निर्माण भइरहेको छ ।
नेपाली सेनालाई प्राप्त जिम्मेवारीमध्ये तुषारपानीदेखि तम्बाकुसम्मको १६ दशमलव ५ किलोमिटर लामो क्षेत्रमा सडक निर्माण भइरहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । आर्थिक वर्ष २०७८÷७९ मा ८ दशमलव ४ किलोमिटर सडक निर्माण गरेको सेनाले आर्थिक वर्ष २०७९÷८० मा २ किलोमिटर र गतवर्ष ३ किलोमिटर सडक निर्माण सम्पन्न गरेको छ ।
आर्थिक वर्ष २०७९÷८० मा डेढ किलोमिटर र गत वर्ष २ किलोमिटर सडक स्तरोन्नती गरी चौडा बनाइएको तथ्यांक छ । सडक निर्माणका लागि आर्थिक वर्ष २०७८÷७९ मा २२ करोड ५० लाख र आर्थिक वर्ष २०७९÷८० मा ९ करोड ५१ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।
नेपाली सेनाले वार्षिक बजेट विनियोजनको आधारमा सडक निर्माण गर्दैआएको छ । वार्षिक विनियोजित बजेटको आकारअनुसार सडक निर्माणको भौतिक लक्ष्य निर्धारण गरी काम गरिदैआएको छ ।
नेपाली सेनाले चालू वर्षका लागि १६ करोड रुपैयाँ बजेट माग गरे पनि सरकारले ९ करोड रुपैयाँ मात्रै विनियोजन गरेको छ । बजेट निर्माणको क्रममा संसदमा भएको छलफलमा तत्कालिन रक्षामन्त्री हरि उप्रेतीले संसदमा यस्तो जानकारी दिएका थिए ।
टिंकर सडक निर्माणलाई सरकारले प्राथमिकता दिएको भन्दै तत्कालिन रक्षामन्त्री हरि उप्रेती र उपप्रधान तथा भौतिक योजना मन्त्री रघुवीर महासेठले सेनालाई पर्याप्त बजेट उपलब्ध गराउने प्रतिवद्धता जनाएका थिए । नेकपा एमालेबाट प्रतिनिधित्व गर्ने दुबै मन्त्रीको जिम्मेवारी हाल हेरफेर भए पनि एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा अहिले सरकार छ ।
प्रधानमन्त्री ओलीले समेत संसदमा टिंकर सडक निर्माणमा बजेटको अभाव हुन नदिने बताएका छन् । सेनाले मागेजति बजेट उपलब्ध गराएर सडक निर्माण गराइने जवाफ प्रधानमन्त्री ओलीले संसदमा दिएका छन् ।
न्युन बजेट विनियोजनले सडक निर्माणमा सेनाको भौतिक लक्ष्य घटिरहेको अवस्थामा टिंकर सडकमा बजेट थप्न ढिलाइ भइरहेको छ । सरकारको नेतृत्वबाट टिंकर सडक प्राथमिकता रहेको र पर्याप्त बजेट उपलब्ध गराइने प्रतिवद्धता आइरहने तर बजेट अभावले सडक निर्माणको लक्ष्य वर्षेनि घटिरहने अवस्थाले सिमाक्षेत्रका नागरिक निराश बनिरहेका छन् ।