टिंकर सडक ः छुट्टै बजेट शीर्षक, सडक निर्माणमा १ करोड बजेट

0
344

दार्चुला, जेठ १९ गते ।
सरकारले आर्थिक वर्ष २०८२÷८३ देखि टिंकर सडकका लागि छुट्टै बजेट शीर्षक निर्धारण गरेको छ । महाकाली कोरिडोरबाट छुट्याएर तुसारपानी–टिंकर खण्डलाई छुट्टै बजेट शीर्षक दिइए पनि सडक निर्माणका लागि १ करोड मात्रै बजेट विनियोजन गरिएको छ ।
नेपाली सेनाबाट निर्माण भइरहेको महाकाली कोरिडोरअन्तर्गतको तुसारपानी–टिंकर खण्डलाई छुट्टै बजेट शीर्षक र पर्याप्त बजेट विनियोजनको माग चार वर्षदेखि हुँदैआएको थियो । सरकारले छुट्टै बजेट शीर्षकको माग सम्बोधन गरे पनि सडक निर्माणका लागि लज्जास्पद अंकमा बजेट दिइएको छ ।
गणतन्त्र दिवसको दिन गत जेठ १५ गते सरकारले नयाँ बजेट ल्याएको हो । बजेट मन्तव्यमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले ‘महाकाली कोरिडोरअन्तर्गत ब्रह्मदेव–झुलाघाट–तुसारपानी खण्डको स्तरोन्नती गर्न र तुसारपानी–टिंकर खण्डको ट्रयाक खोल्न आवश्यक बजेट छुट्याएको’ बताएका थिए ।
बजेट वक्तव्यको बुँदा नम्बर २६० मा अत्तरिया–खोड्पे–दार्चुला सडक खण्डको विस्तृत अध्ययन सम्पन्न गरी डेडिकेटेड डबल लेनमा स्तरोन्नती गर्ने कार्य सुरु गरिने पनि उल्लेख गरिएको थियो । त्यही बुँदामा महाकाली कोरिडोरअन्तर्गतका दुबै खण्डमा सडक स्तरोन्नती र ट्रयाक खोल्न आवश्यक बजेट छुट्याइएको विषय समेटिएको थियो ।
अर्थमन्त्रीको बजेट भाषणमा एउटा बुँदा खर्चेर वर्णन गरिएको महाकाली कोरिडोरका दुबै खण्डमा बजेट भने अत्यधिक न्युन राखिएको छ । बजेट भाषणको बुँदामा बजेट शीर्षकबारे केही उल्लेख गरिएको छैन । तर महाकाली कोरिडोरअन्तर्गतको ब्रह्मदेव–झुलाघाट–तुसारपानी खण्डमा सडक स्तरोन्नती गरिने र तुसारपानी–टिंकर खण्डको ट्रयाक खोल्न आवश्यक बजेट छुट्याइएको उल्लेख गरी छुट्टै बजेट शीर्षकको संकेत भने दिइएको थियो ।
कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको टिंकरसम्मको ४ सय १३ किलोमिटर लामो सडकको नामांकरण महाकाली कोरिडोर गरिएको छ भने एउटै बजेट शीर्षकमा निर्माण कार्य भइरहेको छ । हालसम्म महाकाली कोरिडोरमा बजेट शीर्षक नम्बर ३३७०११०३ मा बजेट आउने गर्छ ।
ब्रह्मदेवदेखि दार्चुलाको तुसारपानीसम्मको ३ सय ३४ किलोमिटर लामो सडक खण्डलाई महाकाली कोरिडोरको ब्रह्मदेव–झुलाघाट–तुसारपानी खण्ड नामांकरण गरी साविककै बजेट शीर्षक नम्बर ३३७०११०३ दिइएको छ ।
नेपाली सेनाले निर्माण गरिएको ७९ किलोमिटर लामो तुसारपानी–टिंकर सडक खण्डलाई नयाँ बजेट शीर्षक दिइएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत तुसारपानी–टिंकर सडक खण्डमा बजेट शीर्षक नम्बर ३३७०११७९ दिइएको छ ।
बजेट अंक लज्जास्पद
तुसारपानी–टिंकर सडक खण्डका लागि छुट्टै बजेट शीर्षक दिएको सरकारले बजेट विनियोजन भने लज्जास्पद अंकमा गरेको छ । नयाँ बजेट शीर्षकको तुसारपानी–टिंकर सडक खण्डमा कुल ६ करोड ३१ लाख बजेट राखिएको छ ।
विनियोजन बजेटमध्ये सडक निर्माणका लागि भनेर १ करोड मात्रै बजेट उल्लेख छ । अर्थ मन्त्रालयले सोमबार सार्वजनिक गरेको व्यय अनुमानको विवरण (रातो किताब)मा टिंकर खण्डमा विनियोजित ६ करोड ३१ लाखमध्ये सडक तथा पुल निर्माणको उपशीर्षकमा १ करोड रुपैयाँ मात्रै बजेट राखिएको छ ।
तुसारपानी–टिंकर सडक खण्डमा कुल विनियोजित ६ करोड ३१ लाखमध्ये चालूतर्फ ४१ लाख रुपैयाँ र पूजीगततर्फ ५ करोड ९० लाख रुपैयाँ बजेट दिइएको छ । पूजीगततर्फ विनियोजित रकममध्ये भवन निर्माण एवं खरिदमा १ करोड ८० लाख, मेसिनरी तथा औजारमा २ करोड ५३ लाख, फर्निचर तथा फिक्चर्समा ७ लाख र पूजीगत परामर्शमा ४५ लाख रुपैयाँ बजेट राखिएको छ ।
सडक तथा पुल निर्माण उपशीर्षकमा १ करोड र निर्मित भवनको संरचनात्मक सुधार खर्च भनेर ५ लाख रुपैयाँ बजेट राखिएको छ । टिंकर खण्डमा विनियोजित ६ करोड ३१ लाखको करिब १६ प्रतिशत बजेट अर्थात १ करोड बजेट मात्रै सडक निर्माणमा खर्च हुनेगरी विनियोजन गरिएको छ ।
चालू आर्थिक वर्षमा महाकाली कोरिडोरअन्तर्गतकै शीर्षकमा तुसारपानी–टिंकर खण्डमा ९ करोड बजेट दिइएको थियो । सेनाले निर्माण गरिरहेको टिंकर सडकमा बजेट अभाव भइरहेको आवाज उठेपछि गत फागुन महिनामा ५ करोड बजेट थपिएको थियो । थपिएको बजेटबाट व्यासको छाङरुमा हेलिकोप्टरमार्फत स्काइभेटर मेसिन ढुवानी गरिएको छ भने २ किलोमिटर लामो सडकको ट्रयाक निर्माण भइरहेको छ ।
आर्थिक वर्ष २०८१÷८२ मा उपलब्ध गराइएकोभन्दा ५५ प्रतिशत कम रकम टिंकर सडकका लागि नयाँ बजेटमा राखिएको छ । विनियोजित बजेटको पनि १६ प्रतिशत बजेट मात्रै सडक निर्माणमा खर्च हुनेगरी छुट्याइएपछि टिंकर सडक निर्माणबाट सरकार भागिरहेको देखिन्छ ।
ब्रह्मदेव–झुलाघाट–तुसारपानी खण्डमा पनि न्युन बजेट
सरकारले महाकाली कोरिडोरअन्तर्गतको ब्रह्मदेव–झुलाघाट–तुसारपानी खण्डमा पनि आवश्यक बजेट दिएको छैन । ५० करोडभन्दा बढी बजेट माग गरिएकोमा आर्थिक वर्ष २०८२÷८३ का लागि २४ करोड ४७ लाख मात्रै बजेट दिइएको छ ।
विनियोजित बजेटमध्ये चालूतर्फ १ करोड ५० लाख बजेट भने सडक निर्माणमा खर्च हुने पूजीगत बजेट २२ करोड ९७ लाख मात्रै छ । बजेट अभावले चालू वर्षको सडक निर्माण नै प्रभावित भइरहेको छ । महाकाली कोरिडोर सडक योजनाले गत फागुनमा २५ करोड थप बजेटको माग गरेकोमा अहिलेसम्म बजेट थपिएको छैन ।
नयाँ बजेटले पनि महाकाली कोरिडोरलाई थप निराशा बनाएको छ । ब्रह्मदेवदेखि दार्चुलाको तुसारपानीसम्मको ३ सय ३४ किलोमिटर लामो क्षेत्रमा सडक निर्माण र स्तरोन्नतीको कार्य गर्नुपर्नेछ । करिब डेढ दर्जन ठेक्काहरु चालू अवस्थामा रहेका छन् भने यी ठेक्काहरुको दायित्वमात्रै १ अर्ब ५० करोडभन्दा बढी छ ।
नयाँ बजेटमा न्युन विनियोजन भएपछि महाकाली कोरिडोरको सडक निर्माण तथा स्तरोन्नती गर्ने कार्य ठप्पप्रायःको अवस्थामा रहने एक प्राविधिक कर्मचारीको भनाई छ । ‘चालु वर्षकै निर्माण कार्यको भुक्तानी बाँकी छ, नयाँ बजेटले यो वर्षकै भुक्तानी गर्न ठिक्क होलाजस्तो छ’ महाकाली कोरिडोर सडक योजनाका ती प्राविधिकको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here