टिंकर सडकमा ८ करोड बजेट

0
138

दार्चुला, जेष्ठ २४ गते ।
सरकारले आगामी आर्थिक वर्ष २०८१÷८२ मा नेपाली सेनाबाट निर्माण भइरहेको दार्चुला–टिंकर सडक खण्डका लागि अहिलेसम्मकै न्युन बजेट विनियोजन गरेको छ । महाकाली कोरिडोरअन्तर्गत ५० करोड रुपैयाँ बजेट विनियोजन गरिएकोमा योमध्ये दार्चुला–टिंकर सडक खण्डमा ८ करोड मात्रै छुट्याइएको छ ।
जेष्ठ १५ गते प्रस्तुत गरिएको बजेट भाषणमा महाकाली कोरिडोरको स्तरोन्नतीलाई प्राथमिकता दिइएको उल्लेख छ । त्यसको दुइ दिनपछि अर्थ मन्त्रालयले सार्वजनिक गरेको व्यय अनुमानको विवरणमा महाकाली कोरिडोरमा ५० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको टिंकर नाकासम्मको ४ सय १३ किलोमिटर लामो क्षेत्र रहेको महाकाली कोरिडोरमा विनियोजित बजेटलाई कोरिडोर खण्ड र सेनाबाट निर्माण भइरहेको टिंकर सडक खण्डमा बजेट बाँडिने गरेको छ ।
आगामी वर्षका लागि विनियोजित बजेटमध्ये कोरिडोर खण्डमा ४२ करोड र टिंकर खण्डमा ८ करोड रुपैयाँ छुट्याइएको स्रोतले बतायो । महाकाली कोरिडोर सडक योजना र टिंकर सडक निर्माण गरिरहेको नेपाली सेनाको सैनिक स्रोत दुबैले टिंकर सडक खण्डमा ८ करोड मात्रै बजेट छुट्याइएको बताएका छन् ।
मन्त्रालयको बजेट प्रणालीमा ५० करोड बजेटको बाँडफाँड विवरण प्रविष्ट हुने भएकोले यसबारे आधिकारिक जानकारी प्राप्त हुन नसकेको महाकाली कोरिडोर सडक योजनाका प्रमुख लक्ष्मणदत्त जोशीले बताउनुभयो । ‘बजेट विनियोजनको विस्तृत विवरण एलएमबिआइएस (मन्त्रालयगत बजेट सुचना प्रणाली)मा हुन्छ, यसबारे स्पष्ट र आधिकारिक जानकारी आइसकेको छैन’ उहाँले भन्नुभयो ।
सरकारले बजेट निर्माणको क्रममा सुरुमा महाकाली कोरिडोरलाई २५ करोड रुपैयाँ मात्रै बजेट सिलिङ तोकेको थियो । कोरिडोर खण्ड र सेनाले निर्माण गरिरहेको टिंकर खण्ड दुबैका लागि २५ करोड मात्रै सिलिङ आएपछि कोरिडोर खण्डमा १७ करोड र सेनालाई ८ करोडको कार्यक्रम तयार गर्न भनिएको थियो ।
बजेट सिलिङअनुसारको कार्यक्रम प्रस्ताव तयार गरिए पनि बजेट भाषणमा बजेट थपिएको थियो । २५ करोडको सिलिङ भए पनि बजेट भाषणले महाकाली कोरिडोरमा ५० करोड बजेट विनियोजन गरेपछि कोरिडोर र टिंकर खण्डमा यसअघिको अनुपातमा बजेट थपिने अनुमान गरिएको थियो ।
बजेट सिलिङको दोब्बर रकम विनियोजन भए पनि सेनाले बनाइरहेको टिंकर खण्डमा बजेट थपिएको छैन । बजेट भाषणबाट थपिएको पूरै बजेट कोरिडोर खण्डमा राखिएको स्रोतले बतायो । सैनिक स्रोतले पनि आगामी वर्षका लागि टिंकर सडक निर्माणमा नेपाली सेनालाई ८ करोड मात्रै बजेट प्राप्त भइरहेको बताएको छ ।
सैनिक जनसम्पर्क निर्देशनालयले भने बजेटबारे आधिकारिक जानकारी प्राप्त भइनसकेको जनाएको छ । सेनाले टिंकर सडक निर्माणमा वार्षिक २० देखि २५ करोड रुपैयाँ बजेट खर्च गरेर निर्माण कार्य गर्नसक्ने निर्देशनालयको भनाई छ । सरकारले उपलब्ध गराउने बजेटको सिमाभित्र रहेर सडक निर्माणको वार्षिक लक्ष्य निर्धारण गरिने पनि सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
चालु आर्थिक वर्ष २०८०÷८१ मा महाकाली कोरिडोरअन्तर्गत कुल ४३ करोड ६५ लाख बजेट विनियोजन गरिएको थियो । यसमध्ये कोरिडोर खण्डमा २९ करोड ४६ लाख र टिंकर खण्डमा नेपाली सेनालाई १४ करोड १९ लाख बजेट छुट्याइएको छ ।
चालू वर्षमा एक तिहाइ बजेट टिंकर खण्ड र दुइतिहाइ बजेट कोरिडोर खण्डमा दिइएको छ । आगामी वर्षको बजेटमा पनि यसैगरी बजेट छुट्याइने अनुमान रहेको थियो । तर मन्त्रालय र सडक विभाग तथा सेनाको केन्द्रस्तरमा भइरहेको बजेट विनयोजनको गृहकार्यले टिंकर सडक खण्डलाई ओझेलमा पारेको छ ।
सेनाले निर्माण गरिरहेको टिंकर खण्डमा पर्याप्त बजेट उपलब्ध हुननसकेको विषयमा पटक–पटक आवाज उठे पनि सरकारले बजेट दिएको छैन । डेढ महिनाअघि मात्रै संसदको सुशासन तथा राज्यव्यवस्था समितिले सेनाले निर्माण गरिरहेको टिंकर सडकमा पर्याप्त बजेट उपलब्ध गराउन सरकारलाई निर्देशन दिने निर्णय समेत गरेको थियो ।
गत वर्ष २०७९÷८० मा ९ करोड ५१ लाख र अघिल्लो वर्ष २०७८÷७९ मा २२ करोड ५० लाख रुपैयाँ टिंकर सडक खण्ड निर्माणमा दिइएको थियो । आगामी वर्षको बजेट ८ करोड मात्र उपलब्ध भएमा टिंकर सडक निर्माणमा सबैभन्दा न्युन बजेट छुट्याएको वर्षको रुपमा अभिलेखित हुनेछ ।
टिंकर सडक निर्माणमा बजेट बढाउनुको सट्टा घटाउने कार्य भइरहेकोले सबैतिर निराशा छाइरहेको व्यास गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष अशोक सिंह बोहराले बताउनुभयो । त्रिदेशीय सिमाक्षेत्रमा निर्माण भइरहेको यो सडकमा पर्याप्त बजेट उपलब्ध गराउन राजनीतिक र प्रशासनिक तहमा आफुसहितका जनप्रतिनिधिहरुले आवाज उठाइरहेको उहाँको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here