दार्चुला, साउन १४ गते ।
दार्चुलाका एमाले नेता-कार्यकर्ताले नेपाली सेनाबाट निर्माण भइरहेको दार्चुला-टिंकर सडकमा तत्काल ४० कराेड बजेट थप्न प्रधानमन्त्री केपी ओलीसंग माग गरेका छन् । पूर्वमन्त्री एवं एमाले पाेलिटब्युराे सदस्य गणेश सिंह ठगुन्ना नेतृत्वको टाेलीले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीसंग साेमबार भेटेर ८ बुदे माग राखेकाे छ ।
ओली प्रधानमन्त्री भएपछि पहिलोपटक दार्चुलाको पार्टीको प्रतिनिधिमण्डलले भेटघाट गरि बधाई दिएको र समसामयिक विषयमा लिखित माग पेश गरेकाे सार्वजनिक गरिएको छ । दार्चुला-टिंकर सडकलाई देशभक्त नेता प्रेम सिंह धामीकाे नामबाट नामांकरण गर्न पनि लिखित माग गरिएको छ ।
`प्रधानमन्त्री ज्यूको सरकारी निवास बालुवाटारमा नेपाल सरकारका सम्माननीय प्रधानमन्त्री एवम् नेकपा(एमाले) का श्रद्धेय अध्यक्ष केपी शर्मा ओली ज्यूलाई भेटेर बधाई तथा शुभकामना व्यक्त गर्नुका साथै दार्चुला जिल्लाका महत्वपूर्ण विकास निर्माणका कामहरु सञ्चालन गर्न, गति दिन मातहतका निकायहरुमा आवश्यक निर्देशनका लागि ज्ञापनपत्र पेश गरिएकाे´ जानकारी एमालेका जिल्ला नेताहरूले सार्वजनिक गरेका छन् ।
ज्ञापनपत्रकाे पहिलो बुदामा लेखिएको छ- `महाकाली कोरीडोर अन्तरगतको दार्चुला तिंकर खण्डको तुषारपानी-तिंकर खण्ड नेपाली सेना मार्फत निर्माण कार्य चलिरहेको छ । यो सडक अतिक्रमित भूमिसम्म पहुँच पुर्याउने साथै चीनको ताक्लाकोट व्यापारिक मंडि र कैलाश मानसरोवर जोड्ने अत्यन्त महत्वपूर्ण सडक हो । यो आवमा यो खण्डमा अत्यन्त न्यून बजेट विनियोजन भई निर्माण कार्य सुस्त हुने भएकोले यो आवमा न्यूनतम ४० करोड बजेट विनियोजन गरिदिन हुन र यसलाई छुट्टै आयोजनाको रुपमा प्रेम सिंह धामी राष्ट्रिय राजमार्ग नामाकरण गरिदिनहुन अनुरोध छ ।´
यसैगरी, तिंकर नाकाबाट स्थानीय बासिन्दाहरु ताक्लाकोट प्रवेश गरेका तर त्यहाँ व्यापार व्यवसाय गर्न र पसल खोल्न हालसम्म पनि नपाएकोले परम्परागत रुपमा सञ्चालन गरेका पसलहरु सञ्चालनको लागि चीन सरकार र नेपालस्थित चिनिँया राजदुताबासमा कुटनीतिक पहलको लागि अनुराेध गरिएको छ ।
हालैको अविरल वर्षाबाट मार्मा गाउपालिका वडा नम्बर ४ र ५ मा पर्ने मर्मती र गन्याड बस्तीहरुमा ठूलो क्षति भई विस्थापित भएका र अन्य ठाँउहरुमा पनि व्यापक क्षति भएकोले राहत तथा पुनर्स्थापनाको लागि प्रधानमन्त्रीसंग अनुरोध गरिएकाे छ ।
गोकुलेश्वर एयरपोर्ट आर्थिक वर्ष २०७८/७९ सालमा बहुबर्षिय ठेक्का स्विकृत भई काम सञ्चालन भईरहेकोमा चालू आवमा यथोचित विनियोजन गरि धावन मार्ग कालोपत्रे लगायत अन्य आवश्यक पूर्वाधार निर्माणको ठेक्का सञ्चालनको व्यवस्था मिलाउन पनि माग गरिएको छ ।
व्यास गाउपालिकाकाे वडा नम्बर २ दुम्लिङ र वडा नम्बर १ सितापुलमा महाकाली नदीमाथि नेपाल-भारत जाेड्ने झाेलुुंगेपुल निर्माणकाे ठाेस पहल गर्न पनि प्रधानमन्त्रीसंग माग गरिएको छ ।
अपिहिमाल गाउपालिकाको खण्डेश्वरी र घुषालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न र अपि बेस क्याम्प क्षेत्रमा पर्यटकीय कार्यक्रम सञ्चालनको लागि अनुराेध गरिएको छ ।
मालिकार्जुन राष्ट्रिय धामलाई विगतमा राष्ट्रिय धार्मिक पर्यटकीय गन्तव्यमा समावेश भै क्रमागत रुपमा बजेट विनियोजन भएकोमा हाल सो कार्यक्रम स्थगित भएकोले पुनः सञ्चालनको लागि अनुरोध माग गरिएको छ ।
२०७० सालकाे महाकाली बाढीबाट क्षतिग्रस्त भू-भाग मध्ये महाकाली नगरपालिका वडा नम्बर १ को कलौन, श्रीबगर लगायत जिल्लाका विभिन्न ठाँउहरुमा तटबन्ध निर्माण र नदी नियन्त्रण कार्य बाँकि रहेकोले ति ठाँउहरुमा बाँकि रहेको कार्य पुरा गर्न आवश्यक श्रोत सुनिश्चितताको लागि अर्थ मन्त्रालयलाई निर्देशन गर्न पनि माग गरिएको छ ।
प्रधानमन्त्री ओलीसंग भेटघाट गर्ने प्रतिनिधिमण्डलमा पुुर्वमन्त्री ठगुन्नासंगै नेताहरू हरदेव जाेशी, महाकाली नगरप्रमुख नर सिंह चैसिर, खडक सिंह बडाल, अकबर सिंह ठगुन्ना, खेमराज जाेशी लगायत सहभागी थिए ।