टिंकर सडकमा २० करोड बजेट थप्ने प्रतिवद्धता

0
167

दार्चुला, भदौ ४ गते ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल र मन्त्रालयका सचिवसहितका अधिकारीहरुले नेपाली सेनामार्फत निर्माण भइरहेको दार्चुला–टिंकर सडकमा २० करोड रुपैयाँ बजेट थप्ने प्रतिवद्धता गरेका छन् ।
पूर्वमन्त्रीद्वय दिलेन्द्रप्रसाद बडू र गणेश सिंह ठगुन्नासहित सर्वदलिय डेलिगेशनसंग मन्त्री र मन्त्रालयका अधिकारीहरुले टिंकर सडक निर्माणमा बजेट अभाव हुन नदिने प्रतिवद्धता गरेका हुन् । भदौं २ गते सिंहदरबारस्थित मन्त्रालयमा मन्त्री र सचिवका साथै सडक विभागका महानिर्देशकसहितका अधिकारीहरुसंग दार्चुलाको डेलिगेशनले छलफल गरेको हो ।
टिंकर सडकका लागि सिंहदरबार छिरेको दार्चुलाको डेलिगेशनसंग बस्नुअघि मन्त्री र मन्त्रालयका अधिकारीहरुले यसबारे आन्तरिक छलफल गरेको स्रोतले बतायो । मन्त्री, सचिव र उच्च अधिकारीहरुका साथै नेपाली सेनाको विकास निर्माण निर्देशनालयका अधिकारीहरुबीच छलफल भई गृहकार्य गरिएको थियो ।
सेनाले निर्माण गरिरहेको दार्चुला–टिंकर सडकमा चालू वर्षमा २० करोड रुपैयाँ बजेट थप्ने मौखिक सहमति र प्रतिवद्धता गरिएको छ । सेनाका अधिकारीहरुसंग आवश्यक पर्ने बजेटको बारेमा जानकारी मागिएको र दार्चुलाको सर्वदलिय प्रतिनिधिमण्डलसंग मन्त्री र सचिवसहितका उच्च अधिकारीहरुले बजेट थप्ने प्रतिवद्धता गरेको एक सहभागीले बताउनुभयो ।
चालु आर्थिक वर्षमा टिंकर सडक खण्डमा ९ करोड रुपैयाँ मात्रै बजेट छुट्याइएको छ । पर्याप्त बजेट विनियोजन र छुट्टै बजेट उपशीर्षक निर्धारणको मागसहित सर्वदलिय डेलिगेशन मन्त्रालयसम्म पुगेको हो । मन्त्री र सचिवसहितका अधिकारीहरुसंगको छलफलपछि थप बजेट मागको निवेदन समेत दिइएको छ । थप बजेटको मागसहित निवेदन मागिएपछि दार्चुलाका जनप्रतिनिधिहरुले संयुक्त निवेदन दिएका छन् ।
पूर्वमन्त्री एवं सांसद दिलेन्द्रप्रसाद बडू, पूर्वमन्त्री गणेश सिंह ठगुन्ना, मार्मा गाउँपालिका अध्यक्ष जमन सिंह धामी, मालिकार्जुन गाउँपालिका पूर्वअध्यक्ष नरेन्द्रसिंह धामी र काग्रेसका जिल्ला सचिव पुलेन्द्रवहादुर कार्कीले मन्त्रालयमा संयुक्त निवेदन दिएका छन् ।
दार्चुलाको सर्वदलिय डेलिगेशनबाट निवेदन मागेको मन्त्रालयले टिप्पणी उठाएर चाँडै बजेट थपगर्ने प्रतिवद्धता जनाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयभित्रैबाट कम प्राथमिकताका योजनाबाट रकमान्तर गरेर टिंकर सडकमा बजेट थपिने गृहकार्य गरिएको स्रोतले बतायो ।
रणनीतिक महत्वको र उच्च प्राथमिकताका प्राप्त सडक भएकोले दार्चुला–टिंकर सडकमा बजेट अभाव हुन नदिने प्रतिवद्धता सरकारी अधिकारीहरुले गरेका छन् । दार्चुलाको प्रतिनिधिमण्डलले प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसंग पनि भेटगरी टिंकर सडकमा पर्याप्त बजेट व्यवस्थापनको माग गरेको छ ।
दार्चुला–टिंकर सडकलाई छुट्टै बजेट उपशीर्षक उपलब्ध गराउनेबारे नयाँ बजेटमा सम्बोधनको प्रयास गरिने प्रतिक्रिया भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको टीमले दिएको छ । ‘छुट्टै योजना र बजेट शीर्षक उपलब्ध हुने सम्भावना न्युन देखियो तर सडक निर्माणमा बजेट अभाव हुन नदिने विषयमा मन्त्री र सरकारी अधिकारीहरुको प्रतिवद्धता आएको छ’ डेलिगेशनमा सहभागी एक नेताले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here