‘टिंकर सडकमा सेनालाई स्रोत सुनिश्चिता दिने कुरा छ’– पूर्वमन्त्री ठगुन्ना

0
266

दार्चुला, असार ६ गते ।
पूर्वमन्त्री एवं नेकपा (एमाले)का पोलिटब्युरो सदस्य गणेश सिंह ठगुन्नाले टिंकर सडकमा न्युन बजेट विनियोजन भए पनि साउनमा थप स्रोत सुनिश्चितता गराउन पहल भइरहेको बताएका छन् । गृहजिल्ला दार्चुलामा विहिवार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले यसबारे आफुले एमाले अध्यक्ष केपी शर्मा ओली, भौतिक पूर्वाधार तथा यातायात मन्त्री र अर्थ मन्त्रालयको ध्यानाकर्षण गराएको बताएका छन् ।
टिंकर सडकमा न्युन बजेट छुट्याइएपछि आफूले यसबारे उच्चतहमा छलफल र ध्यानाकर्षण गराएको उहाँले बताउनुभयो । ‘न्युन बजेट छ, यसमा हामीले संघर्ष गर्नुपर्छ, राज्यसंग लड्नुपर्छ’ पूर्वमन्त्री ठगुन्नाले भन्नुभयो, ‘यसबारे पार्टी अध्यक्षलाई भनेको छुँ, यहाँ (दार्चुला) आउनुभन्दा दुई दिनअघि भौतिक पूर्वाधार मन्त्रीलाई भेटेर भनेको छुँ र अर्थ मन्त्रालयको ध्यानाकर्षण गराएको छुँ ।’
साउन महिनामा सेनालाई थप बजेट सुनिश्चितता दिनेगरी छलफल भइरहेको उहाँको भनाई छ । ‘साउनमा सेनालाई स्रोत सहमति दिने कुरा भएको छ, काठमाण्डौं फर्किएर यसबारे थप पहल गछौं’ पत्रकार सम्मेलनमा नेता ठगुन्नाले भन्नुभएको छ । सेनालाई वार्षिक ३० देखि ४० करोड रुपैयाँ बजेट दिनसकेमा पाँच वर्षभित्र सडक निर्माण पूरा हुने उहाँको भनाई छ ।
जिल्लाको विकास निर्माणका लागि आरोप–प्रत्यारोप गर्नुभन्दा सामूहिक प्रयत्न गर्नुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो । ‘स्रोत सुनिश्चिताका लागि सामूहिक पहलको आवश्यकता छ, निर्वाचित जनप्रतिनिधिले नेतृत्व गर्नुपर्छ, हामी सहयोग गर्न तयार छौं’ उहाँले भन्नुभयो ।
राज्यका निकायहरुसम्म हाम्रो (दार्चुलाको) पहुँच अभाव रहेको पनि एमाले नेता ठगुन्नाले बताएका छन् । ‘दार्चुलाका प्रमुख तीनवटा योजनामा सरकारले बजेट घटाएको छ, यसबारे हामीले राज्यसंग माग गर्नुपर्छ, संघर्ष गर्नुपर्ने अवस्था छ’ उहाँले भन्नुभयो, ‘महाकाली तटबन्ध, गोकुलेश्वर एयरपोर्ट र टिंकर सडकमा बजेट थप्न सामूहिक पहल गर्नुपर्छ ।’
सरकारसंग लडेर पनि बजेट थप्नुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो । गोकुलेश्वर एयरपोर्टमा बजेट नै विनियोजन नभएको र महाकाली नदीको तटबन्ध निर्माणमा २ करोड मात्रै बजेट रहेकोले यसका लागि पनि थप पहल गरिने उहाँले बताउनुभयो ।
नेकपा (एमाले) जिल्ला कमिटीले बुधवार आयोजना गरेको स्थानीय तहका जनप्रतिनिधिहरुको अभिमुखीकरण कार्यक्रममा सहभागी हुन नेता ठगुन्ना गृहजिल्ला पुगेका हुन् । आगामी वर्षको बजेट जनमुखी र पारदर्शी बनाउन जनप्रतिनिधिहरुलाई निर्देशन दिइएको उहाँले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here