टिंकर सडकमा वार्षिक लक्ष्य पूरा हुँदै

0
191

दार्चुला, वैशाख २९ गते ।
नेपाली सेनाले निर्माण गरिरहेको दार्चुला–टिंकर सडक खण्डमा चालू वर्षको वार्षिक लक्ष्य पूरा गर्न युद्धस्तरमा काम भइरहेको छ । तुषारपानीदेखि दुम्लिङ हुँदै तम्बाकुसम्मको १६ किलोमिटर लामो क्षेत्रमा सडक निर्माण कार्य भइरहेको छ ।
गतवर्षसम्म १० दशमलव ४ किलोमिटर सडक निर्माण सम्पन्न गरेको नेपाली सेनाले यो वर्ष ३ किलोमिटर नयाँ सडक निर्माण गर्ने लक्ष्य राखेको छ । सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार चैत्र मसान्तसम्म १ दशमलव ९ किलोमिटर सडक निर्माण सम्पन्न भएको छ ।
नेपाली सेनाका प्रवक्ता एवं सहायकरथी गौरवकुमार केसीले वार्षिक लक्ष्यअनुसारको भौतिक निर्माण सम्पन्न गर्न तिब्रगतिमा काम भइरहेको बताउनुभयो । ‘झण्डै एक दर्जन ठाउँमा एकैसाथ सडक निर्माणको कार्य भइरहेको छ’ उहाँले भन्नुभयो ।
व्यास गाउँपालिकाको वडा नम्बर ३ तुषारपानीदेखि वडा नम्बर २ को फतङगाड, नाकुरीभीर, मालगाउँ, कोठधार, सगनाडी, राङथल, फुलचिमधार लगायतका स्थानमा सडक निर्माण जारी छ । यसैगरी, तल्लो दुम्लिङ, आकतुङति, कल्जु र तम्बाकु क्षेत्रमा पनि सडक निर्माण कार्य भइहेको छ ।
वैशाख चौथो सातासम्म नेपाली सेनाले २३ सय मिटर नयाँ सडक निर्माण गरिसकेको सैनिक स्रोतले बतायो । चालू वर्षको लक्ष्यअनुसार अब करिब ७ सय मिटर सडक निर्माण गर्न बाँकी छ । दुई महिनाको अवधि बाँकी भएकोले असार १५ भन्दाअघि नै वार्षिक लक्ष्य पूरा हुने गरी निर्माण कार्य भइरहेको स्रोतले बतायो ।
चालू वर्षमा २ किलोमिटर सडक स्तरोन्नती गर्ने लक्ष्य राखिएकोमा हालसम्म १८ सय मिटर सडक स्तरोन्नती गरिएको छ । चैत्र मसान्तसम्म १४ सय ४० मिटर सडक स्तरोन्नती गरिएको विवरण सेनाले सार्वजनिक गरेको थियो । वार्षिक लक्ष्यअनुसार २ सय मिटर मात्रै सडक स्तरोन्नती गर्न बाँकी छ ।
४ देखि ६ मिटर फराकिलो सडक निर्माणलाई सेनाले ट्रयाक निर्माण र ८ मिटर फराकिलो सडक बनाउने कार्यलाई स्तरोन्नती भन्दैआएको छ । चालू वर्षको अन्तिमसम्ममा टिंकर सडकअन्तर्गत सेनाले १३ दशमलव ४ किलोमिटर सडकको ट्रयाक निर्माण सम्पन्न गर्नेछ ।
सेनाले सडक निर्माण गरिरहेको निर्माणस्थलमा तीनवटा अस्थायी क्याम्प समेत बनाएको छ । ती स्थानमा निर्माण सामग्री भण्डारण गरिएका छन् । निर्माण कार्यलाई छिटो र दु्रतगतिमा सञ्चालन गर्न सडक निर्माण भइरहेको तुषारपानी, दुम्लिङ र तम्बाकु क्षेत्रमा अस्थायी क्याम्प बनाइएको हो । थिइक्षेत्रमा रहेको क्याम्पबाट सेनाको टोली विस्फोटक पदार्थ र निर्माण सामग्रीसहित अहिले तम्बाकुमा बस्दैआएको छ । श्रमिकहरु र सेनाको टोलीले एउटै स्थानमा अस्थायी क्याम्प राखेका छन् ।
दुम्लिङमा सडक निर्माण भइरहेको क्षेत्रबाट केही माथि सेनाको क्याम्प छ । हाल सडक निर्माण भइरहेको क्षेत्रमै अस्थायी क्याम्प बनाएर सेनाको टोली सामानसहित बस्दैआएको छ । सुन्सेरास्थित सैनिक क्याम्पबाट पनि सुरक्षाकर्मीको एउटा टोली तुषारपानी क्षेत्रको अस्थायी क्याम्पमा बस्दैआएको छ । जिलेटिनसहित निर्माण सामग्री कार्यस्थल नजिक राखेर सडक निर्माणलाई गति दिइएको सैनिक स्रोतले बतायो ।
सडक निर्माणमा दैनिक रुपमा जिलेटिन प्रयोग गर्ने, चट्टान फुटाउने र सफा गर्ने कार्य भइरहेको छ । सडक निर्माण कार्यले गति लिएकोले जेठ तेस्रो हप्ताभित्रै मालगाउँसम्म टेक्टर पुग्ने व्यास गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्ष धिरनसिंह बुढाथोकीले बताउनुभयो ।
‘अहिलेको सडक निर्माणको अवस्था हेर्दा जेठको २०÷२२ गतेसम्म मालगाउँमा गाडी पुग्छ, सडक सञ्चालनमा आएपछि स्थानीयवासीलाई खाद्यान्न ढुवानीलगायतको सुविधा पुग्नेछ’ वडाअध्यक्ष बुढाथोकीले भन्नुभयो ।
सगनाडी, राङथल र फुलचिमधार क्षेत्रमा पनि सडक निर्माण भइरहेकोले युद्धस्तरमा काम हुन सकेमा असारसम्ममा दुम्लिङसम्म गाडी पुग्नसक्ने वडाअध्यक्ष धिरन सिंह बुढाथोकीको आश छ ।
कडा र भिरालो चट्टान रहेको फतङगाड क्षेत्रमा सडक खुलाउने कार्य अन्तिम चरणमा पुगेको सैनिक स्रोतले बतायो । ‘२५÷३० मिटर लामो क्षेत्रमा ग्रेडिङ मिलाउने बित्तिकै मालसम्मको सडक खुल्ने अवस्था छ’ स्रोतले भन्यो । यसक्षेत्रमा मान्छेले हिड्ने र निर्माण सामग्री ढुवानी गर्ने खालको बाटो भने बनिसकेको छ ।
दुम्लिङदेखि आकतुङतिसम्मको सडक निर्माणको ट्रयाक खुल्दैछ । त्यसक्षेत्रमा पैदल हिड्ने बाटो खुलिसकेको र केही दिनमै ट्रयाक निर्माण समेत पूरा हुने वडाअध्यक्ष बुढाथोकीले बताउनुभयो ।
सडक निर्माण कार्यमा जनशक्ति परिचालन र जिलेटिनसहित निर्माण सामग्रीको व्यवस्थापन पर्याप्त भएकोले वार्षिक लक्ष्य पूरा हुन धेरै समय नलाग्ने सैनिक स्रोतले बतायो । सेनाले निर्माण गरिरहेको दार्चुला–टिंकर सडक निर्माणमा गत चैत्र २९ गते नेपाली सेनाका वलाधिकृत रथी अशोकराज सिग्देल र वैशाख १ गते पृतनापति गणेशकुमार श्रेष्ठले निरीक्षण भ्रमण गरेका छन् ।
गत माघ २८ गते उपमहालेखापरीक्षक विन्दु विष्ट नेतृत्वको टोलीले पनि आयोजनाको भौतिक पूर्वाधार, मानवीय स्रोतसाधन र कार्यालयगत व्यवस्थापनको निरीक्षण गरेको छ । महालेखापरीक्षक कार्यालयको अनुगमन टोलीले दार्चुला–टिंकर सडकको निर्माण एवं व्यवस्थापन पाटो उत्कृष्ट रहेको भन्दै प्रशंसा गरेको सैनिक स्रोतले बतायो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here